कला


जर्मनीमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १५:१७, काठमाडौँ

मिथिला चित्रकार रन्जु यादवले जर्मनीको फ्रयान्कफर्ट सहरमा एकल चित्रकला प्रदर्शनी गरेकी छन्।

आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन्। उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन् भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो। नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ। त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे।

राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरुलाई जोड्ने काम गरेको बताए।

नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए।

त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरु पस्किइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .