ad ad

कला


किम्फमा हुम्ली गाउँको कथा ‘इन टु द हार्ट अफ माउन्टेन’

किम्फमा हुम्ली गाउँको कथा ‘इन टु द हार्ट अफ माउन्टेन’

नेपालखबर
जेठ १७, २०८१ बिहिबार ९:४३, काठमाडौँ

२१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पहिलो दिनको अन्त्यमा  वृत्तचित्र ‘इन टु द हार्ट अफ माउन्टेन’ प्रदर्शन गरिएको छ। 

एनेग्री बोसमोनको निर्देशनमा बनेको यो वृत्तचित्रले जेन बौद्ध धर्म अँगालेकी नेतृ रोशी जोन ह्यालिफक्सलाई केन्द्रमा राखेर उनीसँगै हुम्लाको विकट हिमाली भूभागको कथा भन्छ।

रोशी र उनका साथी वार्षिक रूपमा हुम्लाका केही उच्च भेगमा स्वास्थ्य सेवा प्रदान गर्न लामो यात्रामा निस्कन्छन्। राज्यको उपस्थिति कम भएको यो क्षेत्रका मानिस आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। जहाँ रोशी र उनको समूहले चार दशकदेखि स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

वृत्तचित्रमा १८ हजार फिटभन्दा अग्ला डाँडामा हप्तौँ यात्रा गरेर स्वास्थ्य सेवा प्रदान गर्ने समूहको संघर्षलाई प्रस्तुत गरेको छ। यस क्रममा हुम्लाको प्राकृतिक सौन्दर्य, त्यहाँका मानिसहरूका दिनचर्या, रहनसहन, संस्कृतिसँगै त्यस भेगका मानिसले सामना गर्नुपरेको जलवायु परिवर्तनका समस्याहरू पनि उजागर गर्छ।

यात्राका क्रममा मूलपात्र रोशी ४० वर्षअघि हुम्ला आउँदा हरियाली देखेको रानीखर्क, चालालगायत गाउँहरू आज कति पनि उस्तै नरहेको भन्छिन्।

स्थानीयहरू खडेरीका कारण पर्याप्त उब्जनी नभएको गुनासो गर्छन्। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम सँगै गाउँहरू क्रमश: मरुभूमि बन्दै गइरहेकोमा चिन्तित हुनुपर्ने उनी बताउँछिन्।

महोत्सवको पहिलो दिन इन टु द हार्ट अफ माउन्टेनअघि दुई छोटा नेपाली फिल्म ‘नेपाली फिक्सन’ र  ‘मोटी, दुब्ली, काली, गोरी’  प्रदर्शन भए। देवेन्द्र खत्रीको नेपाली फिक्सन आफ्नै गिरोहभित्रबाटै लुटिएको ड्रग माफियाको कथा हो। 

निर्वाना भण्डारी निर्देशित मोटी, दुब्ली, काली, गोरी शारीरिक वर्ण र बनावटलाई लिएर नेपाली समाजले निर्धारित गरेका सौन्दर्यको परिभाषालाई दिने वृत्तचित्र हो।

यसमा निर्देशक आफ्नै र अन्य महिला पात्रको अनुभवमा आधारित भोगाइलाई चित्रण गरिएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ २० सम्म चल्ने महोत्सवमा विविधताले भरिएका २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .