कला


‘महाजात्रा’ हेरेपछि बाबुराम भट्टराई: नेताले आत्मालोचना गर्न सक्नुपर्छ

‘महाजात्रा’ हेरेपछि बाबुराम भट्टराई: नेताले आत्मालोचना गर्न सक्नुपर्छ

नेपालखबर
चैत २१, २०८० बुधबार १२:२१, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ हेरेका छन्। मङ्गलवार बेलुकी ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरेपछि उनले महाजात्रालाई मनोरञ्जनात्मकसहित सन्देशमुलक बनेको बताए।

‘यो फिल्म मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ। देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ। तर, भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ। राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्। म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन। फिल्म हेरेर आनन्द आयो।’

उनले फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए। ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ। म यसलाई १० मा ८ नम्बर दिन्छु। ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममा मार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्म नेपालसँगै विदेशमा समेत उत्तिकै उत्साहजनक व्यापार गरिरहेको बताए। उनले फिल्मले १० दिनसम्म विश्वव्यापी १४ करोड ग्रस कमाएको बताए। उनका अनुसार नेपालको हिस्सा ८ करोड ८ लाख र डायस्पोरामा ५ करोड नेरु ग्रस रहेको छ।

पूर्व प्रधानमन्त्री भट्टराई अगाडि फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतकाले हेरिसकेका छन् ।

चैत ९ गतेदेखि प्रदर्शनरत यस फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत,  रविन्द्र झा, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ। बानियाँ कार्यकारी निर्माता रहेको फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .