आशिष अविरल २५ वर्षदेखि संगीत क्षेत्रमा छन्। उनले कम्पोज र संगीत संयोजन गरेका गीतहरू निकै हिट पनि भए। तर, गीत चले पनि उनी गुमनामजस्तै थिए।
केही महिनायता भने आशिषको चर्चाको ग्राफ ह्वात्तै बढेको छ। उनको परिचय फेरिएको छ। उनलाई गायकको रूपमा चिन्न थालिएको छ। यो सबको कारण हो, अहिलेको लोकप्रिय गीत ‘रैयाँ चादीको’।
हलमा चलिरहेको फिल्म ‘पूर्ण बहादुरको सांरगी’ समावेश यस गीतमा गायनसँगै संगीत पनि आशिषकै छ। नवराज पन्तको शब्दमा आशिषले गन्धर्व शैलीलाई मिसाउँदै मिठास भरेका छन्। मेलिना राईसँगै आशिषको स्वर मिठो सुनिन्छ। त्यसैले त दर्शकहरूबाट यस गीतले उत्कृष्ट प्रतिक्रिया पाएको छ। युट्युबमा गीतले २ करोडभन्दा बढी भ्युज पाइसकेको छ।
‘दर्शकहरूको मायाले तातो महसुस गरिरहेको छु। गीत चर्चित भयो, फिल्म पनि निकै हिट भयो। एकप्रकारको खुसी अवश्य नै हुन्छ। दर्शकहरूको मनसँग हाम्रो कला र सिर्जना कनेक्ट हुँदा सन्तुष्टि हुन्छ,’ उनले भने।
थन्किएको गीतबाट पाएको चर्चा
नवराज पन्तले दुई वर्षअघि नै ‘रैयाँ चादीको’ गीत लेखेका थिए र संगीत गर्न आशिषलाई दिएका थिए। तर, आशिषले भने एक वर्ष यसलाई टारे।
पन्त भने गीत कम्पोज गरिदिन भन्दै लागिरहे। धेरै आग्रह गरेपछि आशिषले गन्धर्व शैलीमा गीत तयार गरे। जुन गीत पन्तलाई पनि एकदमै मन पर्यो। तर, विभिन्न कारणले गीतले पूर्णता पाइरहेको थिएन।
गत दसैँताका ‘पूर्णबहादुरको सांरगी’को लागि एक गीत चाहिएको भन्ने खबर आइपुग्यो। फिल्मका निर्देशक सरोज पौडेलले आशिषलाई गीत तयार पार्न प्रस्ताव गरे। र, गीत विसं २०३०/४० को दशकमा प्रचलित भाका र शैलीको बनाउनुपर्ने उनको आग्रह थियो।
भिडिओ :
दोहोरी शैलीमा गीत तयार पार्नुपर्ने। त्यसमाथि एक साताको समय। जसले आशिषलाई कसरी गीत खोज्ने भन्ने छटपटी भयो।
सोहीबेला उनले आफ्नो थन्किएको पुरानो गीतलाई झल्याँस्स सम्झे। निर्देशक पौडेललाई आफूसँग फिल्मसँग ठ्याक्कै सुहाउने गन्धर्व शैलीको गीत रहेको बताए। र, यो गीतभन्दा अर्को विकल्प नरहेको निष्कर्ष पनि सुनाए।
सुरुमा यस गीत आधुनिक शैलीमा बनाइएको थियो। जसकारण निर्माण टिममै यो गीत फिल्ममा राख्ने/नराख्ने अन्योल थियो। त्यसपछि आशिषले गीतमा शब्द परिमार्जन गरे। बाजाहरूको सम्मिश्रण गरे। अनि सुनाए। त्यसपछि निर्माण टोली विश्वस्त भयो। अनि ‘रैयाँ चादीको’ गीत रेकर्ड गरियो।

अब गीतको भिडिओ छायांकनको पालो थियो। आशिषलाई पनि सुटिङमा बोलाइयो। तर, उनी जान पाएनन्। सुटिङ सेटबाटै मुकुन भुषालले आशिषलाई फोन गरेर भने- गीत एकदमै राम्रो बनेको छ, काले केटाले भन्दा बबाल चल्छ।
फिल्म रिलिजको एक साताअघि ‘रैयाँ चादीको’ गीत युट्युबमा सार्वजनिक गरियो। सुरुमा भ्युज खासै आएन। तर, दोस्रो दिनबाट आशिषलाई साथीहरूले फोन गरेर निकै राम्रो गीत बनेको भन्दै तारिफ गर्न थाले। टिकटक र सामाजिक सञ्जालभरि गीतको चर्चा बढ्दै गयो। र, गीत खोज्दै युट्युबसम्म पुग्ने दर्शकको ग्राफ उकालो लाग्दै गयो। अर्ग्यानिक गीत भन्दै पाएका प्रतिक्रियाले आशिष पनि पुलकित नहुने कुरै भएन।
यतिसम्म सफलता पाउँला भन्ने नसोचेको आशिष बताउँछन्। भन्छन्, ‘अहिलेसम्म धेरै गीतहरू गरे। कहिलेकाहीँ आशा गरिएका गीतहरू चल्दैनन्। कहिलेकाहीँ ठिकै भनेका चलिदिन्छन्। काम गर्दा आनन्द र मजा लिएर काम गर्ने त आफ्नै ठाउँमा छ। तर, यस्तै होला भन्ने मलाई अपेक्षा चाहिँ हुँदैन। खत्रा वा झुर हुन्छ भन्ने हुँदैन। म चाहिँ जस्तो खालको रिजल्ट आउँदा पनि स्वीकार्नुपर्छ भन्ने सोच्छु।’
आशिषलाई गीतको सिर्जना बलियो भएकै कारण चलेको लाग्छ। गन्धर्व र लोकदोहोरी ढाँचामा रहेको गीतमा निकै विविधता छ। जसकारण दर्शकहरूले रुचाएको सुनाउँछन् उनी।
‘यस्तोखाले गीत आएको थिएन। लोकदोहोरीमा आधुनिक गीत आएपनि अर्ग्यानिक आएका थिएनन्। तर, यो गीत लोकदोहोरी ढाँचामा पनि टिपिकल छ। जसकारण दर्शकहरूले मन पराएका हुन्,’ उनी भन्छन्।

‘पूर्ण बहादुरको सांरगी’ ले बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखिसकेको छ। फिल्मको चर्चासँगै गीत चलेको हो कि वा गीतले फिल्म चल्न मद्दत गर्यो त?
जवाफमा उनी भन्छन्, ‘त्यस्तो हुँदैन। एकखाले ढुंगालाई माटोको भर र माटोलाई ढुंगाको भर त हुन्छ नै। गीतले प्रमोसनका लागि दर्शकसम्म पुग्नलाई मद्दत गर्छ नै। तर, फिल्म चल्दैमा खत्रा हिट चाहिँ हुँदैन। गीतको कारण भए पनि फिल्मले रेकर्ड नै तोड्ने गरेर हिट हुँदैन। फिल्मको कारण यसरी दिनमै लाखौँ भ्युज जानेगरी हिट हुँदैन। गीत चल्नलाई सिर्जना नै बलियो हुनुपर्छ।’
चर्चासँगै गीतमाथि चोरीको आरोप
‘रैयाँ चादीको’ गीतले चर्चासँगै आलोचना खेप्नुपर्यो। चार दशकअघिको हिट गीत ‘रेलै घुमेर’ सँग लय मिलेको भन्दै कतिपयले आरोप लगाए। तर, आशिष अविरल भने आफूले चोरी नगरेको दाबी गर्छन्।
लोकगीतमा केही गन्ध मिल्नु स्वाभाविक भएको उनको भनाइ छ।
‘पहिलो कुरा लोकगीत भनेको लोकगीतजस्तै हुनुपर्छ। जसरी बाबुसँग छोराको अनुहार मिल्छ, त्यसरी लोकगीतको अनुहार पनि मिल्दोजुल्दो हुन्छ। लोकगीत भनेको पहिल्यैदेखि चलिआएको भन्ने हो। लोक गीत अर्थात जनताको गीत,’ आशिषले भने, ‘अब लोकगीत बनाउने भनेपछि अर्कै त बनाउनै मिल्दैन नि! अर्कै बनाएर लोक गीत भन्ने छुट छैन। त्यही परिवेशमा बनाउँदा गन्ध वा सुगन्ध मिल्नु स्वाभाविकै हो।’
केहीले चोरीको लान्छना लगाएर मानमर्दन गरेको उनले बताए। संगीत नबुझेका व्यक्तिहरूबाट प्रहार भएको उनको भनाइ छ।
‘विगत २५ वर्षदेखि यो फिल्डमा छु। ब्याकग्राउन्ड संगीतदेखि हरेकको अध्ययन गरेको छु। मलाई कुनै संगीतकारले मिलेको रहेछ भनेर भन्दा ठिक हो। तर, एउटा नजान्नेले आरोप लगाउँछ भन्ने कति मान्य हुन्छ? मैले त नोटेसन लेखेर ट्याली गरेर हेरौँ भनेको छु। केही कुपात्रले गर्दा मानमर्दन भएको छ, यसमा खेद प्रकट गर्दछु। हरेक चलेको गीतलाई लाल्छाना लगाउनु राम्रो होइन,’ उनी भन्छन्।

असफलतादेखि सफलताको स्वादसम्म
बाग्लुङमा जन्मेका आशिष सानैदेखि गीतसंगीतसँग लगाव राख्थे। घाउँघरमा आमाबुवा र दाइ गीत गाउँथे। त्यो देखेर हुर्किएका उनी एसएलसी पास गरेपछि रक्तिम गाउँ समाजमा आबद्ध भए। जुन समूह गाउँमा हुने सांस्कृतिक कार्यक्रममा सहभागीत हुन्थ्यो। बाजा बजाउनेदेखि गीत गाउनेसम्म गर्थे आशिष। त्यसताका नारायण गोपालदेखि भक्तराज आचार्य र जीवन शर्माका गीतहरू गाउने गरेको सम्झन्छन् उनी।
वि.सं २०५७ सालतिर आशिष गायक बन्छु भन्ने सपना बोकेर काठमाडौँ पसे। जहाँ लोकदोहोरीका व्यक्तिहरूसँग उनको बढी संगत भयो। र, उनी पनि लोकदोहोरीतिरै ढल्किएर पहिलो गीत निकाले। जुन खासै चलेन। त्यसपछि उनी हरेस मानेर घर फर्किए। एकवर्ष जति गाउँकै स्कुलमा पढाए।
गीतसंगीतप्रतिको हुटहुटीले उनलाई फेरि काठमाडौँ तान्यो। यहाँ आएपछि गुरुदेव कामतसँग संगीत सिके अनि ललितकला क्याम्पसबाट संगीतमा स्नातक गरे। किबोर्ड बजाउनदेखि संगीत भर्ने र एरेन्जरको काम समेत गर्न थाले।
‘म काठमाडौँबाट पटकपटक गाउँ फर्किएको पनि छु। एकवर्ष टिचिङ पनि गरे। त्यसपछि फेरि काठमाडौं आएँ। एकदुई वर्ष संघर्ष गरेपछि केही होलाजस्तो लागेन। तेस्रो/चौथौ कोसिसमा बल्ल म स्थापित भएँ,’ उनले सुनाए।
सुरुवामा आफूलाई साथ दिने मानिसहरू नभेट्दा हार मान्नुपरेको उनले सुनाए।
‘नेपालमा साथ दिने मान्छे हुँदैनन्। कुनैमा बढी सम्भावना देख्यो भने थ्रेट महसुस गर्छन्। न्यु कर्मसलाई सहयोगभन्दा अवरोध गर्छन्। यहाँ सीमित बजार छ, यसले भाग खोस्छ भन्ने हुन्छ। एकखालको कुर्सीखेलजस्तो छ। अलिकता सहयोगी हातहरू कम थिए। जसकारण केही वर्ष असफल पनि भएँ,’ उनी भन्छन।
०६५ सालमा आएको आधुनिक गीत एल्बम ‘बास्ना’ आशिषका लागि टर्निङ प्वइन्ट साबित भयो। नरेन्द्र प्यासीको स्वरमा ‘बास्ना’ मा समावेश गीतहरू तिमीले दिने माया, तिमीबिनाको जीवन निकै चर्चित बने। सर्वाधिक क्यासेट बिक्रीदेखि सीआरबीटीमा अत्याधिक गुञ्जिने गीत बने। उनी चर्चित संगीतकार र एरेन्जरको रुपमा स्थापित भए।
त्यसपछि उनले कहिल्यै फर्किएर हेर्न परेन। आधुनिक, लोक गीतमा खोजिने संगीतकर्मी बने। हुन पनि उनले संगीत र संगीत संयोजन गरेका प्राय गीतहरू हिट छन्। लोकदोहोरीमा सालको पात टपरीदेखि लालुमै सम्म चर्चित गीत हुन्। त्यस्तै, आधुनिकतर्फ पनि उनले संगीत र संयोजन गरेका नाइँ मलाई थाछैन, मिठो सारै मिठो, माया लुकीलुकी, यो कुरा गोप्य, म बाँचेको लगायतका गीतहरू निकै चलेका हुन्।
‘प्लेब्याक सिंगर बन्ने सपना पूरा भएको छ’
आशिषमा सुरूदेखि नै गायक बन्ने चाह थियो। उनी उदितनारायणजस्तै प्लेब्याक सिंगर बन्छु भनेर कल्पिन्थे। तर, काठमाडौं पसेपछि उनी परिस्थितिले गायनभन्दा संगीत र संगीत संयोजनतर्फ ढल्किए। तर, भित्रभित्रै उनीप्रति गायनप्रतिको हुटहुटी बाँकी थियो।
६ वर्षअघि निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा फिल्म ‘ए मेरो हजुर ३’ बनाउँदै थिए। जसको लागि आशिषलाई एक गीत बनाउन भने। स्वर पनि आशिषकै चाहिने भन्दै जिद्दी गरे। त्यसपछि बाध्य भएर चलचित्रको पार्श्व गायनमा डेब्यु गरेको सुनाउँछन् उनी।

‘ए मेरो हजुर ३’ मा समावेश डेब्यु गीत ‘परान परान’ निकै चल्यो। उनले भने, ‘गीत पनि चल्यो। धेरैले तैँले गायकको स्वर हटाएर गाइस् भनेर आरोप पनि लगाउनुहुन्छ। तर, त्यो सत्य होइन। उहाँहरूले तपाईंकै आवाज भनेपछि बाध्य भएकी हुँ। अहिले पनि तपाईंकै आवाज राखौँ भनेपछि गाएको हुँ। लोभले चाँहि होइन।’
‘परान परान’ पछि चलचित्रका गीतमा आशिषको माग बढ्दो छ। उनले ‘ऐँचो पैँचो’ को काले केटाले, ‘महाजात्रा’ को हाम्रो जोडी, ‘तेल भिसा’ को कति रमाइलो लगायतका गीतमा स्वर दिइसकेका छन्। तर, ‘रैयाँ चादीको’ गीतको सफलतासँगै आफ्नो प्लेब्याक सिंगर बन्ने सपना पूरा भएको सुनाउँछन् उनी।
‘म उदितनारायणजस्तो प्लेब्याक सिंगर बन्छु भन्ने सपना बोकेर सहर आएको थिएँ। त्यो हुटहुटी अर्धचेतन दिमागको कुन्तुरोमा थियो। रैयाँ चादीको गीतको सफलताले त्यो सपना यथार्थमा परिणत भएको छ। मलाई फेरि गाएर खा भने जस्तो लाग्छ। जसमा फिल्म निर्मातादेखि निर्देशकहरूको हात छ, उहाँहरूप्रति कृतज्ञ छु,’ उनले खुसी हुँदै भने।
आशिषको आवाज पृथक छ। फर्किएर हेर्दा आशिषलाई गायनमा ढिलो आएको महसुस हुन्छ। सुरुवातमा हतोत्साहित हुँदा आफू गायक बन्न नसकेको उनको दाबी छ।
‘सुरुमा म गीत गाउँछु भनेर काठमाडौँ आएको थिएँ। मेरो आवाज युनिक छ भन्नुहुन्थ्यो। तर, त्यो युनिक आवाज म्युजिक प्रोड्युसरलाई पचाउन गाह्रो भयो। अनि मैले बनाएका गीतमा राजु परियार र खड्क गरबुजा दाइहरूको भोकल राखिदिने। त्यो कुराले यति हतोत्साहित गर्यो कि मलाई गाउने हिम्मत नै भएन। गायन मेरो लागि होइन भन्ने भयो र गायनबाट टाढा भएँ,’ उनले भने।
संगीतक्षेत्रको लागि सुखद समय
आशिषका अनुसार पछिल्लो समय दर्शकहरूले राम्रा गीतहरूलाई मन पराउने थालेका छन्। जुन संगीत क्षेत्रका लागि सुखद पक्ष रहेको उनको भनाइ छ।
‘पछिल्लो समय जे जसको गीत चलेको छ, राम्रो चलेको छ। जुन सुखद पक्ष हो। एकाताका रेडियो र टेलिभिजनका पहुँच हुनेका गीत चल्थे। अहिले सबैलाई थाहा छ। अब धुर्तहरूको धुर्त्याइँ सकियो। अब आर्टबाहेक केही बिक्नेबाला छैन। रुकुम मैकोटदेखि कास्मिरे पछ्यौरी र बार्दलीमा केही खोट छैन। अहिलेको प्रविधिले राम्रो फिल्टर गरेको छ। सुजन चापागाईं जस्ता कलाकार पनि छन्,’ उनी भन्छन्।
चलचित्रका गीत चलेसँगै आशिषलाई स्टेज कार्यक्रमको अफर पनि आउन थालेको छ। ‘काले केटो’ चलेपछि तीनचार स्टेज कार्यक्रम गरेको बताउँदै यसपटक पनि थुप्रै स्टेज प्रोगामबाट अफर आएको उनले सुनाए।

प्रतिक्रिया