अभिनेत्री लक्ष्मी बर्देवा आमा बन्ने भएकी छन्। पाँचवर्षअघि कलाकार जीवन भट्टराईसँग अन्तर्जातिय बिहे गरेकी लक्ष्मीले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
हिजो दयारानीको प्रिमियर शोमा पुगेकी लक्ष्मीले आफू गर्भवती भएको जानकारी दिएकी हुन्। प्रिमियर शोमा लक्ष्मीले पछ्यौराले पेट छोपेकी थिइन्।
योजनाअनुसार नै आमा बन्न लागेको बताउँदै आफूलाई निकै खुसी लागिरहेको बर्देवाले सुनाइन्। लक्ष्मी प्रेग्नेन्ट भएको ६ महिना पूरा भइसकेको छ। आगामी वैशाखतिर उनी सन्तानलाई जन्म दिनेछिन्।
रंगमञ्चबाट करियर सुरु गरेकी लक्ष्मीले घामपानी, मिस्टर झोले, डम्बरुकफ डन्डिबियो, बुलबुल, कागजपत्र, सेल्फी किङलगायतका फिल्ममा काम गरिसकेकी छन्।
पछिल्लो समय अभिनयसँगै उनी निर्देशनमासमेत सक्रिय छिन्।
श्रीमान् भट्टराईसँग मिलेर आफ्नै प्रोडक्सन हाउस खोलेकी बर्देवा म्युजिक भिडिओ निर्देशन गर्छिन्।
रियल कपल लक्ष्मी र जीवनले थुप्रै म्युजिक भिडिओमा एकसाथ काम गरिसकेका छन्।
Shares
प्रतिक्रिया