बागमती


बागमतीको बजेट : ११ शीर्षकमा शून्य आम्दानी

न आयमा उन्नति न त खर्चमा प्रगति
बागमतीको बजेट : ११ शीर्षकमा शून्य आम्दानी

सुनिता विष्ट
पुस ९, २०८१ मंगलबार १६:५९, हेटौंडा

विभिन्न आयस्रोतको अनुमान गर्दै बागमती प्रदेश सरकारले गत असार १ गते कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्यायो।

घरजग्गा रजिष्ट्रेसन शुल्कदेखि संघीय सरकारबाट प्राप्त अनुदान, बाँडफाँडबाट प्राप्त राजश्व लगायत शीर्षकबाट प्राप्त हुने रकमलाई आम्दानीको स्रोत बनाएर तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेट सदनमा प्रस्तुत गरे। चालु आर्थिक वर्ष २०८१/०८२ मा ६४ अर्ब भन्दाबढी रकम आयको अनुमान गरेर बजेट ल्याएको थियो।

तर सरकारको आम्दनी र खर्चको अवस्था हेर्दा यसले सरकारी लक्ष्य भेट्नेमा आशंका उत्पन्न भएको छ।

चालु आर्थिक वर्षको ५ महिना बित्दा बागमती प्रदेश सरकारले मुस्किलले २३.८१ प्रतिशत अर्थात १५ अर्ब ३६ करोड ८८ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले लिएको लक्ष्य पूरा हुनेगरी यातायात क्षेत्रको राजश्व संकलनमा भने उत्साह देखिएको छ।

चालु आर्थिक वर्षमा कुल २२ अर्ब ५० करोड ८ लाख ९७ हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरिएकोमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय मातहतमा रहेको यातायात कार्यालयबाट चालक अनुमती पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर शीर्षकबाट यस अवधिमा ४२.६८ प्रतिशत अर्थात् ९ अर्ब ६० करोड ६ लाख ९६ हजार रुपैयाँ राजश्व संकलन भएको आर्थिक मामिला मन्त्रालयको तथ्यांक छ।

यस्तै, चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म बाँडफाँडबाट प्राप्त राजश्व २९.२९ प्रतिशत अर्थात् ८ अर्ब ६५ करोड ६६ लाख ४२ हजार रुपैयाँ संकलन भएको बताइएको छ। प्रदेश सरकारले यस आवमा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ संकलनको लक्ष्य लिएको छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान यस आवमा १५ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ अनुमान गरिएकोमा मंसिर मसान्तसम्मको अवधिमा ५ अर्ब १२ करोड ७० लाख ४० हजार ७ सय रुपैयाँ अर्थात् अनुमानित आयको ३२.९२ प्रतिशत संकलन भएको मन्त्रालयले जनाएको छ।

त्यसोत, प्रदेश सरकारले चालु आवको ५ महिनामा आफ्नो स्रोतबाट १ अर्ब ४९ करोड ३७ लाख १२ हजार ३ सय रुपैयाँ राजश्व संकलन गरेको छ। लक्ष्यको ३२.९१ प्रतिशत राजश्व संकलन गरेको प्रदेश सरकारले आफ्नै स्रोतबाट ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ।

बेरुजु तथा गत आर्थिक वर्ष २०८०÷८१ को नगद मौज्दात १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार १८० रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ९ करोड १४ लाख ८१ हजार रुपैयाँ मात्रै अर्थात् ०.६२ प्रतिशत मात्रै संकलन भएको छ।

११ शीर्षकमा आय शून्य
त्यसोत, बागमती प्रदेश सरकारले आयको अनुमान गरेको ११ शीर्षकको आयमा प्रगति शून्य छ। चालु आर्थिक वर्षको ५ महिना बित्दा वन रोयल्टीबाट प्राप्त हुने अनुमानित आय १५ करोड ७५ लाख १३ हजार रुपैयाँमा हालसम्मको अवधिमा राजश्व संकलनमा प्रगति नदेखिएको हो।

यस्तै, बाँडफाँड भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टीबाट आय अनुमान गरिएको ४१ करोड १३ लाख १ हजार रुपैयाँ, बाँडफाँड भई प्राप्त विद्युत् सम्बन्धी रोयल्टीबाट अनुमान गरिएको ३५ करोड ६७ लाख ५३ हजार रुपैयाँ, पर्वतारोहरण वापत्को रोयल्टी १ करोड ८८ लाख १ हजार रुपैयाँ अनुमान गरिएकोमा हालसम्म राजश्व संकलन शून्य छ।

यस्तै, विशेष अनुदान चालुमा २८ करोड ३९ लाख, विशेष अनुदान पुँजीमा ७० करोड ७४ लाख, समपुरक अनुदान पुँजीगतमा ८५ करोड ५० लाख र संघ सरकारकाट प्राप्त हुनसक्ने अनुदानमा १ अर्ब ५० करोड रुपैयाँ आयको अनुमान गरिएकोमा प्रगति शून्य छ।

यता, टेलिभिजन सञ्चालन दस्तुरबाट ७२ लाख रुपैंया राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा त्यसमा पनि हालसम्मको अवधिमा उपलब्धि शून्य देखिन्छ भने धरौटी सदरस्याहाबाट १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा चालु आवको मंसिर मसान्तसम्ममा प्रगति देखिएको छैन।

गत आर्थिक वर्षको नगद मौज्दातबाट १४ अर्ब १३ करोड ३२ लाख ३२ हजार १ सय रुपैयाँ आय अनुमान गरेको प्रदेश सरकारले यस अवधिसम्म यस शीर्षकमा पनि प्रगति शून्य देखिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

खर्चमा छैन प्रगति
त्यसोत, बागमती प्रदेशको खर्च पनि निराशाजनक छ। चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत खर्च ५.३६ प्रतिशत मात्रै भएको तथ्यांक छ। जुन तथ्यांकले बागमतीमा विकासका क्षेत्रमा कुनै प्रगति नभएको समेत पुष्टि गर्छ।

६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएकोमा ५ महिनाको अवधिमा १ अर्ब ९७ करोड ९३ लाख ५६ हजार ६ सय रुपैयाँ मात्रै खर्च भएको प्रदेशको आर्थिक मामिला मन्त्रालयले जनाएको छ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँको बजेट छुट्याएको बागमतीमा मंसिर मसान्तसम्ममा ५ अर्ब ३९ अर्ब २५ लाख ६८ हजार ५ सय अर्थात् २०.६६ प्रतिशत बजेट खर्च भएको छ। यस अवधिसम्म कुल बजेटको ७ अर्ब ३७ करोड १९ लाख २५ हजार २ सय अर्थात् कुल बजेटको ११.४२ प्रतिशत मात्रै बजेट खर्च भएको मन्त्रालयको तथ्यांक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad