चर्चित अनुहारहरू क्यामेराका अगाडि परेपछि प्रायः धेरैजसो चर्चाको केन्द्रमा पुग्छन्। कहिले उनीहरूको चर्चा शिखरमा पुग्छ त कहिले आलोचनाले मन भारी बनाउँछ।
यस्तै परेको छ, बलिउड अभिनेता शाहरुख खानलाई।
शाहरुख यतिबेला स्विट्जरल्याण्डमा छन्। विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा लाइभ अचिभमेन्ट अवार्ड ग्रहण गर्न उनी त्यहाँ पुगेका हुन्।
उनलाई आइतबार उक्त अवार्ड पनि ग्रहण गरिसके।
अवार्ड ग्रहण गरेको खुसीयाली साट्ने क्रममा गरेको गल्तीले भने उनी अहिले ‘ट्रोल’को सिकार बनेका छन्।
फिल्म फेस्टिभलमा तस्बिर खिचाउने क्रममा शाहरुखले एक वृद्धमाथि गरेको व्यवहारको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको हो।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा शाहरुखले एकजना वृद्ध उमेरका पुरुषलाई धकेलेको देखिन्छ।
तस्बिर खिचाउने क्रममा ती पुरुष उनी नजिक आइपुगेका हुन्छन्। तर, शाहरुख भने उनको पेटमा थोरै धक्का दिए पन्छाउन खोज्छन् र आफू एक्लै फोटो खिचाउँछन्।
शाहरुखले यस्तो किन गरे? भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।
किनकी शाहरुख बलिउड राम्रो व्यवहारको लागि चिनिन्छन्। फ्यान होस् वा आफूभन्दा पाका व्यक्ति, यसअघि सबैलाई आदर गर्ने उनको स्वभाव थियो।
उनको यही स्वभावको बारेमा बलिउडमा व्यापक चर्चा पनि हुन्थ्यो। आफूभन्दा ठूलालाई देख्ने बित्तिकै शिर निहुर्याएर शाहरुखले आदर गरेको भिडिओ यसअघि धेरै भाइरल बन्ने गर्थे।
तर, स्वीट्जरल्याण्डमा उनले जानेर वा अनजानमा गरे, त्यसले उनलाई विवादको घेरामा भने तानेको छ।
Shares
प्रतिक्रिया