पुस २६ मा रिलिज हुने फिल्म ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ।
क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।
देशभरका हलले सुखद् सो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकामा २५ सो पाएको छ।
काठमाडौँ बाहिरका स्टेसनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ सो उपलब्ध गराएको छ।
‘कार्साङ’ले पाएको सो राम्रो हो। वर्ड अफ माउथ बलियो बन्दै जाँदा सो थपिँदै जाने हो।
यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ सो दिएको छ।
त्यसैगरी एफ क्युब सिनेमाजले र बीएसआर मुभिजले समान ६/६ सो उपलब्ध गराएका छन्।
बिग मुभिज वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ।
चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन छ।
‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
२ घन्टा ५ मिनेटको 'कार्साङ' ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्।
सहनिर्माता गोविन्द बोहरा हुन् भने आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।
Shares

प्रतिक्रिया