प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ ले नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ। नेपालमा पहिलो साता ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित यस फिल्मले विश्वभर दश करोडको ग्रस कलेक्सन गरिसकेको छ।
दोस्रो सातामा पनि फिल्मलाई दर्शकहरुको साथ राम्रो छ। अष्ट्रेलिया, अमेरिकासहित फिल्मले मध्यपूर्वका देशमा पनि राम्रो व्यापार गरिरहेको छ।चैत १५ गतेदेखि यो फिल्म मध्यपूर्वका देशहरु मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म नियमित प्रदर्शन भइरहेको छ।
मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने जानकारी दिए। मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी जस्तै नियमित प्रदर्शन भइरहेको उनको भनाइ छ।
‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ। यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संवत पहिलोपटक भएको हो’, ठकुरीले भने,‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन्। हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउदै छ।’
उनले हालसम्म मध्यपूर्वमा ५ हजार र मलेसियामा १५ सय दर्शकले फिल्म हेरिसकेको समेत दाबी गरे।
‘यहाँ वर्षेनी धेरै फिल्म प्रदर्शनमा आउँछन्, तर दर्शकले रुचाएको फिल्म सिमित छन्। यही वर्ष पनि केही फिल्म प्रदर्शन त भए तर दर्शक आएनन्, सोही कारण महाजात्रा बारे पनि प्रदर्शक विश्वस्त थिएनन्। तर, अहिले हलमा दर्शकको उपस्थिति देखेपछि आउँदो समयमा नेपाली फिल्मलाई धेरै सजिलो हुन्छ’, वितरक ठकुरीले भने।
उनका अनुसार मलेसियामा अप्रिल ५ देखि, साउदी अरेबिया र कुवेतमा अप्रिल १८ सम्ममा प्रदर्शन हुनेछ। फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्वजस्तै अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ। साथै, अमेरिका र बेलायतमा पनि नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ।
प्रदीप भट्टराईको कथा रहेको फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ तेस्रो सिक्वेल हो।
Shares
प्रतिक्रिया