कला


ग्लाडिएटर २: के लुसियस म्याक्सिमसकै छोरो हो त?

ग्लाडिएटर २: के लुसियस म्याक्सिमसकै छोरो हो त?

श्रीजु सरल
मंसिर ९, २०८१ आइतबार १८:६, काठमाडौँ

ग्लाडिएटर! अर्थात् लोकको मनोरञ्जनका निम्ति ज्यान दाउमा राखेर मारपिट खेल्ने मानिस। आजभन्दा झण्डै २५ वर्षअघि सन् २००० मा निर्देशक रिड्ली स्कटले ग्लाडिएटरमाथि 'ग्लाडिएटर' नामकै सिनेमा बनाए। रोमन इतिहासबाट प्रेरित भएर बनाइएको उक्त फिल्मले सन् २००१ को ओस्कारमा 'उत्कृष्ट चलचित्र' सहित पाँच एकेडेमी अवार्ड प्राप्त गरेको थियो। त्यसो त स्टेन्ली क्युब्रिक निर्देशित 'स्पार्टाकस' पनि ग्लाडिएटरमाथि नै बनेको सिनेमा थियो जसले सन् १९६१ को ओस्कारको विभिन्न शीर्षकमा चार एकेडेमी अवार्ड हात पारेको थियो। खैर, यतिबेला 'ग्लाडिएटर'को दोस्रो भाग क्यूएफएक्स लगायत देशभरका हलहरूमा प्रदर्शनरत छ।

रोचक कुरा के हो भने यो एक्सन सिनेमाको निर्देशन (हाल ८६ वर्षका) स्कट आफैले गरेका हुन्। 'ग्लाडिएटर'का बाल पात्रलाई नै 'ग्लाडिएटर २' को प्रमुख पात्रका रूपमा देख्न सकिन्छ। तर, यसपटकको ग्लाडिएटर को हुन्? के यिनको कथा पनि 'म्याक्सिमस'को जस्तै रोचक होला त? के यिनलाई पनि कसैसँग बदला लिनु छ? छ भने कोसँग र के को? ग्लाडिएटर २ का खलपात्र को होलान्? म्याक्सिमसले आफ्नो ज्यान दिएर बचाएको रोम अब कस्तो भएको होला त? आउनुस् अब ग्लाडिएटर २ सँगसँगै फेरि एकपटक रोमको यात्रा गरौँ।

के म्याक्सिमसको त्याग व्यर्थ थियो?
त्यसो त स्थिति यस्तो बनाइएको थियो कि म्याक्सिमससँग कोमोडसलाई मार्नुको विकल्प रहेकै थिएन। बदलाको भावनाले पनि उसलाई ग्लाडिएटर बनेर पुन: एकपटक रोम भित्रिने साहस दिलायो। तर, सबैभन्दा ठूलो कारण थियो- आवश्यकता। त्यतिबेला रोमका लागि कोमोडस मर्नु अत्यावश्यक थियो। लुसिला र विशेषगरी फुच्चे राजकुमार लुसियसको सुरक्षाको प्रत्याभूतिका लागि पनि कोमोडसले मर्नैपर्ने थियो। रोम र लुसियसलाई सुरक्षा दिलाउन पनि म्याक्सिमसले ज्यानको दाउ लगायो। जसमा ऊ सफल पनि भयो। कमसेकम ऊ आफूले त्यसै ठानेको थियो। म्याक्सिमसले मर्नुअघि बोलेको अन्तिम वाक्य पनि त्यही नै त थियो-

'लुसियस अब सुरक्षित छ।'

तर, म्याक्सिमसको त्यस त्यागलाई व्यर्थ साबित गर्दै ग्लाडिएटर २ को सुरुवातमै लुसिला पुत्र लुसियसलाई रोमबाट भगाइदिन्छे। तर, किन? म्याक्सिमसको बलिदानपछि पनि रोम सुरक्षित थिएन र? लुसियस सुरक्षित थिएन? त्यसोभए, म्याक्सिमसले भ्रममा आफ्नो प्राण त्यागेको थियो? खैर, यसै हो भने पनि के थियो त रहस्य? आखिर रोम र लुसियसलाई अझै 'को'बाट खतरा थियो? ग्लाडिएटर २ ले बताउला?

को हुन् ग्लाडिएटर २ का खलपात्र?
हुन त इतिहासबाट प्रेरित फिल्म हो, पात्रहरू पनि इतिहासबाटै प्रेरित हुन्। तर, यथार्थ पात्रहरूलाई कल्पनाको साँचोमा ढालेर कथा भनिसकेपछि फिल्मका पात्र र इतिहासका पात्र एउटै कदापि रहँदैनन्। उदाहरणका लागि, इतिहासले कोमोडसको हत्या उसैकी प्रेमिका मार्सियाको योजनामा भएको बताउँछ। तर, फिल्मले मार्सियालाई कतै पनि देखाउँदैन। अथवा भनूँ, लुसिलाभित्रै गाभेर देखाइदिन्छ मार्सियालाई पनि।

'ग्लाडिएटर २' खलपात्रका रूपमा रोमका जुम्ल्याहा राजाहरूलाई अघि सार्छ- राजा काराकाला र राजा गेटा जो एकसाथ रोममाथि शासन चलाउँछन्। छोरो लुसियसले कोलोजमको रणभूमिमा मृत्युसँग कुस्ती खेलिरहँदा लुसिला टुलुटुलु हेर्नबाहेक केही पनि गर्न सक्दिन। उठेर विरोध मात्रै जनाउन पनि ऊ सक्दिन किनभने, उसलाई मृत्युको त्यो खेल हेर्न त्यहाँ बाँधेर राखिएको छ। राजा मार्कस अरिलियसकी छोरी भएकाले कोमोडसको मृत्यु लगत्तै सत्ता र शक्ति उसको हातमा गएको थियो। तर, यी जुम्ल्याह राजा को हुन्? उसैको राज्यमा यी कहाँबाट कसरी आइपुगे र आज उसैलाई बाँधेर उसैको छोरोलाई मर्नका लागि गैँडासँग भिडाएर ती मनोरञ्जन लिइरहेछन्! ग्लाडिएटर २ यी प्रश्नबारे केही पनि बोल्दैन। मानौँ, यी खलपात्रहरूलाई चिन्न दर्शकले इतिहास नै पल्टाउनुपर्ने हुन्छ। तर, फेरि पनि दोहोर्‍याऊँ, इतिहास र इतिहासप्रेरित दुई बिछट्ट फरक कुरा हुन्।

यद्यपि, यी खलपात्रलाई चलाउने पनि अर्को खलपात्र कथाले दिएको छ- मार्किनस। सबैभन्दा पहिला त मार्किनस, म्याक्सिमस, मार्कस अरिलियस, मार्कस अकेसियस, ड्रुसिला, लुसिला, लुसियस ... पात्रहरूको नाम यसरी करीब करीब एउटै सुनिनुपर्छ जस्तो ग्लाडिएटरका लेखकहरू (डेविड फ्रान्जोनी र डेविड स्कार्पालगायत) लाई किन लाग्दो हो है? खैर (राजा मार्कस वा सेनापति म्याक्सिमस होइन) नाममा नझुक्किऊँ, पूर्व ग्लाडिएटर 'मार्किनस' यस फिल्मको असली खलनायक हो। जुम्ल्याहा राजालाई नाम मात्रको खलनायक बनाई मार्किनसलाई खलनायक बनाउनुको कारण भने ओरिजिनल फिल्ममा भन्दा सिक्वेलमा 'केही त फरक होस्' भन्ने नै त होला।

आमा, छोरा र रोम
वर्षौं वर्षपछि लुसियस जब पहिलोपटक रोमको कोलोजम पुग्छ, शत्रुसँग भिड्नुअघि रणभूमिको माटो उसैगरी उसले हातमा उठाउँछ जसरी वर्षौंअघि म्याक्सिमसले उठाएको थियो। पहलमान एवं योद्धाहरूले हातमा माटो उठाएर मात्र लड्न सुरु गर्नु दुर्लभ थियो कि? जे होस्, म्याक्सिमसले जस्तै गरी माटो हातमा उठाएको देखेकै भरमा लुसिला लुसियसलाई चिन्छे। 'मेरो छोरो फर्कियो!' भन्ने थाहा पाउँदा यसरी हर्षविभोर हुन्छे कि मार्किनसको नजरबाट समेत उसको खुसी लुक्दैन।

जसरी छोरोलाई वर्षौंपछि देखेर आमा खुसी हुन्छे आमालाई वर्षौंपछि देख्दा छोरो त्यसैगरी खुसी हुन सक्दैन। बरु ऊ त आमालाई चिन्न नै इन्कार गरिदिन्छ। आमाको अस्तित्वलाई नै नकारिदिन्छ। कारण? उसलाई लाग्छ आमाले उसलाई बिनाकारण आफूबाट टाढा पठाई। यहाँनेर छोरोको यस किसिमको आवेग र त्यस आवेगपछाडिको कारण विश्वसनीय लाग्दैन। आमाले लुक्न पठाएकै ठाउँमा पनि रोमका सेनाहरूबाट खतरा भएपछि ऊ आफ्नै बुद्धिले त्यहाँबाट समेत भागेको होइन र? बच्चा हुँदै आफू रोमबाट असुरक्षित भएको थाहा पाएको लुसियसले लाठे भइसकेर पनि रोमबाट किन धपाइस् भनेर सोध्नु त गणितको हिसाबमा प्रश्न नै गलत भएजस्तो भएन र?

र फेरि पनि, लुसिलाले जे कारणले लुसियसमा म्याक्सिमसको छायाँ देखी त्यसलाई 'कविता'का हरफले अझै पक्का गरिदिएको हो। तर, त्यो छायाँ त रोमले पनि लुसियसमा देख्नुपर्ने हो। यदि वास्तवमै म्याक्सिमसपछि म्याक्सिमस समान अर्को कोही आएकै लुसियस मात्रै हो भने रोमवासीले पनि लुसियसलाई देख्दा म्याक्सिमस सम्झिनुपर्ने हो। अघिअघि नसम्झिए पनि, म्याक्सिमसकै कवच र तरबारसहित कोलोजम प्रवेश गर्दा त सम्झिनैपर्ने। कि म्याक्सिमसको बलिदानीले लुसिलाका लागि जति रोमका लागि महत्ता राखेन?

बाबू, आमा र छोरा
लुसियसले पहिलोपटक म्याक्सिमसलाई ग्लाडिएटरका रूपमा बन्दीगृहभित्र भेटेको हो। जतिबेला लुसियसले म्याक्सिमसलाई स्पेनियर्ड भनेर चिन्थ्यो र आफूलाई लुसियस भेरसको छोरो, लुसियस जुनियर। त्यसपछि मामा कोमोडससँग रणभूमिमा आमने सामने हुँदा म्याक्सिमसको असली पहिचान लुसियसले थाहा पाएको हो। त्यसैपछि हो 'म्याक्सिमस' लाई उसले आफ्नो 'हिरो' मान्न थालेको पनि। म्याक्सिमसले त्यो दिन भनेको थियो- 'म म्याक्सिमस डेसिमस मेरिडियस हुँ- ज्युँदै जलाएर मारिएको छोरोको बाउ! ज्युँदै जलाएर मारिएकी स्वास्नीको लोग्ने!'

अर्थात् लुसियसले म्याक्सिमसलाई अरू कसैको बाबू भनेर चिनेको थियो। ऊ आफै पनि आफ्नो बाबू अरू कोही भएको जिकिर गर्थ्यो। तर, वर्षौंपछि उसलाई उसकी आमाले 'तेरो बाबू म्याक्सिमस हो' भन्छे र ऊ बिना कुनै सवालजवाफ पत्याइदिन्छ। किन? निर्देशकले पत्याउन भनेकोले? तर, निर्देशकलाई त पल मेस्कल (कलाकार)ले पो चिन्थे लुसियस (पात्र)ले चिन्नु त (फोर्थ वाल नभत्किई) असम्भव हो। अर्को शब्दमा भन्नुपर्दा, लुसियसले आमासँग सवालजवाफ गर्नुपर्थ्यो। आमासँग नसके अरू कसैसँग। या त आफैसँग। म्याक्सिमसलाई कोलोजमभित्र गनेर तीनपटक उसले देख्नसम्म पाएको हो। त्यसलगत्तै उसले आमा र रोम छोड्नुपरेको हो। अनि, दास बनाइएर अफ्रिकातिर बेचिनुपरेको हो। यसर्थमा, बाबूबारे केही थाहा नपाए पनि लुसियस सबै थाहा पाएझैं चुपचाप पत्याइदिन्छ।

के लुसियस म्याक्सिमसकै छोरो होला त? हुनसक्छ। हुनै नसक्ने पक्का कारण त छैन। आखिर पहिलो फिल्ममै दुईबीच पुरानो प्रेम सम्बन्ध थियो भन्ने कुरा खुलेरै आएको छ। यद्यपि, राजकाज उसैलाई सुम्पिन तयार राजा मार्कसले युद्धविराम लगत्तै 'तँ के चाहन्छस्' भनेर सोध्दा ऊ भन्छ- 'घर नगएको २ वर्ष २६४ दिन भयो। म घर जान चाहन्छु। मेरी जहान र छोरोलाई भेट्न चाहन्छु।' आफ्नी श्रीमती र छोरोप्रति यसरी समर्पित म्याक्सिमसले त्यसो त लुसियसकी आमा लुसिलासँग पनि दूरी बनाएको स्पष्ट देखिन्छ। यसर्थमा, म्याक्सिमसको उच्च आचरणमाथि 'ग्लाडिएटर २' ले सन्देहको प्रश्न भने उब्जाएकै हो।

तर, लुसियसलाई म्याक्सिमसको छोरो भएको छनक दिनकै लागि दुवै फिल्मले यस मामलामा म्याक्सिमसलाई जोगाउने बाटो राखेर लुसिलाको चरित्रमा खोट देखाएका छन्। 'ग्लाडिएटर १' मा लुसिला म्याक्सिमससँग अनेक किसिमका संवाद गर्छे जसबाट दर्शकलाई यस्तो लागोस् कि कुनै समयको उनीहरूको प्रेम राजा मार्कसले थाहा पाएकै कारण टुटेको थियो। जस्तो कि,

- 'मेरो बाबूले त आजभोलि तँलाई खुब रुचाउन थालेछन् त!'
- 'तँलाई आज पनि मसँग भेट्नै नपरोस् जस्तो लाग्छ?'
- 'तँलाई त म निर्दयी जस्तो लाग्दी हुँ।'

- 'म पहिला पनि यस्तै थिएँ?'
- 'म हिजो पनि तँलाई प्रेम गर्थेँ र आज पनि गर्छु।'
- 'मेरो छोरो छ, झण्डै ८ वर्षको।'

र 'ग्लाडिएटर २' मा लुसियस भेरस अर्थात् लुसिलाको श्रीमानबाट 'लुसियस जुनियर' जन्मिएको होइन भनी प्रमाणित गर्न दरबारियाहरू केही यस्ता संवाद बोल्छन्-

- '१४ वर्षको उमेरमा मागी विवाह गराइदिएका हुन्।'
- '१२ वर्षको उमेरमा उसको छोरो गायब भएको हो।'
- 'उसको लोग्नेलाई स्त्रीहरूप्रति कुनै रस थिएन।'
- 'यही कोठामा ऊ आफ्नो प्रेमीसँग आउँथी।'
- 'भन्न नहुने तर, यो कोठामा ऊ कोमोडससँग आउँथी।'

के लुसियसलाई कोमोडसको छोरो भन्ने दरबारियाले बुझेकोबारे लुसिला जानकार थिई? र त्यसैले पो कोमोडसको मृत्युपछि छोरोको असुरक्षाको गन्ध पाएर उसलाई रोमबाट टाढा पठाएकी थिई कि? तर, लुसियस वास्तवमै कोमोडसको छोरो थियो भने सत्तामा भएको कोमोडससँग उसले यो कुरा किन लुकाएरै राखी? तर, म्याक्सिमसको सन्तान हो भने पनि म्याक्सिमसलाई किन भनिन?

फिल्मले अघि सारेका तमाम तर्कहरूबाट लुसियस, लुसियस भेरसको सन्तान होइन भन्ने त प्रमाणित हुन्छ तर, आमाले भनेझैं म्याक्सिमसकै सन्तान हो भनेर पत्याउन सकिने बाटो खुला भने छैन। दरबारियाहरूको ठम्याइँमा लुसियसलाई कोमोडसको सन्तान हो।

बिम्ब र दर्शन
'ग्लाडिएटर १' मा फिल्मको सुरुवाततिरै म्याक्सिमसको एउटा साथी हुन्छ- कुकुर। 'ग्लाडिएटर २' को सुरुवाततिरै लुसियसले एक प्रजातिको बाँदरलाई हराउँछ। यस प्रकारले अप्रत्यक्ष रूपमा फिल्मले म्याक्सिमसलाई घरपालुवा कुकुरसँग र लुसियसलाई जंगली कुकुरसँग दाँज्न खोजेको बुझिन्छ। अथवा, अर्को शब्दमा भन्नुपर्दा म्याक्सिमसलाई पारिवारिक र लुसियसलाई अराजक देखाउन खोजिएको छ। यही मौकामा भनिहालौँ, चाहे 'बाबुन' (जंगली बाँदर) पाल्ने मार्किनस होस् या फेरि 'डोन्डस' (घरपालुवा बाँदर) पाल्ने काराकाला! चाहे माफिया होस् या राजा। लुसियसलाई बदला

बाँदरहरूसँग लिनु छ। मान्छेरूपी ती बाँदर जसले राजनीतिलाई फोहोरी खेल बनाई खेलेर रोममा तमासा देखाइरहेछन्। सेनापति अकेसियस त उसलाई रोमसम्म डोहोर्‍याउने एउटा निहुँ मात्र न थियो।

अब दर्शनको कुरा गरौँ। पहिलो फिल्ममा म्याक्सिमस आफ्ना साथीहरूलाई भन्ने गर्थ्यो- 'हामीले मृत्युसँग डराउन जरुरी छैन। युद्धमा छौँ तसर्थ हामी एक हिसाबले मरिसक्यौँ।' यता लुसियससँग आफ्नै बेग्लै दर्शन छ- 'जहाँ मृत्यु छ, त्यहाँ हामी छैनौँ। हामी जहाँ छौँ, त्यहाँ मृत्यु छैन।' बाँच्दाबाँच्दै मरिसकेको स्वीकार गर्ने म्याक्सिमस बाँच्नका लागि कारण हुँदाहुँदै पनि मरेरै गएको थियो। मृत्युको मुखैनेर पुगेर पनि मर्नलाई अस्वीकार गर्ने लुसियस सबैथोक (बाबू, आमा, श्रीमती) गुमाएर पनि बाँचिरहेकै छ।

अभिनय
ग्लाडिएटर सिनियर अर्थात् म्याक्सिमसको भूमिकामा रसेल क्रोको अभिनय आज पनि फर्किएर हेर्दा अभिनयजस्तो लाग्दैन। त्यसो त, ग्लाडिएटर जुनियर अर्थात् लुसियसको भूमिकामा पल मेस्कलको अभिनयमा पनि खोट लगाउने कुनै ठाउँ त छैन। दुईको पात्रले बोक्ने चरित्र र लिएर हिँड्ने मनोवृत्ति नै पृथक भएको हुँदा तुलना गर्नु पनि उचित नहोला। यद्यपि, पारिवारिक माहोलको पात्र म्याक्सिमसको चरित्रलाई जसरी रसेल क्रोले आँखाको माध्यमबाट जीवन्त तुल्याएका थिए। जंगली र हिंस्रक प्रवृत्तिको चरित्र पाएका मेस्कलले आँखाको अभिव्यक्तिमै अझै काम गरेका हुन्थे भने (पात्र) लुसियसले दर्शकको मनमा (पात्र)म्याक्सिमसभन्दा भव्य प्रभाव बनाउन सक्थ्यो कि? खैर, शारीरिक हाउभाउ र आवाजमा उनले गरेको काम श्रेष्ठ लाग्छ।

खलनायकीमा डेन्जेल वासिङ्टनले उत्कृष्ट काम गरेका छन्। दुवैको चरित्रलेखन कमजोर हुनुका बाबजुद राजा गेटाको भूमिकामा जोसेफ क्विनको काम प्रशंसालायक छ भने राजा काराकालाको भूमिकामा फ्रेड हेजिङ्गर रोचक लाग्छन्। लुसिलाको भूमिकामा कनी निल्सन, सिनेटर ग्राकसको भूमिकामा डेरेक जेकवीको काम पनि सम्झनलायक छ।

जाँदाजाँदै, एक्सन ड्रामा जनरामा 'ग्लाडिएटर'माथि बनेको यो सिक्वेल फिल्मले एक्सनपारखी दर्शकहरूलाई केही त दिएकै छ। २५ वर्षको अन्तरालमा त्यसबेलाको (फिल्मी) रोममा अर्को एउटा परिवर्तन पनि देखिन्छ। त्यो के भने, 'छोरो भएको भए राज्य सम्हाल्ने थिइस्' जस्तो संवादबाट 'एउटी महिला पनि योद्धासम्म चाहिँ हुनसक्छे है' भन्ने मान्यतालाई फिल्मले आत्मसात गरेको छ। तर, एउटी नै मात्र महिला योद्धा देख्दा भने 'किन यति कन्जुस्याइँ?' भन्ने लाग्दैन भन्न सकिँदैन।

अँ साच्चै, आफूलाई दिइएको तरबारको बदलामा म्याक्सिमसको तरबार लिएर निस्किएको लुसियसले चलाउन जानेन कि किन म्याक्सिमसको तरबार क्षणभर नचल्दै भाँचियो? त्यहीँ फेरि म्याक्सिमसको कवच भने दर्जन बढी प्रहारका बाबजुद कोतारिन समेत मान्दैन। कतै, भाँचिएको तरबारले म्याक्सिमसको मृत सन्तान र नकोतरिएको कवचले उसको जिउँदो छोरोलाई बिम्बित गरेको त होइन?

तर, यो प्रश्न सुल्झिएकै कहाँ छ। तपाईंलाई के लाग्छ दर्शक? के साँच्चै लुसियस म्याक्सिमसकै छोरो हो त?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad