ad ad

कला


अमेरिकाको शृंखलाबद्ध यात्रामा निस्किँदै ‘नेपथ्य’, यी ७ सहरमा दिनेछ सांगीतिक प्रस्तुति

अमेरिकाको शृंखलाबद्ध यात्रामा निस्किँदै ‘नेपथ्य’, यी ७ सहरमा दिनेछ सांगीतिक प्रस्तुति

नेपालखबर
साउन १३, २०८१ आइतबार ११:५९, काठमाडौँ

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकाको शृ‌ंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ।

नेपथ्य आफ्ना गीत सुनाउन छैटौँपटक अमेरिका जाने भएको हो।

ब्यान्डले यसपटक अमेरिकाका पूर्वी किनारदेखि पश्चिम किनारसम्म सातवटा फरक-फरक सहरमा सांगीतिक प्रस्तुति दिनेछ।

आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोली अगस्ट ३ तारिखका दिन अमेरिकी राज्य कोलोराडोको राजधानी डेनभर सहर पुग्नेछ। 

अग्ला पर्वत, नदी र जंगलले घेरिएको कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरूको बसोबास छ।

यस स्थानमा नेपथ्यले पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो।

डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्त्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ। 

यसपछि उसले अगस्ट १० मा अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा सांगीतिक कार्यक्रम गर्नेछ।

क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ।

तेस्रो प्रस्तुतिका निम्ति ब्यान्ड ओहायो राज्यको राजधानी कोलम्बस प्रस्थान गर्नेछ।

त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ। 

त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ।

उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो।

यसपालि ब्यान्डले ‘टोयोटा म्युजिक फ्याक्ट्री’मा आफूलाई उभ्याउँदै छ।

विशाल एवं भव्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकलाई अगस्ट २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ।

त्यसपछि भने ब्यान्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ।

अघिल्लापटक जस्तै न्युयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’मा आफ्ना धुन पस्कने छ। त्यहाँ अगस्ट ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ। 

न्युयोर्कमा प्रस्तुत भइसकेपछि ब्यान्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्यान्ड राज्य पुग्नेछ। त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल ‘द हल एट लाइभ’को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ। 

यसपछि नेपथ्य टोली अन्तिम कन्सर्टका निम्ति पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ। ब्यान्डका लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ। यस सहरको ‘द फोरम अडिटोरियम’मा सेप्टेम्बर ७ का दिन अमेरिकाको शृंखलाबद्ध यात्रा समापन गर्दै नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ। 

झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केस्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो।

नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डीसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो।

त्यसपछिका वर्षमा ब्यान्डले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ।

गत वर्ष मात्रै छेवैको क्यानडामा शृ‌खलाबद्ध सांगीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोरोना महामारीपछि यो पहिलो यात्रा गर्न लागेको हो। यसपालाको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ।

कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .