कला


प्रिमियर शोमा रुचाइयो बोक्सी प्रथामा आधारित फिल्म ‘अग्निदहन’

प्रिमियर शोमा रुचाइयो बोक्सी प्रथामा आधारित फिल्म ‘अग्निदहन’

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार ११:४४, काठमाडौँ

भोलि शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘अग्निदहन’को प्रिमियर शो गरिएको छ। बुधबार गरिएको प्रिमियर शोमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिएका छन्।

निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए।

राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए ।

कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्या‍उँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए। उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे।

निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार गरेको बताए। उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए।

कलाकार लोकेन्द लेखकले ‘अग्निदहन’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए।

माता सविता आचार्यले फिल्म हेर्दा आफूलाई आँशु आउन खोजेको र डर लागेको बताइन्। उनले वास्तविक पुरै मिलेको भन्दै तारिफ गरिन्।

कलाकार तेज गिरीले अर्काको लाशमाथि टेकेर पाएको जीवनले मनमा र अर्काको लाशमाथि टेकेर पाएको राजनीतिले जीवनमा कहिल्यै शान्ति मिल्दैन भन्दै तारिफ गरे।

यो फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए। ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने।

उपाध्यायले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए।

‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौँ। अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौँ’, उनले भने।

उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे।

घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ।

फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad