कला


‘ज्वाइँ साब’ चलेपछि जितु भन्छन् : कथा गतिलो भए ठूलो स्टार नचाहिने रहेछ (अन्तर्वार्ता)

‘ज्वाइँ साब’ चलेपछि जितु भन्छन् : कथा गतिलो भए ठूलो स्टार नचाहिने रहेछ (अन्तर्वार्ता)

जितुले लिड रोल रहेको फिल्म ‘ज्वाइँ साब’बाट सफलताको स्वाद चाखिरहेका छन् (तस्बिर : उद्धव रसाइली)


लक्ष्मी बलायर
कात्तिक १०, २०८१ शनिबार १६:५२, काठमाडौँ

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को दबदबाबीच फिल्म ‘ज्वाइँ साब’ तेस्रो सातामा प्रदर्शनरत छ। जितु नेपालको मुख्य भूमिका रहेको फिल्मले दर्शकहरूको राम्रो साथ पाइरहेको छ।

दुई ठूला फिल्मको चेपुवा पर्दा कम सो पाएको ‘ज्वाइँ साब’ले सुरुवातमा सुस्त व्यापार गरेको थियो। तर, फिल्मको कथावस्तु र जितुको अभिनयले दर्शकहरू हलसम्म पुगे। जसकारण प्राप्त सोमा दर्शकहरूको राम्रो अकुपेन्सी छ।   

यसअघि जितु ‘छक्कापञ्जा’ का सिरिजमा सहायक भूमिकामा देखिन्थे। तर, यस टिमसँग अलग्गिएपछि जितु स्वतन्त्र रूपमा काम गर्दै आइरहेका छन्।

उनी ‘ह्यारीकी प्यारी’मा पहिलोपटक मुख्य भूमिकामा देखिएका थिए। त्यो फिल्म बक्सअफिसमा सफल हुन सकेन। तर, यतिखेर जितुले लिड रोलको भूमिका निभाएको फिल्म ‘ज्वाइँ साब’बाट सफलताको स्वाद चाखिरहेका छन्। उनै कलाकार जितुसँग नेपालखबरले गरेको कुराकानी:

तपाईंको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ तेस्रो सातामा प्रदर्शनरत छ, कस्तो प्रतिक्रिया पाइराख्नुभएको?
एकदमै राम्रो प्रतिक्रिया पाइराखेको छ। जति पनि दर्शकहरूले फिल्म हेर्नुभएको छ, अत्ति नै मन पराउनुभएको छ। तर, दर्शकले मन पराएजति हलमा सो भने पाउन सकेन। त्यो चाहिँ समस्याको कुरा हो।

दुईवटा फिल्महरू ज्वालामुखीसरह आए। त्यसले गर्दा हामीलाई सो कम भयो। तर, हामीले चित्त दुखाउने ठाउँ किन रहँदैन भने दुवै फिल्मलाई दर्शकले एकदमै रुचाउनुभयो। फिल्ममा भिडभाड एकदमै भयो, हलले पनि भिडभाड छोडेर यसतिर लाग्ने कुरा भएन। जतिले हेर्नुभयो, एकदमै मन पराउनुभएको छ।

त्यसो भए अरू फिल्मको घानमा परेको हो?
घानमा त परेकै हो। किनभने यसको टेस्ट फरक थियो। दर्शकले हेर्न चाहे। तर, हलमा जाँदा सो नहुँदा धेरै दर्शक फर्किएको पनि पाइयो। कति ठाउँमा फिल्म लगाइएन पनि। दु:ख चाहिँ के लाग्यो भने अरु फिल्मलाई चारपाँच सो दिँदा यसलाई दर्शकहरूको चाहनाअनुसार एकदुई सो राखौँ भन्ने चाह भएन। हल्ला भएर यो अवस्थासम्म आइपुग्नु ठूलो कुरा हो। एउटा आफ्नो पहिचान त बनायो। हिटको ट्याग पनि पाएको छ। यस्तो बेलामा फिल्म चलाएर लगानी उठाउनु पनि ठूलो कुरा हो।

मुख्य भूमिका भएको फिल्म पहिलोपल्ट हिट हुँदा कस्तो अनुभव हुँदो रहेछ?
एकदमै खुसी लागेको छ। अरुभन्दा नि दर्शक आउनु एकप्रकारको राम्रो कुरा हो तर आएका दर्शक खुसी हुनु ठूलो कुरा हो। यसपालि मैले अलि भावुक रोल पनि गरेको थिएँ। सबैले मन पनि पराउनुभएको छ। कति त हलबाट रुँदै बाहिर निस्किएको पनि देखेँ।

जति पनि अहिलेसम्म प्रतिक्रिया लियौँ, सबैले मेरो कामको तारिफ नै गर्नुभएको छ। खुसी छु र अबका दिनमा काम गर्न उत्साहित पनि छु। अझै राम्रो गरौँ भन्ने जोस पलाएको छ।

सामूहिक रूपमा काम गर्ने व्यक्तिको लिड रोलको फिल्म रिलिज हुँदा कत्तिको चुनौती हुँदो रहेछ?
म पहिल्यैदेखि नै आफ्नो पहिचान आफैँ बनाउनुपर्छ भन्नेमा विश्वास राख्ने मान्छे हुँ। र, चलचित्र क्षेत्रमा आएर आफ्नो ठाउँ बनाएको हुँ। त्यसैले मलाई चुनौती मन पनि पर्छ। पहिले समूहमा हुँदाखेरी सामूहिक रूपमा जस पाउँथ्यौँ। तर, अहिले मेरो एकल छ।

दर्शकले भरोसा गरिदिनुभयो। मेरो लागि एउटा सानो मार्केट बन्यो। फिल्मले जति व्यापार गर्‍यो र जितु भनेर दर्शक आउनुभयो। त्यो सबै मेरा दर्शक हुन्, मैले लक गरेर राख्छु। म कुनै पनि माध्यमबाट यी दर्शकलाई निराश बनाउँदिनँ।

पछिल्लो समय सहायक कलाकारहरू पनि लिड रोलमा देखिन थालेका छन्। यस्तोमा ज्वाइँ साब चल्नुले के सन्देश दिन्छ?
अहिले यस्ता खाले फिल्महरू आइरहेका छन्। विजय बरालले लिड गरेको पूर्णबहादुरको सारंगी आउँदैछ। मेरो चलिरहेको छ। अब बुद्धि तामाङको पनि आउनुपर्छ। मूलधारको चलचित्र हामीमाथि बन्नुपर्छ।

यो समयको माग पनि हो। किनभने मान्छे एकैप्रकारको हेर्दाहेर्दा वाक्क भइसके। अवास्तविक कुराभन्दा पनि रियल र घरका कहानीहरू दर्शकलाई मन पर्न थालेका छन्। हामीजस्तै मान्छेले पनि मूलधारमा रहेर अभिनय गरेको चलचित्र दर्शकलाई पनि चाहिएको छ। यस्ता फिल्म नेचुअरल हुन्छन्, फाइट हुँदैन। अस्वाभाविक दृश्य हुँदैन। समयको माग र कथा यस्तो खाले बन्न थाल्नु राम्रो हो। निर्माताहरूले रुचि देखाउँदा झन् राम्रो छ।

ज्वाइँ साब यसरी चल्छ, सो बढ्दै गएर व्यापार गर्छ भन्ने कसैलाई लागेको थिएन। यो सिनेमा नै बोलेको हो। नत्र सिनेमा उहिल्यै आएर नामनिसान कतै रहँदैनथ्यो। अब नौलो कथावस्तु ल्यायो भने कोही ठूलो स्टार चाहिँदैन। सामान्य कलाकारलाई लिएर बनाउँदा पनि यदि कन्टेन्ट छ भने दर्शकलाई मन पर्छ भन्ने हो। उद्योगलाई पनि निकै फाइदा पुर्‍याएको छ। ठिक्क बजेट भएका सिनेमाहरू बनाउन खोज्नेले पनि बनाउन सक्छन्। तर, यसलाई स्वीकार गर्न धेरै मान्छेहरूलाई एकदम कठिन छ।

रिलिजअघिको विवादको रहस्य के हो? चर्चाका लागि थियो कि साँच्चै भिडन्तकै लागि हो?
यो मैले बनाएको फिल्म होइन, म निर्माण टिमसँग पनि आबद्ध छैन। कहिले लगाउने भन्ने कुरा निर्माताको कुरा हो। उनीहरूले जोखिम मोल्न चाहे, चलाए। मैले एउटा कलाकारको धर्म निभाएको हुँ। यो क्षेत्रमा भएपछि सकेको र जानेको सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मैले आफूले खेलेका सम्पूर्ण चलचित्रमा समय दिन्छु। र, निर्मातालाई सुरक्षित राख्नतिर लाग्छु। त्यो अन्तर्गत हिँडेको हुँ।

हिजोमा दिनमा जे भयो, जसो भयो, अब सिनेमा आइहाल्यो। अब स्वतन्त्र छौँ। अब हरेकको सिनेमा यो समय, त्यो समय भन्ने छैन। जसलाई जुन समय उपयुक्त लाग्छ, रिलिज गर्दा हुन्छ।

यी सबै कुराहरू सामान्य पनि हुन्। अब सँगै चलचित्र आएकै हो। हाम्रीले चलचित्र ल्याएकै हो, त्यसमा केही भन्नै परेन। आरोप लगाउनेलाई केही भन्नु छैन। पुरानो र नयाँ कुरा कोट्याएको पनि छैन। आफ्ना कुरा र स्वविचारका कुरा भनेको हुँ। मनका लागेका कुरा भनेको हो। कोट्याएर हुने पनि केही होइन, जरुरी पनि छैन।

फिल्म लागेपछि दीपक-दीपा, केदारसँग कुराकानी केही कुरा भयो कि भएन?
मेरो आजसम्म केही छैन। साथीहरूको राम्रो छ। तर, भेटघाट भएको छैन। उहाँहरू पनि व्यस्त हुनुहुन्छ। म पनि व्यस्त छु।

निश्चल बस्नेतले उठाएको विषयमा तपाईंको के छ धारणा, के तपाईंको फिल्मले अपेक्षित सो नपाएकै हो?
होइन। सो नपाएकै हो तर सो नपाएको कारण चाहिँ हामीले पनि त ठूलाठूला फिल्मको बीचमा ल्याएकैले हो नि! केही दोष हाम्रो पनि त छ। सो पाएन भनेर अहिले हामीले त्यस्तो गर्न मिल्दैन। निश्चलजीको केस छुट्टै हो। यत्रो फिल्मक्षेत्रको ट्रेन्ड नै चेन्ज गर्नुभएको छ। उहाँ राम्रो डाइरेक्टर र मेकर हुनुहुन्छ। हामीले सो दिए हुन्थ्यो भनेर अनुरोध गर्नुसिवाय केही छैन। जति दिनुभएको त्यसमा केही छैन। तर, काठमाडौँबाहिर थपिदिएको भए हुन्थ्यो भन्ने हाम्रो चाह हो। अहिले हामीले पाएका सबै सोहरू हाउसफुल छन्।

यस फिल्मबाट सिकाइ कस्तो रह्यो?
एउटा राम्रो कथालाई राम्ररी बगाउन सकियो भने चाहिँ सिनेमा पनि बनाउन सकिँदोरहेछ भन्ने मेरो लागि सिकाइ भयो। किनभने सुरुदेखि नै म यसमा समावेश पनि भएँ। त्यसकारणले सिनेमा बनाउन कथावस्तु राम्रो चाहिँदोरहेछ भन्ने भयो।

नीति शाह र हिमेश पन्तसँग पहिलोपल्ट काम गरेँ। सबैले मलाई सिनियरको हिसाबले सम्मान गर्ने। यसौ गरौँ भन्दा हुन्छ भन्ने। सहज र रमाइलो गर्दै काम गर्‍यौँ। एकअर्काको सुटिङ नहुँदा पनि काम गर्ने ठाउँ पुग्थ्यौँ। नीतिजीले पनि रमाएर काम गर्नुभयो।

यो फिल्म चलेपछि अन्य फिल्मको अफर आएको छ कि नाइँ?
अफरहरू आइरहेको छ। धेरै मेकरहरूबाट भेटौँ अनि बसौँ भन्ने कुरा आइरहेको छ। सिनेमासँगै तपाईंको व्यवहार पनि मनपर्‍यो। सकारात्मक हुनुहुँदो रहेछ भनिरहनुरहेको छ। यसले थप उर्जा पाएको छु।

अस्ति एकजना दर्शकले यो जितु नेपाल हँसाउने मान्छे किन रुवायो भन्नुभएको छ। ठिक लागेन भन्नुभएको छ। तर, यसपटक रोल नै यस्तो थियो। कलाकारको लागि चुनौती हो। एउटा हँसाउने कमेडियनको रूपमा चिनिसकेको मान्छे यो भूमिकामा फिट देखिनु मेरो लागि राम्रो कुरा हो। म त्यसै पनि भावुक मान्छे हुँ। भावुक सिन गरिरहकै हुन्छु। जुन मेरो लागि ठूलो सफलता हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad