कला


नीताको फिल्म ‘ह्रस्व दीर्घ’ लाई दर्शकको साथ

नीताको फिल्म ‘ह्रस्व दीर्घ’ लाई दर्शकको साथ

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १५:१५, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ हलमा राम्रै व्यापार गरिरहेको छ। यस फिल्मले दुई दिनमा २ करोडको व्यापार गरेको फिल्मका निर्देशक चन्द्र पन्तले जानकारी दिए।

‘फिल्मले दुइ दिनमा २ करोड कमाइसकेको छ। हिजो आइतबार पनि दर्शकहरुको राम्रो साथ छ। तर, कलेक्सन भने आइसकेको छैन। आज सार्वजनिक बिदाको दिन शोहरु हाउसफुल छन्,’उनले नेपालखबरसँगको कुराकानीमा भने।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले हिजो दुइदिनको कलेक्सन सार्वजनिक गरेको थियो। जुन रिपोर्टअनुसार पहिलो दिन ८० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड २० लाख ग्रस कलेक्सन गरेको थियो।

‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच रिलिज भएको यस फिल्मले पहिलो दिन डेढ सय शो पाएको थियो। विजय बराल मुख्य भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको छ। जसकारण ‘ह्रस्व दीर्घ’ को शोमा असर परेको देखिन्छ। तर, प्राप्त शोमा अकुपेन्ची शतप्रतिशत देखिन्छ।

नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ।
फिल्ममा नीतासहित हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ।

यस फिल्मको लागि भारतीय अभिनेता प्रदीप रावत नेपालमा छन्। आइतबार साँझ श्रीमतीसहित नेपाल आएका प्रदीप दिउँसो कमालपोखरीस्थित बिग मुभिजदेखि लमिम मलस्थित क्यूएफएक्सका हलमा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको छ।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो। यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad