कला


सन् २०२३: भारतीय फिल्म उद्योगलाई फापेको वर्ष

सन् २०२३: भारतीय फिल्म उद्योगलाई फापेको वर्ष

लक्ष्मी बलायर
पुस १४, २०८० शनिबार १२:२५, काठमाडौँ

हामी सन् २०२३ को अन्तिमतिर छौँ। फर्केर हेर्दा सन् २०२३ भारतीय फिल्म उद्योगलाई निकै फापेको देखिन्छ। किनकि सन् २०२३ मा प्रदर्शनमा आएका धेरै फिल्महरु ब्लकबस्टर सावित भए।

कोरोना महामारीको प्रभावबीच सन् २०२२ खासै बलिउड फिल्महरुको लागि सम्झनलायक वर्ष बन्न सकेन। त्यसवर्ष दक्षिण भारतीय फिल्म 'आरआरआर' र 'केजीएफ २' जस्ता फिल्मले भने राम्रै नोट छापे। तर, सन् २०२३ को सुरुवातसँगै कोरोनाले शिथिल बनाएको बलिउड उद्योग तंग्रिदै गयो।

सन् २०२३ को २५ जनवरीमा रिलिज भयो शाहरुख खान स्टारर बलिउड फिल्म 'पठान'। जुन फिल्ममार्फत शाहरुख धमाकेदार कमब्याक गर्न सफल भए। किनकि सन् २०१८ मा रिलिज भएको 'जिरो' पछि शाहरुख एकैपटक 'पठान'मा देखिए। पठान हिट भएसँगै शाहरुखले आफूलाई पुन: स्थापित मात्रै गराएनन्, बलिउडकै साख जोगाइदिए।

सिद्धार्थ आनन्द निर्देशित यस फिल्मले विश्वभर एक हजार करोड भारतीय रुपैयाँको व्यापार गर्न सफल भयो। त्यसैगरी, घरेलु बक्सअफिसमा ६५४ करोड भारु ग्रस कलेक्सन गरेको यो फिल्म सन् २०२३ मा धेरै कमाउने फिल्मको दोस्रो स्थानमा छ। 'पठान' मा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको अभिनय छ।

यत्तिमै रोकिएन शाहरुखको रफ्तार। किनकि सन् २०२३ मा रिलिज भएको शाहरुखको अर्को फिल्म 'जवान' पनि सुपरहिट भयो। ७ सेप्टेम्बरबाट प्रदर्शनमा आएको 'जवान' ले राम्रो कमाइ मात्रै गरेन, थुप्रै रेकर्ड कायम गर्न समेत सफल भयो। अझ हिन्दी फिल्मतर्फ त 'जवान' ले इतिहास नै रच्यो। किनकि यो हालसम्मकै सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म हो।

विश्वभर ११७८ करोड भारु कमाएको यो फिल्म सन् २०२३ कै सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म समेत हो। एटली कुमार निर्देशित 'जवान' धेरै कमाउने भारतीय फिल्मको भने पाँचौँ स्थानमा छ। जसकारण सन् २०२३ शाहरुखले धानेको वर्ष भन्न मिल्छ। शाहरुखका दुइटै हिट फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहेको छ। जसकारण उनका लागि पनि सन् २०२३ फलदायी रह्यो।

यसैवर्ष दुई सुपरहिट फिल्म दिइसकेका शाहरुख तेस्रो हिट फिल्मको लागि संघर्ष गरिरहेका छन्। २१ डिसेम्बरबाट शाहरुखको मुख्य भूमिका रहेको फिल्म 'डंकी' ले हालसम्म विश्वभर ३०८ करोड भारु कमाइसकेको छ। यो समेत शाहरुखका फिल्मले यस वर्ष २५ सय करोड भारु कमाएको छ।

शाहरुखका लागि मात्रै होइन, यो वर्ष सन्नी देओलका लागि पनि 'लक्की' वर्ष साबित भयो। सन् २००१ मा रिलिज भएको 'गदर' मा तारासिंह भूमिकामा देखिएका सन्नीले दर्शकको मन जिते। त्यसको २२ वर्षपछि ११ अगस्टबाट 'गदर' को सिक्वेल सिनेमाहलमा लाग्यो। व्यावसायिक हिसाबले 'गदर २' हिट भएसँगै सन्नी पुन: चम्किए। यो फिल्म सन् २०२३ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा चौथो नम्बरमा छ। विश्वभर 'गदर २' ले ६९१.०८ करोड भारु कमाएको छ।

शाहरुख र सन्नीसहित रणवीर कपुर पनि यसवर्ष मालामाल भए। गतवर्ष रणवीरको 'ब्रह्मास्त्र' ४२९ करोड भारु कमाउँदै सन् २०२२ कै सबैभन्दा बढी कलेक्सन गर्ने हिन्दी फिल्म बनेको थियो। यसवर्ष पनि रणवीर बक्सअफिसमा आफ्नो प्रभुत्त्व जमाउन सफल भए। एनिमलमार्फत रणवीर सुपरस्टारको ट्याग पाउन सफल भए। यसैवर्ष मार्चमा रिलिज भएको रणवीरको 'तू झुठी मै मक्कार' हिट भएको थियो।

रणवीरसहित रश्मिका मन्दानाको मुख्य भूमिका रहेको यस फिल्मले हालसम्म ८८१ करोड भारु कमाइसकेको छ। घरेलु बक्सअफिसमा ५५० करोड भारु व्यापार गरिसकेको छ। यो फिल्म सन् २०२३ कै सबैभन्दा बढी कमाउने तेस्रो फिल्म समेत हो। साथै हालसम्मकै धेरै कमाउने एडल्ट फिल्म पनि हो। साथै यस फिल्मबाट बबी देओल, तृप्ति डिमरी पनि चर्चामा आए।

तीन बलिउड अभिनेताका फिल्मले आक्रामक कमाइ गरे पनि सलमान खान र अक्षय कुमारका लागि यो वर्ष औसत रह्यो। यसवर्ष सलमान खान अभिनित फिल्म 'किसी का भाइ किसी की जान' र 'टाइगर ३' रिलिज भए। जसमध्ये 'किसी का भाइ किसी की जान' ले विश्वभर १९२ करोड कलेक्सन गरेको थियो। दिवालीको बेला रिलिज भएको सलमानसहित कैटरिना कैफ स्टारर 'टाइगर ३' ले भने विश्वभर ४६६ करोड भारु कमाएको छ।

सन् २०२२ मा अक्षयकुमारका बच्चन पाण्डे, सम्राट पृथ्वीराज र रामसेतुजस्ता फिल्म रिलिज भए। तर, सबै फिल्म बक्सअफिममा नराम्ररी पछारिए। सन् २०२३ मा पनि अक्षयकुमारका तीनवटा फिल्म प्रदर्शन भएका थिए। दुई फिल्म 'सेल्फी' र 'मिसन रानीगञ्ज' बक्सअफिसमा फ्लप हुँदा ए सर्टिफिकेट पाएको फिल्म 'ओएमजी २' बाट अक्षयले सफलताको स्वाद चाखे। 'ओएमीजी २' ले विश्वभर २२१ करोड भारु कलेक्सन गरेको छ।

यसवर्ष कम बजेटमा बनेका फिल्महरुले पनि राम्रो नाफा कमाए। ३० करोडमा बनेको 'द केरला स्टोरी' ले ३०३ करोड भारु कलेक्सन गर्‍यो। जसको खुद नाफा मात्रै २७० करोड भारु हुन्छ। त्यस्तै, विधुविनोद चोपडा निर्देशित '१२ वीं फेल' ले पनि अप्रत्याशित कमाइ गर्न सफल भयो। समीक्षात्मक हिसाबले उत्कृष्ट प्रतिक्रिया पाएको यस फिल्मले विश्वभर ६४ करोड भारु कमाएको छ।

लामो समयपछि यसवर्ष करण जोहरले पारिवारिक कथावस्तुमाथि फिल्म 'रकी और रानीकी प्रेम कहानी' बनाए। रणवीर सिंह र आलिया भट्टको मुख्य भूमिका रहेको यस फिल्मले भारतमा राम्रै व्यापार गर्‍यो। विश्वभर भने फिल्मले ३५५ करोड भारु कमाएको थियो। त्यसैगरी, विक्की कौशल अभिनित बलिउड फिल्म 'जरा हटके जरा बचके' र 'साम बहादुर' ले पनि १०० करोड भारुको आँकडा पार गर्न सफल भए। 'शाहजादा' फ्लप भए पनि कार्तिक आर्यनको 'सत्य प्रेम की कथा' ले राम्रै प्रदर्शन गरेको थियो। आर्यनसहित कायरा आडवाणी अभिनित यस फिल्मले ११७.७७ करोड भारु कलेक्सन गरेको थियो।

दक्षिण भारतीय फिल्मले पनि सन् २०२३ मा दबदबा कायम राखे। थलापति विजयको फिल्म 'लियो' यसको शीर्षमा छ। लोकेश कनागराज निर्देशित यस फिल्मले विश्वभर ६१८ करोड भारु कलेक्सन गरेको छ। जुन सन् २०२३ कै सबैभन्दा धेरै कमाउने पाँचौँ फिल्म हो।

यसवर्ष हिट फिल्म दिने अभिनेतामा रजनीकान्तको नाम पनि आउँछ। साउथ स्टार रजनीकान्तको फिल्म 'जेलर' ९ अगस्टबाट प्रदर्शनमा आएको थियो। 'गदर २' रिलिज हुनु एक दिनअघि रिलिज भएको 'जेलर' ले दर्शकको उत्साहजनक साथ पायो। जेलरले विश्वभर ६०५ करोड भारुको व्यापार गरेको थियो। त्यसैगरि, 'पोन्नियन सेल्वन: पार्ट २', 'वारिसु', 'थुनिवु', 'वाथी' र 'दसारा' धेरै कमाउने साउथ फिल्मको सूचीमा पर्छन्।

यो वर्ष बाहुबली फेम्ड प्रभासका दुई फिल्म प्रदर्शनमा आए। रिलिजअगावै विवादले घेरिएको 'आदिपुरुष' ले सुखद व्यापार गर्न सकेन्। ७०० करोड बजेटमा बनेको फिल्मले लगानी समेत उठाउन सकेन। जसकारण प्रभासका लागि २०२३ को सुरुवात खासै राम्रो हुन सकेन।

प्रभासका लागि सुरुवात सुखद नभए पनि अन्त्य भने गजब भएको छ। २२ डिसेम्बरबाट प्रदर्शन भएको 'सलार' ले आक्रामक व्यापार गरेसँगै प्रभासले धेरै वर्षपछि हिट फिल्म दिन सके। प्रभासको पछिल्लो हिट फिल्म सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ थियो। त्यसपछि रिलिज भएका कुनै पनि फिल्मले बक्सअफिस तताउन सकेनन्।

पहिलो दिन नै विश्वभरबाट १७८.७० करोड भारु कमाएको 'सलार' सन् २०२३ कै सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म हो। 'केजीएफ' फेम्ड प्रशान्त नील निर्देशक रहेको यस फिल्मले एक सातामा ५०० करोड बढी कलेक्सन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .