कला


गजल गायनमा गुञ्जिए सन्तोष

गजल गायनमा गुञ्जिए सन्तोष

नेपालखबर
जेठ २१, २०८१ सोमबार १४:५९, काठमाडौँ

मलाई नसोधी छुने यही झरी हो
सधैँ साथ मेरो हुने यही झरी हो।

गजलकार राधा कणेलका शब्दमा संगीतकार सन्तोष श्रेष्ठको धून र आवाज सर्वनाम थिएटरमा गुञ्जिँदा खचाखच हल ‘वाह! वाह!’ र तालीमय बनेको थियो।

आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो।

घनेन्द्र ओझाका यी शब्द गायक श्रेष्ठको मुखबाट झर्नेबित्तिकै बज्न थालेको ताली पाँचै शेर पूरा हुन्जेल बजिरहेकै थियो।

उपस्थित श्रोताहरू मुग्ध मात्र थिएनन्, मस्त पनि थिए गजल सुनेर। कोही भन्दै थिए, ‘साँच्चै गजलमै रमाउन पाइयो। यस्ता कार्यक्रम भइरहनुपर्छ’

शनिबार गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा सन्तोष श्रेष्ठले छवटा गजल गाए। आफ्नै सङ्गीत र स्वरमा गजलहरू प्रस्तुत गरेका सन्तोष अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताउँछन्। यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाले बताए।

कार्यक्रममा गजलकार ओझा र सङ्गीतकाररगायक श्रेष्ठको गजल एल्बम ‘शुभेच्छा’माथि चर्चासमेत गरिएको थियो। सङ्गीतकार राजु सिंहले ‘शुभेच्छा’ शास्त्रीय बहरमा लेखिएका गजलहरूको एल्बम भएको भन्दै नेपाली गजल गायनका चार पुस्ता ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र अस्मिता अधसकारीको स्वर समेटिएको बताए। नेपाली गजल गायनका क्षेत्रमा ‘शुभेच्छा’ ऐतिहासिक र उदाहरणीय एल्बम भएको उनको दाबी थियो।

गजलविज्ञ डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले ओझा र कणेलका सुन्दर गजलमा सङ्गीत र स्वरसहित प्रस्तुत गरेकामा श्रेष्ठको प्रशंसा गर्दै नेपाली गजल गायनलाई तीव्र बनाउन आग्रह गरे।

गजलकार बाबु त्रिपाठीले नेपाली गजलमा विवाद नभएको र कसैले गराइदिएको विवादलाई गजल स्रष्टाहरूले बुझिसकेका भन्दै गजल स्रष्टाहरू अब गजलका पक्षमा मात्र रहेका प्रस्ट पारे।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका गजलकार डा. भोजराज घिमिरेले नेपाली गजललेखन परिष्कारको बाटोमा हिँडिसकेको र अब गायनमा पनि परिष्कारसँगै तीव्रता र विस्तार जरुरी रहेको बताए। उनले चण्डीप्रसाद काफ्ले, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ जस्ता जुझारु र प्रतिबद्ध सङ्गीतकाररगायक नेपाली गजलले पाउनु खुसीको कुरा भएको सुनाए।

गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना र नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान, कलरक्राफ्टको सहकार्यमा यो कार्यक्रम गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad