क्यूएफएक्स लगायत देशभरका हलहरूमा नेपाली फिल्महरूबीच टक्कर चलिरहेको छ। कहिले उसको छक्का त कहिले दोस्रोको! कहिले दोस्रोको पञ्जा त कहिले उसको! मानौँ, तासको पत्ती यदि फिल्म भइदिन्थ्यो भने छक्का भन्नु नै एक्का र पञ्जा भन्नु नै राजा, मतलब बास्सा बुझिन्थ्यो कि जस्तो! तर, दुईपत्ती खेल्छ पो कसले?
बरु, सर्वेक्षण नै गर्ने हो भने दसैँको बेला तीनपत्तीको उल्लेख्य कारोबार भेटिँदो हो। जसरी, सिनेमा हलहरूमा यस दसैँमा नेपाली सिनेमाले पनि तीनपत्ती नै खेल्यो। खैर, तास छोडौँ र यतिबेला भने दीपाश्री निरौला निर्देशित 'छक्कापञ्जा ५' कै कुरा गरौँ। बरु, त्यहीँभित्रका एक्का, बास्सा र मिस्सीका कुरा गरौँ। कथा, पटकथा र पात्रका कुरा गरौँ।
कथा
एउटा आम मान्छे, एउटा भरिया जो आफूलाई राजा सम्झिन्छ तर सामाजिक पद-प्रतिष्ठा कमाउन नसक्दा गिज्जिएर रहन्छ। र जो आफ्नो छोरोलाई त्यस हैसियतमा देख्न चाहन्छ जहाँ समाजले उसको राजा हुनुलाई प्रश्न गर्न नसकोस्। त्यही बाबूको छोरो अर्थात् बाबुराजा ऊर्फ पृथ्वी, कालान्तरमा सरकारी कर्मचारी बन्छ। यद्यपि, भ्रष्ट व्यवस्थाभित्र उसको पद र निष्ठाले उसलाई हैसियत दिलाउन अझै पनि सक्दैन। यस्तोमा अब उसले के गर्ला त? यही प्रश्नको जवाफ खोज्दै फिल्मको कथा अघि बढ्छ। अनि अँ, (अपवादलाई छोडेर) सबैलाई चाहिनेजस्तै बाबुराजालाई पनि हैसियत सँगसँगै जीवनसाथी समेत चाहिएकै छ।
पटकथा
त्यसो त यस्ता अनेक उपकथा आउनुले फिल्मलाई रोचक र सिर्जनात्मक नै बनाएको छ। तर, पटकथा लेखनका क्रममा उपकथालाई मलजल गर्नमै केन्द्रित हुँदा कथा भने खाल्डोमा जाकिन पो पुगेको हो कि?
ठीक छ, देशको मायाले होस् या बाबूको मायाले पृथ्वी स्वदेश फर्कियो। तर, किन फर्कियो? त्यही व्यवस्थाको हिस्सा बन्न फर्कियो या व्यवस्था उल्ट्याउनलाई फर्कियो? फिल्मले जन्माउने यो एउटा नाजवाफ प्रश्न हो। जे होस्, अन्त्यसम्म आइपुग्दा फिल्मले आफ्नो केन्द्रीय कथावस्तुलाई नै भुलिसकेको महसुस हुन्छ।
यो प्रश्नको जवाफ फिल्मले दिन नसके पनि यस्तो प्रश्न उठ्ने स्थिति किन सिर्जना भयो? त्यो भने फिल्मले नबताएरै पनि बताएकै छ। कथामा भन्दा उपकथामा जोड! कारण? मुख्य पात्रलाई नायक बनाउने मोह! अर्थात् आवश्यकताभन्दा अधिक हिरोइजम्!
खैर, एउटा कुरा यो पनि भनिहालौँ, यति नै हिरोइजम देखाएर पनि मूल कथालाई फिल्मले यदि टुङ्गोमा पुर्याउन सक्थ्यो भने फेरि दर्शकले फिल्म हेरिसकेर बरु हाजमोला खाइदिने थिए तर, हिरोइजम जोखेर बस्ने पक्कै थिएनन्। एउटा उदाहरण पनि दिइहालूँ। जस्तो कि, लेज वा कुर्कुरेलाई त्यति नै मूल्य पर्थ्यो तर, प्याकेटको आधाभन्दा बढी हिस्सा हावाले भरिन्थेन भने सायदै कुनै ग्राहकले त्यो हावा नापजोख गर्न खोज्थ्यो होला। फेरि पनि लेजको प्याकेटमा खाँदेर नाइट्रोजन भरिनुको कारण पनि उस्तै खँदिलो छ। खाँदिएको नाइट्रोजनले लेजलाई सड्नबाट जोगाउँछ तर, फिल्ममा खाँदाखाँद हिरोइजम हुनुले कथा र पात्रलाई सडाउँदैन भन्न सकिन्न।
पात्र
कथाको कुरा पनि भइहाल्यो अब पात्रहरूतिर लागौँ। कस्ता लेखिएका छन् त छक्कापञ्जाका पात्र? पृथ्वी र उसको बाबूबाटै सुरु गरौँ न त।
बाबूलाई कसैले 'बाउ' मात्रै भनेर सम्बोधन गर्दा मान्छे पिटेर जेल जाने पृथ्वी आखिर बाबूलाई त्यतिबिघ्न प्रेम किन गर्छ? किनभने, बाबूकै कारणले उसले ठकुरी हुन पायो? ठकुरी हुनुमा यत्तिको गर्व गर्ने उसले आफ्नो थातथलो, आफ्नो पूर्खाप्रति चासो राखेको भने कहिल्यै नदेखिँदा उसले बोक्ने स्वाभिमान चर्को हुनुका बाबजुद सतही लागिदिन्छ।
साथै, पृथ्वीनारायण शाहसँग तुलना गरी देशभक्त र इमानदार युवाको रूपमा पृथ्वीविक्रमलाई चित्रण गरिएको भए पनि त्यस इमानदारीप्रति दर्शक निसन्दिग्ध रहन सक्दैनन्। आदर्शमा बाँच्ने यस पात्र विवाह गर्नका लागि भने आदर्शच्युत हुन सकेको छ र त्यसप्रति उसलाई लघुताभास वा पश्चाताप केही पनि हुँदैन। खैर, बाबू पात्रको हकमा भने उसले कमसेकम सत्य बोल्ने प्रयत्न गरेको देखिन्छ जसले पात्रको आदर्शवादी चरित्रलाई विश्वसनीय बनाउन कतै न कतै सहयोग नै गरेको छ।
एउटी आधुनिक युवती रोशनी। सहरमा घर छ, बसीबसी खान नपुग्ने स्थिति छैन र पनि ऊ रोजगार छे, आत्मनिर्भर छे। अमेरिका जाने जसको एक मात्र सपना छ। सहरमा बस्छे र पनि भन्छे- नेपालमा बस्ने उसको कुनै चाहना छैन। अर्थात् सहरको सुख र सुविधाले पनि उसलाई पुगेको छैन। यस्ती आधुनिक र त्यसमाथि पनि भोगविलासी मिजासकी युवती माटो र इट्टाको झुपडीमा खुसीखुसी भित्रिन्छे। त्यो पनि आफूभन्दा निकै जेठो उमेरको केटोसँग जोसँग उसको माया बसेको समेत हुँदैन।
माया थियो भने त शंकाको प्रश्न उब्जिने थिएन होला तर, बिनामाया केका लागि? ठकुरी थरका लागि? लोग्नेले घुस खाएर दरबार बनाउँछ भन्ने आशामा त कुनै आधुनिक स्त्रीले यति ठूलो निर्णय नगर्ली। गर्ली र? अमेरिका सपना हुनेले कि त आफैलाई अमेरिका पुग्न योग्य बनाउँदा हुन् कि त कुनै एनआरएन ताक्दा हुन्। त्यति पनि नभए, कमसेकम हाल आफूजस्तो अवस्थामा छन् उस्तै वा हाराहारीको सुविधामा हाम फाल्दा हुन्! तर, भर्खरसम्म सुगम खोजिहिँड्नेले भर्खरै दुर्गममा हाम फाल्न कि चेतनाहीन हुनुपर्छ कि त प्रेमान्ध। रोशनी न्यौपानेमा यी दुईमध्ये कुनचाहिँ समस्या छ? फिल्म आफैमा स्पष्ट छैन।
यस्तै, लमी पात्रलाई पृथ्वीविक्रमको स्कुलबेलादेखिको साथी भनिएको छ र ऊ पटकपटक उसको घर धाउँछ पनि। साथीको अनेक लफडामा मुछिन्छ पनि। त्यही काइदामा कुटिइन्छ पनि। दुईबीच घनिष्ठ दोस्ती देखाउन डायलगबाजीमा भरपूर मिहेनत गरेको देखिन्छ। तर, एकैपटक आफ्नै ठाउँमा आफ्ना बाबूआमा, घर-परिवारका अन्य कुनै पनि सदस्य देखाउनु त टाढाको कुरा तीबारे कहीँकतै सुइँको समेत नदिइँदा अनेक संवाद र नाटकीय दृश्यले देखाउन खोजिएको दोस्ती बनावटी महसुस भइदिन्छ।
साँच्चै भन्नुपर्दा अन्तिमको गीतले सुनाउने प्रेमकथाभन्दा पनि मुख्य पात्र पृथ्वीसँगको उसको पुरानो दोस्तीलाई प्रमाणित गर्ने आधार दृश्य तथा संवादमा फिल्मले चासो दिनुपर्थ्यो कि? छोरोको बच्चाबेलादेखिको साथी त बाबूको दौँतरीको छोरो हुँदो हो नि! जे होस्, कडा मिहेनतका बाबजुद लमीलाई साथीको रूपमा निसन्दिग्ध स्थापित गर्न फिल्म चुकेको छ।
खैर, यही पात्रको प्रेमकथाका रूपमा राखिएको अन्तिमको गीतले मूल कथासँग सान्दर्भिकता नराखे तापनि संगीत र नृत्यमा नेपालीपन र केही नौलो गर्ने प्रयत्न गरेको भने देखिन्छ। सँगै छक्कापञ्जाकै अघिल्ला सिरिजका कथा र पात्रबारे दर्शकलाई सम्झाउन खोजिएको महसुस हुन्छ।
अभिनय
अभिनयको कुरा गर्नुपर्दा मुख्य पात्र पृथ्वीको भूमिकामा दीपकराज गिरीको अभिनय मनमोहक नै छ। यद्यपि, आवश्यकताभन्दा बढी हिरोइक चरित्र पाएको पात्र निभाइरहँदा त्यसले उनको अभिनयलाई प्रभाव पारेको देखिन्छ। अन्त्यतिरको भावुक दृश्यमा सन्तुलित देखिएका उनी सुरुवाततिरको हिरोइक दृश्यहरूमा नाटकीय देखिएका छन्।
बाबू पात्रको भूमिकामा प्रकाश घिमिरेको काम प्रशंसायोग्य नै छ। रोशनीको भूमिकामा वर्षा सिवाकोटीको काम उल्लेखयोग्य लाग्छ। रमेश बुढाथोकीले निर्वाह गरेको खलनायकीमा अभिनयको हकमा सन्तुलन देखिन्छ। राजाराम पौडेल, केदार घिमिरे लगायत कलाकारहरूको काम पनि सन्तोषजनक नै लाग्छ।
जसरी उडी हिँड्ने बादल र पन्छीकै कारण मान्छे आकाशतिर हेर्दो हो। एकतमाससँग निलो आकाशले अधिकांशलाई नतान्दो पनि हो। मेयर साहब उर्फ पृथ्वीको साथीको भूमिकामा ब्रजेश खनालले त्यही गरेका छन् जे आकाशले गर्छ। बस् भइदिएका मात्रै छन्। चर्का लेखिएका र देखिएका पात्रहरूबीच सामान्य लेखिएका र सामान्य रूपमै निर्वाह गरिएका उनको पात्रले त्यसो त दर्शकको ध्यान नखिच्दो हो तर आँखालाई शीतलता दिएकै छ।
विचार पक्ष
माथि पनि भनिहालियो कि एउटा विन्दुमा पुगेर मूलकथालाई छोडेर फिल्म उपकथामा केन्द्रित भएर अघि बढ्छ। कर्मचारीतन्त्र र राजनीतिले देश कसरी बिग्रिँदो छ र दिन प्रतिदिन रित्तिँदो छ भन्ने देखाउँदा देखाउँदै पात्रलाई चरित्र दिन ल्याइएको उपकथा अर्थात् 'पृथ्वी र पृथ्वी'को कथामाथि फिल्म यसरी डुबिदिन्छ कि त्यसले नजानिँदो गरी (सायद लेखकले भन्न नखोजेकै कुरा) ठकुरी र देशभक्तलाई एक अर्काको पर्यायवाची शब्द नै बनाउन खोजिरहेको त होइन? प्रश्न गर्ने ठाउँ पर्याप्त बनेको देखिन्छ।
अर्को एउटा दृश्य जहाँ रोशनीको दोस्रो विवाहका लागि पारिवारिक जमघट चल्दो छ। त्यस क्रममा एक पात्रद्वारा एउटा संवाद बोलिन्छ जसको आशय हुन्छ- घर बिग्रिएकी केटी र घर बिग्रिएकै केटो। कस्तो मिलेको जोडी! ठीक छ, समाजमा यस्तै सोच हुने मान्छे अवश्य पनि हुन्छन्। तर, त्यस जमघटमा उपस्थित कुनै पनि पात्रले यस संवाद/सोचलाई दखल दिनुको साटो हाँसीखुसी जब समर्थन गरिदिन्छन् तब फिल्मले त्यही तर्कमा टेकेर त्यस विचारको पक्षपोषण गरेको बुझिन्छ।
यस्ता दृश्यले त घर बिग्रिएकी केटीले घर बिग्रिएकै केटो मात्रै भेट्छे वा ऊ त्योभन्दा अन्य केटाका लागि योग्य हुन्न भन्ने भाष्य निर्माण भएन र?
जाँदाजाँदै, मुख्य पात्रको नायकत्वको भारले थिचिँदा छक्कापञ्जाको मूलकथा मारमा परेको छ।
Shares

प्रतिक्रिया