कला


फिल्ममार्फत् युरोपले देखेको नेपाल

फिल्ममार्फत् युरोपले देखेको नेपाल

श्रीजु सरल
मंसिर २४, २०८१ सोमबार १०:३०, काठमाडौँ

हामी फिल्म हेर्दा फिल्ममा के हेर्छौँ? ठ्याक्कै चासोको विषय त अझ के हो भने हामी विदेशी फिल्म हेर्दा तिनमा के हेर्छौँ? हाम्रो जवाफ हामी आफैँसँग छ। साँच्चै, एउटा कुरा सुटुक्क भनूँ? डिसेम्बरको पहिलो साता बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेपाली चलचित्र महोत्सवमा नेपालीहरूको उपस्थिति अपेक्षाअनुसार देखिएन। देखिन्थ्यो त कुराकानीको विषय फरक हुन्थ्यो होला। खैर, युरोपियन युनियनले युरोपेली राष्ट्रमा आयोजना गरेको नेपाली फिल्महरूको महोत्सव आखिर युरोपेलीहरूकै लागि विशेष रहेको देखियो।

त्यसो त नेपालीहरू नआएका होइनन्। नेदरल्यान्ड्स, क्रोएसिया, फ्रान्सदेखि पनि अफिसमा बिदा मागीकन केही नेपाली आफ्ना स्वदेशी फिल्म हेर्न आएकै हुन्। यद्यपि, सङ्ख्यात्मक हिसाबमा यो भन्नैपर्छ कि, महोत्सवले युरोपेलीहरूकै साथ राम्रो पाएको हो।

त्यसैले आउनुस्, बेल्जियममा हाम्रा फिल्म हेर्दा युरोपेलीहरूले के कस्ता कुराहरू हेरे, त्यसबारे कुरा गरौँ। र, यो कुरा सिनेमा हेरिसकेपश्चात त्यहाँ भएका कुराकानीका आधारमा गरौँ।

मुस्ताङ र बाग्लुङको चिसोले कठ्याङ्ग्रिएको ब्रसेल्स
त्यसो त हिउँदमा माथिल्लो मुस्ताङमा दिउँसोकै सामान्य तापक्रम माइनसमा ओर्लिएको हुन्छ। ब्रसेल्सको तापक्रम रातिमा पनि उति सजिलै माइनसमा ओर्लिन मानिहाल्दैन। यद्यपि, निर्देशक शान्ता नेपालीको 'ध्ये ड्रिम्स'मा माथिल्लो मुस्ताङको भौगोलिक चिसो मात्र छैन। यसमा हिमाली महिलाले हृदयभित्र बरफ जमाएर राखेको, सम्भवत: कहिल्यै साकार नहुने आशाको चिसो पनि छ। राजनीतिक आश्वासन र यथार्थबीचको खाडलमा उम्रिएको ढुसीको चिसो पनि छ। अनि, पुँजीवादको स्याँठले हान्दा पर्यावरणको छातीभित्र पसेको दमको एउटा नमुना पनि यहीँभित्र छ।

उसो त यी सबै तौरका चिसोका बाक्लो हुस्सुलाई चिर्दै स्वाबलम्बी र खुसी हुने साहसको तातो श्वास पनि यसभित्र बहेकै छ।

स्वास्थ्य र शिक्षामा सरकारको पर्याप्त निगाह पाएका युरोपेली दर्शकहरू 'ध्ये गाउँ'का पात्रहरूले बाँच्न र पढ्नकै लागि गर्नुपरेको संघर्ष देखेर भावुक हुन्छन्। तर, सँगसँगै यी यथार्थका पात्रहरू देखेर तिनको छाती गर्वले फुल्छ। नेपाली/हिमाली महिलाको साहस देखेर ती छक्क पर्छन्।

उता बागलुङको ढोरपाटनले पनि युरोपेलीहरूलाई उस्तै भावुक बनायो। ढोरपाटनमा हिउँ पर्दा काठमाडौँलाई खुसी मनाउन जाडो बिदा चाहिन्छ। तर, कपाल हिउँजस्तै फुलाइसक्दा पनि ढोरपाटनकै रातिमा र कालिमाले भने जीवनमा कहिल्यै छुट्टी पाउँदैनन्। राजन कठेतको 'नो विन्टर होलिडेज'ले 'जाडो बिदा'मा हिउँ खेल्न नेपाल जाने युरोपेली र स्विजरल्यान्ड, क्यानडा जाने नेपालीलाई एकसाथ व्यङ्ग्य र विडम्बनाको हिउँमा राम्रैसँग सेकायो।

हिमालकै कारण सौन्दर्य र आकर्षणको केन्द्र मानिने नेपाललाई अर्को कोणबाट पनि हेर्न युरोपेली दर्शक प्रेरित भए। जे होस्, निर्देशक नेपाली र कठेत दुवैको कामले ब्रसेल्स 'नेपाली हिउँ'जस्तै कठ्याङ्ग्रियो- छातीमा चिसो जमाउँदै र ओठमा न्यानो लिप्दै। अनि, त्योभन्दा थोरै माथि गर्वले नाक फुलाउँदै। आखिर, जस्तै पीडालाई पनि साहसले जित्दोरहेछ है?

मानसिकता, मनोविज्ञान र मनस्थिति
मोहन राई निर्देशित सिनेमा 'महानगर' नेपालीहरूका लागि 'आउटसाइडर'को संघर्षको कथा हो। या फेरि दर्शन र जीवनको अन्तर्द्वन्द्वको कथा हो। कतिपयलाई त यो संयोग र एउटा निश्चित क्षणको कथा हो। तर, युरोपेलीका लागि यो एउटा मानसिक रूपान्तरणको कथा हो। युरोपेलीलाई नेपालीहरू मानसिकताको रूपान्तरण र त्यसको प्रभावबारे सचेत छन् है भनेर बुझाउने कथा हो 'महानगर'।

'कुनैपनि कुरालाई हेर्ने दृष्टिकोणमा आउने परिवर्तनले दृश्यमा पनि परिवर्तन ल्याउनसक्छ है' भन्नेबारे नेपाली युवाहरू सचेत छन्। युरोपेलीले यस फिल्ममा हेरेको वा देखेको विशेष कुरा यही नै हो।

युवा निर्देशक स्वयं मास्के मानन्धरको 'द बुल, द काउ एन्ड द काफ' मा नेपालीले देख्ने कथा भनेको 'गोरुको जुधाइमा बाछाको मिचाइ' हो। अथवा अझै गहिरिएर हेर्दा वर्ग सम्पन्नता र बालमैत्री वातावरण समानान्तर नहुनसक्दोरहेछ भन्ने ज्ञान एउटा नेपालीले यो फिल्म हेरेर बुझ्दो हो। तर, एउटा युरोपेलीले यो फिल्म हेरेर बुझेको विशेष कुरा यही के होला? नेपाली युवाहरू बाल मनोविज्ञानबारे सचेत रहेछन्। नेपालमा बालमैत्री वातावरणको वकालत पारिवारिक तहमा पनि सुरु भएछ।

पहिलो दिनको अन्तिम फिल्म एवं महोत्सवको ओपनिङ फिल्म, नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'मा भने नेपाली र विदेशीको सङ्ख्या करिबकरिब उत्तिकै देखियो। दुवैतर्फका दर्शकहरूको टिप्पणी दुई किसिमका भेटिए।

नेपाली दर्शकहरू फिल्मको बौद्धिकतामा बढी केन्द्रित देखिए भने युरोपेली दर्शकहरू फिल्मको भावनात्मक तत्वहरूले बढी छोइएका पाइए। नेपाली दर्शकले विकासले ल्याएको अर्थसामाजिक (राम्रा, नराम्रा दुवैथरी) परिवर्तनबारे बढी चासो र टिप्पणी गरिरहँदा विदेशी दर्शकले भने बाबुछोराको सम्बन्ध, बिन्द्रेको मनोदशामा क्रमैसँग देखिएको परिवर्तन र बाबु पात्रको मनस्थितिमा देखिएको शृङ्खलाबद्ध उतारचढावप्रति कुरा गर्न ज्यादा रुचाए।

सायद, आफ्नो फिल्ममा हेरिने र विदेशी फिल्ममा हेरिने कुरा पृथक हुनेरहेछ कि?

राधादेखि अजिमासम्म
अघिल्लो दिनसम्म पात्रको मनोदशा र नेपालीहरूको जीवनशैली, दृष्टिकोण, आदि हेरिरहेका युरोपेलीहरूले भोलिपल्ट भने अझै विस्तृत कुराहरू हेरे। सुवर्ण थापाको 'राधा'मार्फत् निर्देशकको कथावाचन शैलीमा बढी केन्द्रित हुँदै अघि बढेका युरोपेली दर्शकहरूले, मानवशास्त्री डोरबहादुर विष्टमाथिको डा. सचिन घिमिरेको वृत्तचित्र 'इन्टु द मिस्ट'मा मानव सभ्यतामाथिको नेपाली बौद्धिक वर्गको धारणा, चेत वा योगदानबारे समेत थाहा पाए।

नेपालको भूगोल, संस्कृति र यथार्थ संघर्ष त अघिल्लो दिनका हिमाली वृत्तचित्रले पनि देखाएकै हुन्। तर, नेपालको भूगोल र संस्कृति आख्यान वा कलासँग मिसिएर आएको युरोपेली दर्शकहरूले लक्ष्मण सुनार निर्देशित 'बुलाकी' मार्फत् देखे। आख्यानलाई पछ्याउँदै या फेरि पन्छाउँदै युरोपेली दर्शकलाई अनुसन्धानको खुराक पस्किने काम सुनिलबाबु पन्तको 'अजिमा एन्ड सिक्स जेन्डर्स'ले गर्‍यो। यौनिकताविशेष नेपालको प्राचीन इतिहासदेखि यौनिकताबारेकै आजको नेपाली समाजको आधुनिक मूल्य-मान्यतासम्मको एउटा विस्तृत रूपरेखा पन्तको जानकारीमुखी खोजमूलक वृत्तचित्रले गर्‍यो।

खैर, यो एउटा यस्तो चलचित्र थियो जसलाई हेरिसक्दा नेपाली र युरोपेलीहरूको चासोका विषय आपसमा ठोक्किरहेका थिए। किनभने यसभित्रका कतिपय जानकारी नेपाली दर्शकहरूकै लागि समेत त्यति नै नयाँ थिए जति युरोपेली दर्शकका लागि थिए।

आफ्नै देशको कतिपय इतिहास थाहा पाउन विदेश पुग्नुपर्ने पनि हुँदोरहेछ है?

बच्चाहरूको आँखाबाट
जीवनलाई, या फेरि जीवनमा घट्ने सानाठूला कुनै पनि घटनाहरूलाई बच्चाको आँखाबाट हेर्ने परम्परा नेपालमा सुरु हुन मात्र खोज्दैछ। त्यसैले, बच्चाका आँखाबाट नियालिएको संसार, भनिएको कथामाथि आक्कलझुक्कल मात्र सिनेमा बनेका छन्।

सन् २०१५ को कालोपोथी त्यस्तै एउटा चलचित्र हो। निर्देशक मीनबहादुर भामले द्वन्द्वकालीन समयलाई बच्चाहरूको नजरबाट देखाउने प्रयास गरेका छन्। दोस्ती, जातीय संघर्ष, मानवता र द्वन्द्व- यस फिल्मले युरोपका दर्शकहरूलाई तत्कालीन नेपाली समाजको लेयर्ड चित्र देखायो।

सन् २०२० को सुजित बिडारी निर्देशित 'ऐना झ्यालको पुतली'ले पनि बच्चाकै आँखाबाट एउटा पारिवारिक अर्थ-राजनीतिलाई केलाउने कोसिस गरेको छ। त्यो सँगै ५० को दशकको नेपाली समाज र त्यस समाजमा शिक्षाको अवस्था र लैङ्गिक संघर्षको स्थितिलाई पनि बच्चाहरूकै कथाको माध्यमबाट भन्ने प्रयास फिल्मले गरेको छ।

अर्को फिल्म, विनोद पौडेलको 'बुलबुल'ले पनि बच्चाको नजरबाट आमाको विवाहइतर सम्बन्धलाई बुझ्न खोजिरहेको पाइन्छ। तर, अघिल्ला दुई फिल्ममा जसरी यसमा बाल दृष्टिकोण प्रत्यक्ष नभएर परोक्ष आएको छ।

बिडारी र पौडेलका महिलाकेन्द्रित यी दुई फिल्मले युरोपका दर्शकलाई ३ दशकको अवधिमा नेपाली समाजले मारेको फड्कोको कथा सुनाउँछन्। बिडारीको 'ऐना झ्यालको पुतली'ले ५० को दशकमा नेपाली समाजमा महिलाको आर्थिक-सामाजिक परनिर्भरताको चित्रण गरेको छ भने पौडेलको 'बुलबुल'ले वर्तमान नेपाली समाजमा महिलाको आर्थिक-सामाजिक आत्मनिर्भरताको अवस्था देखाएको छ। सँगसँगै, दुई फिल्मका दुई महिला पात्रहरूमा स्वनिर्णायकत्वको उपस्थिति र अनुपस्थितिको चित्रणले दुई कालखण्डको बीचमा समाजको चेतनाको स्तर क्रमैसँग उकालो लागेको पनि बुझिन्छ।

जे होस्, युरोपले तेस्रो दिनका यी तीन फिल्मको माध्यमबाट नेपाली समाजलाई बच्चाको नजरबाट हेर्‍यो। तीनैवटा बहुपत्रीय चलचित्र हेर्दा द्वन्द्व, विद्रोह, संघर्ष गर्दै नेपाली समाज शैक्षिक, लैङ्गिक र यौनिक संघर्षका क्षेत्रमा क्रमिक रूपमा अग्रगमनतर्फ यात्रा गर्दै गरेको युरोपले देख्यो।

अपेक्षा गरौँ, आगामी वर्षहरूमा धेरैभन्दा धेरै युरोपेली दर्शकलाई नेपाली सिनेमा उद्योगले अझै उदार र अग्रगामी समाज देखाउन सकोस्। र त्यसको साक्षीका रूपमा नेपाली दर्शकहरूको सङ्ख्या पनि उत्तिकै बढेर जाओस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad