यसवर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ।
बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो।
वरिष्ठ साहित्यकार प्रा. रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार २०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं २०४२ मा स्थापना भएको हो। ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष कुशे औंसीको दिन प्रदान गरिँदै छ।
‘युवावर्ष मोती पुरस्कार’ पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो। अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो।
पुरस्कार पाउने श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, बालनाटक, चलचित्र लेखन र निर्देशनमा सक्रिय छन्। उनका प्रकाशित पाँच बालपुस्तकमध्ये गुलियो स्याउ, आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन्। उहाँको लियो टल्सटायका अनुदित बालनाटकहरु पनि प्रकाशित छ।
श्रेष्ठ थिएटर मल नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका संस्थापक तथा कला निर्देशक हुन्। व्यवसायिक रङ्गमञ्चमा उपियाँको निवन्ध, करेसा कन्सर्ट, मान भर्सेस मति, बदरङ्ग, भोको घर, जामुनको रुख उहाँको रङ्गमञ्चीय पहिचान दिलाउने नाटकहरु हुन्।
साहित्यकार पारिजातको शिरीषको फूलमा आधारित नाटकको परिकल्पनाकार समेत उनी हुन्। थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता र निर्देशक पनि हुन्।
Shares
प्रतिक्रिया