कला


पतनको बाटोमा ‘पुष्पा’

पतनको बाटोमा ‘पुष्पा’

श्रीजु सरल
मंसिर २७, २०८१ बिहिबार १९:२, काठमाडौँ

सन् २०२१ मा सुकुमार लिखित एवं निर्देशित दक्षिण भारतीय सिनेमा 'पुष्पा: द राइज'ले भारतीय सँगसँगै नेपाली दर्शकको समेत मन जितेको थियो। भुइँमान्छेको कथा भनेको यस फिल्मको मुख्य पात्र 'पुष्पा'ले त्यति नै प्रशंसक कमायो, जति प्रशंसक कलाकार अल्लु अर्जुनका थिए। उनै अल्लु अर्जुनलाई नै मुख्य भूमिकामा लिएर निर्देशक सुकुमारले यतिबेला फिल्मको दोस्रो भाग ल्याएका छन्- पुष्पा: द रुल।

तर, फिल्मको दोस्रो भागलाई दर्शकले फिल्मको पहिलो भागलाई जसरी रुचाइरहेका छैनन्। किनभने, पुष्पाको कथा अब भुइँमान्छेको कथा होइन बरु एउटा पुँजीवादीको कथा बनेको छ। त्यहीमाथि पनि यस्तो पुँजीवादी जो दुईनम्बरी धन्दामा संलग्न छ। त्यसो त, दुईनम्बरी धन्दामा ऊ आज मात्रै लागेको होइन। हिजो त्यही दुईनम्बरी धन्दामा लागेको पुष्पाका प्रशंसक आज त्यही धन्दालाई निरन्तरता दिइरहेको पुष्पाको प्रशंसा गर्न सक्दैनन्। किन? किनभने, हिजो ऊ भुइँमा थियो, बाध्य थियो। तर, आज त्यही धन्दा उसको बाध्यता नभएर रोजाइ हो।

खैर, कुन धन्दा रोज्ने निर्णय पुष्पालाई नै छोडिदिएर हामी आफ्नै धन्दातिर लागौँ। एकैछिन सुकुमार लिखित पुष्पाको कथाको संसार नियालौँ।

कथा
पुष्पाले एउटा फोटो मुख्यमन्त्रीसँग खिचाओस् भन्ने श्रीवल्लीको चाहना हुन्छ। आफ्नी श्रीमतीको चाह पूरा गर्न पुष्पाले सक्दैन। त्यसपछि एउटा फोटोका लागि उसले आफ्नो शक्तिको दुरुपयोग गर्छ। उसको शक्तिले सिङ्गो राज्यको सत्ता हेरफेर हुन्छ। र अब सरकार मानौँ उसको निजी हेलिप्याड हो। फोटो खिचाउन अब उसले कतै धाइरहनु पर्दैन, मुख्यमन्त्री स्वयं उसकहाँ आइपुग्छन्।

पटकथा

फोटो खिचाउने बहानामा सत्तासम्म हेरफेर गराउन सक्ने आफ्नो शक्तिको प्रदर्शन पुष्पाले गरिसक्दा 'पुष्पा: द रुल'को कथा सकिनुपर्ने हो। तर, कथा सकिइसक्दा पनि (पात्र) पुष्पाको रामकहानी सकिँदैन। बरु बल्ल पो सुरु हुन्छ।

सायद, सुकुमारलाई लाग्छ- दोस्रो भागको नाम 'द रुल' हो नि! रुल गरेको त देखाउनै बाँकी छ!

तब सुकुमारलाई पुष्पाकी भतिजीको याद आउँछ जो 'काका, काका' भन्दै पुष्पाको पछि दगुर्दै हुन्छे। भतिजी अपहरणमा पर्छे। किन? किनभने, सुकुमारलाई देखाउनु छ- 'चित्तोरमा सरकारको रुल चल्दैन, पुष्पाको रुल चल्छ!'

द्वन्द्व
काली अवतारमा काकाको एक्सन दृश्य नराख्नु राखिसक्दा कमसेकम कथा नसकिँदै राखिएको हुन्थ्यो भने? रक्तचन्दनको ओसारपसार नसकिँदै पुष्पालाई भतिजी बचाउनपर्ने चुनौती पनि आइपर्थ्यो त कमसेकम सत्तामा आउन उसले संघर्ष गरेको त देखिन्थ्यो। फाइट मात्र नभएर कथाभित्र द्वन्द्वको मात्रा पनि देखिन्थ्यो कि?

तर, कथा सकिइसकेपछि कोरा कहानी बनेर काली अवतारमा पुष्पाका लगालग दुईवटा एक्सनका दृश्य देखाइन्छन्। रश्मिका मन्दानाको पात्र श्रीवल्लीको डायलग त एउटा राख्नै पर्‍यो! त्यसकै लागि पनि एक्सनका यी दुई दृश्य सुकुमारले गाभ्न नसकेको बुझिन्छ।

यी दुई एक्सनलाई एउटैमा गाभेर मूल कथाको द्वन्द्वको रूपमा देखाउन सकेको भए सुकुमारको पटकथाले दर्शकलाई पक्कै बिझाउने थिएन।

वास्तवमा एक्सनका दृश्य पर्याप्त हुँदाहुँदै पनि कथामा द्वन्द्व नभेटिँदा पुष्पा (पात्र)को चरित्र जति बलियो छ पुष्पा (फिल्म)को दोस्रो भाग उति नै बलियो बन्न सकेको छैन। र कथामा द्वन्द्व नभेटिनुको कारण- मुख्य पात्रलाई टक्कर दिने हाराहारीको विपक्षी पात्र वा स्थितिको अभाव हुनु। अथवा भनूँ 'अधिक हिरोइजम'!

शैली
अन्तर्राष्ट्रिय फाइटबाट सुरु भएको 'पुष्पा: द रुल' ले फिल्मको पहिलो हाफमा एउटा 'स्मार्ट बिजनेसम्यान'को कथा सुनाउन खोजिरहेको हुन्छ। एउटा स्तरमा पुगिसकेपछि 'अहं'लाई काबुमा राख्न किन आवश्यक छ जस्ता कुराहरू मुख्य पात्रले गर्छ। आफ्नो बेइज्जती गर्नेसँग बल-पाखुराले नभिडेर कसरी दिमाग लगाएर भिड्ने जस्ता कुराको उदाहरण पनि उसले दिन्छ।

फिल्मले एउटा नयाँ र आधुनिक कथा भन्न खोजिरहेको महसुस हुँदै गर्दा अचानक कथा पुरानै बाटोतिर डोहोरिन थाल्छ। र कथाको अन्त्यसम्म त कथा पूर्णतया पुरानै शैलीमा प्रस्तुत हुन्छ। दाजुकी छोरी, दिदी वा बहिनीको अपहरण हुनु र उसलाई बचाउन कथाको हिरो जानु! पुष्पा २ ले नयाँ कुरा दिन खोजेझैँ गरेर फेरि पनि बासी कथा नै दिएको छ दर्शकलाई।

अभिनय
फेरि पनि अभिनयको हकमा सुकुमारलाई अल्लु अर्जुन, रश्मिका मन्दाना, फहाद फाजिल, जगपति बाबु, राव रमेश लगायत सम्पूर्ण कुशल कलाकारहरूको साथ मिलेको हो। सबै कलाकारले आ-आफ्नो कामलाई न्याय नै गरेका छन्।

जाँदाजाँदै, 'पुष्पा ३' हेर्ने दर्शकको सङ्ख्या आगामी दिनमा कति होला भन्न त सकिँदैन। यद्यपि, जति पनि दर्शक पुष्पाको तेस्रो भाग हेर्न जानेछन् ती सुकुमारको कथाका लागि भने पक्कै जाने छैनन्। अल्लु अर्जुन वा अन्य कुनै पनि कलाकारले भने केही प्रतिशत पुराना दर्शकलाई हलसम्म डोहोर्‍याउनसक्ने पूर्वानुमान गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad