कला


बम बहादुर : भारतमा झुक्न नमानेको गोर्खाली खुकुरीको कथा

बम बहादुर : भारतमा झुक्न नमानेको गोर्खाली खुकुरीको कथा

श्रीजु सरल
पुस ९, २०८१ मंगलबार १८:४६, काठमाडौँ

यतिबेला क्यूएफएक्स लगायत हलहरूमा जोन राई निर्देशित नेपाली सिनेमा 'बम बहादुर' प्रदर्शनरत छ। गत साल डिसेम्बर महिनामै मेघना गुलजार निर्देशित भारतीय सिनेमा 'साम बहादुर'ले नेपालीहरूलाई 'गोर्खा' सम्झाएको थियो भने यस वर्ष 'गोर्खा' सम्झाउन बम बहादुर आइपुगेको छ।

खैर, नेपाली सिनेमाका अब्बल अभिनेता सौगात मल्ललाई लिएर बनेको यस फिल्म चुपचापसँग आयो तर जाँदै गर्दा के स्वर मच्चाएर जानसक्ला त? आखिर, फिल्मको विषय के हो र कस्तो बनेको छ? आउनुस्, लामो भूमिका नबाँधेरै लक्षित विषयमाथि चर्चा गरौँ।

सत्य घटनामा आधारित रही तयार पारिएको भनिएको यस फिल्ममा एउटा पात्र छ। जो मनकारी छ। पारिवारिक मान्छे ऊ बोलीचाली हेर्दा इमानदार देखिन्छ। तर, कम बोल्छ, कम नै हाँस्छ पनि। जसकारण घरी शालीन त घरी रहस्यमयी देखिन्छ। नाम नै बम बहादुर भएको यो मान्छे अचानक नसोचेको अवतारमा प्रस्तुत भइदिन्छ। साथीकी श्रीमती मात्रले बोलाउँदैमा ऊ कुनै माहोलमा पुग्दैन, साथीले नै बोलाए छुट्टै कुरा। तर, यतिसम्म सुधो मान्छेले कुनै मान्छेलाई बन्दी बनाएर किन पो राखेको होला? फिल्मको कथा यही पात्र 'बम बहादुर'को रहस्य खोतल्दै अघि बढ्छ।

ब्याक एन्ड फोर्थ गर्दै फिल्म अब बमको कथा भन्न मानौँ पलेँटी कसेर बस्छ। न सुनाउनेलाई हतार, न त सुन्नेलाई। तर, हतार नहुँदैमा सुनाउनेले आरामले सुनाएको कथा सुन्नेले पनि उस्तै आरामले सुनिरहला त?

बमको कथा पनि दर्शकले सुरुदेखि अन्त्यसम्मै आरामै आरामले पक्कै सुनेनन्। बेलामौकामा झिँजिँदै सुने होलान् तर, सुन्नचाहिँ सुने होलान्। सुने किनभने झण्डै ४ दशकअघिको भए पनि बमको कथा नेपाली सिनेदर्शकको लागि नयाँ नै हो। तर, झिँजिए किनभने, कथा छरपस्टसँग सुनाइयो। घरी बमको सुनाइयो। घरी बमको दाइको। उसो त बमको दाजु 'हरि' कथाको मुख्य पात्र ऊर्फ बम स्वयंसँग जोडिएको पात्र हो। उसको कथा आउनु ठूलो आश्चर्यको कुरो भएन। तर, समस्या कहाँनेर भइदियो भने मुख्य पात्रसँग जोडिएको यस पात्रको कथा कालान्तरमा फिल्मको मुख्य कथासँग भने कसैगरी जोडिन मानेन।

बमले आखिर बदला लिन खोजेको आफ्नो बाबुका हत्यारासँग रहेछ। र यो थाहा लाग्ने बिन्दुसम्म आइपुग्दा दर्शक झिँजिसक्नेछन्। सोच्नेछन्, बम र हरिको कथा जति आयो त्यति कथा त बरु बम र उसको बाबुको आउँथ्यो भने? बमलाई नुहाइदिने हरि नभएर उसको बाबु हुन्थ्यो भने? जे होस्, कुनै पनि तौरले बाबु र छोराबीच एउटा सम्बन्ध स्थापना गर्न सकेको भए बाबुको हत्यारासँग बदला लिन हिँडेको बमको संवेदनासँग दर्शक एकाकार हुनसक्थे। सम्बन्ध जति गहिरो भयो, संवेदना पनि त्यति नै गहिरो हुने त हो।

फिल्मले हरिसँग जस्तै अन्य पात्रसँग पनि बमको सम्बन्ध र भावना देखाउन मिहेनत गरेको देखिन्छ। जस्तो कि जेनिफर दिदी, मिङ्मा... अनि, त्यो 'बचपनको प्यार' जसलाई फिल्मले कालान्तरमा भुलेरै गइदिएको छ। र यी पात्रहरूसँगका दृश्यहरूले भन्ने नै हो भने फिल्मको मुख्य कथासँग उस्तो तादात्म्य राख्दैनन्। टुक्र्याएर हेर्ने हो भने यस्ता कतिपय दृश्यहरू आ-आफ्नो ठाउँमा अवश्य सुन्दर लाग्छन् तर, समग्रमा कथाको साङ्लीमा राखेर हेर्न खोज्दा भने कथाको गोलो घेरोभन्दा यी बाहिरै देखिन्छन्।

खैर, बाबु र छोराको सम्बन्धमा चिप्लिएको कथाले बाबु र छोरीको सम्बन्धलाई भने बलियोसँग स्थापना गर्न सकेको छ। छोरी पात्रको भौतिक उपस्थितिबिना नै बाबु पात्रसँगको उसको सम्बन्ध र संवेदनालाई यति बलियोसँग चित्रण गरिनु फिल्मको केहीमध्येको एउटा सफल पक्ष हो।

फिल्मको अर्को बलियो पक्ष भने 'आमा' पात्रको चरित्र चित्रण पनि हो जसले 'छोरो' ऊर्फ बम बहादुरको चरित्र किन त्यस्तो छ भन्ने प्रश्नको जवाफसमेत दिन्छ। तर, आमासँग बढी नजिक यस पात्रले बाबुको नाममा बदलाको लडाइँमा यसरी होमिइरहँदा आमाको हत्यारालाई भने कसरी सम्झिन सकेन? दर्शकलाई अनौठो लाग्नसक्छ।

पटकथा लेखनको क्रममा मुख्य कथालाई नबिर्सिएरै कुन पात्रलाई कसरी र कति देखाउने भन्नेमा मात्र सतर्क हुन सकिन्थ्यो त 'बम बहादुर'को गरिमा यतिबेला 'सौगात मल्ल'कै जति भइसक्ने थियो कि? मुख्य पात्र भइकन पनि पाउनुपर्ने एक्स्पोजर बम आफैले समेत नपाएको हो कि भन्ने लाग्दै गर्दा कलाकारको क्षमता प्रस्फुटन गर्ने स्पेस पनि त्यसले साँघुर्‍याइँदिएको अनुभूत हुन्छ।

यद्यपि, जति भूमिका पाएका छन् बमको पात्रलाई सौगात मल्लले न्याय गरेका छन्। त्यसो त हरिको भूमिकामा प्रशान्त राई, जेनिफर दिदीको भूमिकामा अनिशा रसाइलीको काम पनि सुन्दर लाग्छ। भास्कर प्रधान, महेन्द्र बागदास, मदन भुजेल, भरत वशिष्ठ, शान्तिला तामाङ लगायत सबै कलाकारहरूले पनि सन्तोषजनक काम गरेका छन्। बाल कलाकारद्वयको काम पनि प्रशंसालायक छ।

साथै, नेपालीभाषीले नेपालीभाषीलाई धोका दिएको त देखाइएको छ। तर, किन धोका दिए? सरकारपक्षले देखाएको प्रलोभनमा परेर हो कि? या फेरि आपसमा मतभाजन पो हुनपुगेर हो? स्पष्ट छैन।

जे होस्, 'गोर्खालीको खुकुरी र स्वाभिमान नेपाली भूमिमा मात्रै होइन भारतीय भूमिमा पनि झुक्दैन है' भन्ने सन्देशलाई भने निकै कलात्मक एवं बिम्बात्मक ढंगले चित्रण गर्दै फिल्म सकिएको छ।

भारतको कालिम्पोङ, दार्जिलिङमा बसोबास गर्दै आएका नेपालीभाषीहरूले आफ्नो बेग्लै राज्य 'गोरखाल्यान्ड'को माग गर्दा भारतीय सरकारका तर्फबाट भोग्नुपरेको उत्पीडनको कथा पात्र 'बम बहादुर'को माध्यमबाट फिल्मले सुनाएको छ। घटना तथा पात्रहरू छरपस्ट हुँदाहुँदै पनि निर्देशक राई आफैले लेखेको यस कथाको नौलोपन नेपाली सिनेदर्शकले खोजिरहेकै खुराक भने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad