भारतीय राज्य महाराष्ट्रका पूर्वमन्त्री तथा एनसीपीका वरिष्ठ नेता बाबा सिद्दिकीको हत्याले महाराष्ट्रको राजनीतिमा मात्र होइन, बलिउडमा हलचल मच्चिएको छ। शनिबार साँझ मुम्बईको बान्द्रा क्षेत्रमा गोली हानेर सिद्दिकीको हत्या गरिएको हो।
बाबा सिद्दीकीको बलिउड फिल्म कलाकारहरूसँग गहिरो सम्बन्ध थियो। उनको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गरेका छन्।
अभिनेता सलमान खान बिग बोस सिजन १८ को सुटिङमा व्यस्त थिए। यो खबर पाएलगत्तै उनी सुटिङ बीचमै रोकेर सिद्दिकी परिवारलाई भेट्न लीलावती अस्पताल पुगेका थिए।
अभिनेता सञ्जय दत्त र अभिनेत्री शिल्पा शेट्टी पनि उक्त अस्पताल पुगेका थिए।
बलिउडमा सिद्दिकीको पहिचान

बाबा सिद्दिकीको नाम राजनीतिक वृत्तमा मात्र नभएर बलिउडमा पनि उनको पहिचान निकै गहिरो थियो।
बाबा सिद्दीकी मुम्बईका पहिलो नेता थिए, जसले ठूलो उत्सवका रूपमा इफ्तार पार्टीको थालनी गरे।
त्यहाँ धेरै इफ्तार पार्टी हुन्थे, तर बाबा सिद्दिकीको इफ्तार पार्टी धेरै ठूलो हुन्थ्यो।
जसरी बलिउडका लागि फिल्मफेयर अवार्ड सधैँ महत्त्वपूर्ण रहन्छ, त्यसैगरी बाबा सिद्दिकीको इफ्तार पार्टी पनि सधै त्यस्तै हुने गरेको छ।
उनको इफ्तार पार्टीमा हरेक ठूला कलाकार उपस्थित हुन्थे। कलाकार मात्र होइन, हरेक ठूला व्यापारी र मन्त्री पनि सहभागी हुने गरेका थिए।
बलिउडसँग बाबा सिद्दिकीको सम्बन्ध

वर्षभरि बाबा सिद्दीकीका बारेमा कुनै समाचार आओस् वा नआओस्, तर जब रमजानको महिना आउँथ्यो, तब पक्कै पनि उनी चर्चामा छाउँथे।
बलिउडसँग कसरी जोडियो बाबा सिद्दिकीको सम्बन्ध?
यसबारे बीबीसी हिन्दीसँग कुरा गर्दै वरिष्ठ पत्रकार डा. रामचन्द्रन श्रीनिवासन भन्छन्, ‘सुरुवातमा बाबाको राजनीतिक कार्यस्थल बान्द्रा थियो। यो त्यही ठाउँ हो जहाँ अधिकांश चलचित्रकर्मीका घर छन्। आफ्नो राजनीतिक करिअर बनाइरहका बेला उनको भेट सुनिल दत्तसँग भयो।’
उनी थप्छन्, ‘बाबा सिद्दीकी र सुनील दत्त साहबबीच धेरै घनिष्ठता थियो। सुनिल दत्त साहेबका छोरा सञ्जय दत्तसँग पनि उनको यस्तै सम्बन्ध थियो। सञ्जय दत्त प्रायः बलिउड पार्टीमा अनुपस्थित हुन्छन्, तर उनले बाबा सिद्दिकीको इफ्तार पार्टीमा जान छुटाएको दिन छैन।’
श्रीनिवासनका अनुसार सञ्जय दत्त जेलबाट छुट्नासाथ उनी पहिलो पार्टीका रूपमा बाबा सिद्दीकीको इफ्तार पार्टीमा सहभागी हुन्थे।
सलमान र बाबाको मित्रता पनि निकै पुरानो थियो। सामाजिक सरोकारका कैयौँ मुद्दामा दुवैजना एकसाथ आउनुको कारण यही हो।
२०२० र २०२१ मा कोरोना लकडाउनका बेला पनि बाबाका छोरा जिशान सिद्दीकीसँग सलमानको टोलीले समस्याका परेका मानिसलाई सहयोग गरेको थियो।
त्यति मात्र होइन, त्यस समयमा उनीहरूले मिलेर अक्सिजनसँग संघर्ष गरिरहेका मानिसहरूलाई पनि सहयोग गरेका थिए।
खराब समयमा पनि बाबाले सलमानलाई साथ दिए। हिट एन्ड रन केस र कालो हरिण प्रकरणमा सलमान समस्यामा पर्दा बाबा सिद्दिकी सलमानको साथमा थिए।

जब सलमान खानको मुद्दामा सुनुवाइ हुन्थ्यो तब बाबा सिद्दीकी कि अदालतको कोठामा सलमाननजिक हुन्थे वा उनको परिवारका साथमा।
हालै लरेन्स बिश्नोई गिरोहले सलमान खानलाई ज्यान मार्ने धम्की दिँदा पनि बाबाले खेद प्रकट गरेका थिए। सलमानलाई मार्ने धम्की दिनेहरूलाई पक्राउ गर्न माग गरेका थिए।
सलमान र शाहरुखको दुश्मनी अन्त्य गराइदिए
आज सलमान र शाहरुखलाई सँगै देख्नु कुनै अचम्म होइन, तर एक समय यस्तो थियो- दुवै एकअर्कालाई भेट्न पनि मन पराउँदैनथे।
करिब पाँच वर्षदेखि उनीहरू एकअर्कासँग बोलेनन् र सँगै काम गरेनन्।
तर सलमान र शाहरुखबीचको पाँच वर्ष पुरानो दुश्मनीलाई बाबा सिद्दिकीले नै सन् २०१३ को इफ्तार पार्टीमा बोलाएर दुवैलाई अँगालो हालेर मिलाएका थिए। बीबीसी हिन्दी
Shares

प्रतिक्रिया