कला


‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आज एकसाथ रिलिज, बक्सअफिसमा महाभिडन्त

‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आज एकसाथ रिलिज, बक्सअफिसमा महाभिडन्त

नेपालखबर
असोज २४, २०८१ बिहिबार ८:३९, काठमाडौँ

फूलपातीका अवसरमा आज (बिहीबार) तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। दीपकदीपाको ‘छक्का पञ्जा ५’ सहित जितु नेपालको ‘ज्वाइँ साब’ र विराज भट्टको ‘१२ गाउँ’ हलमा लागेका हुन्। 

दसैँको अवसरमा रिलिज भएका यी तीन फिल्मबीच बक्सअफिसमा महाभिडन्त हुनेछ। शोका हिसाबले हलबाट ‘छक्का पञ्जा ५’ बढी शो पाएको छ। यस फिल्मले पहिलो दिन २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका हुन्।

‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। शो विभाजन हुँदा अरू फिल्मजस्तै आक्रामक व्यापार गर्न यो फिल्मलाई चुनौती थपिएको छ। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ। 

दीपाश्री निरौला निर्देशित दीपकसहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।

यस फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक लगायत लगायतको पनि अभिनय छ।

त्यसैगरी अभिनेता विराज भट्टको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि रिलिज भएको छ। विराजका छोरा समीरको डेब्यु फिल्म भएकाले यो फिल्म बहुप्रतिक्षित थियो। समीरलाई पर्दामा हेर्न दर्शक निकै उत्साहित छन्। 

समीरले १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्। त्यसैगरी यसै फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

रिलिजअगावै चर्चामा रहेको यस फिल्मलाई विराजले निर्देशन गरेका हुन्। फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। 

एक्सन थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। फिल्मको नेपालसहित भारतमा छायांकन गरिएको थियो। 
जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ पनि हलमा लागेको छ। वसन्त निरौला निर्देशित यस फिल्ममा नीतिसँग बिहे गर्न गर्नुपरेको प्रतिस्पर्धा र नीतिको घरमा भित्रिएका जितुले भोग्नुपरेको पीडालाई समेटेको छ।

फिल्ममा जितु र नितीसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारको अभिनय छ।

सबिन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ। राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको विजय बस्याल कार्यकारी निर्माता हुन्। यस फिल्मको हाइप राम्रै छ। फिल्मको गीतदेखि ट्रेलरसम्म युट्युबमा रुचाइएका छन्।

केही समयअघि जितु नेपाललाई छक्का पञ्जा टिमबाट हटाइएको थियो। त्यसयता जितु मुख्य भूमिकामा देखिएका छन्। यसकारण जितु र ‘छक्का पञ्जा ५’ जुध्नुलाई सिनेजगत्‌मा ठूलो प्रतिस्पर्धाका रूपमा लिइएको छ।

घटस्थापनाका दिनदेखि प्रदर्शनरत स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले आक्रामक व्यापार गरिरहेको छ। जसकारण यस फिल्मले आजदेखि रिलिज भएका फिल्मलाई टक्कर दिने निश्चित छ। यस्तोमा कुन फिल्मले बक्सअफिसमा बाजी मार्ला, त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad