अभिनेत्री सुरक्षा पन्तले ओटीटी प्लेटफर्ममा डेब्यू गर्ने भएकी छन्। सुरक्षाको मुख्य भूमिकामा नेपाली वेव सिरिज ‘खेल’ को आज शुभमुहूर्त गरिएको हो।
बलिउडका दर्जन बढी चलचित्रमा सह निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने वेव सिरिजमा पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ।
यस सिरिजको काठमाडौँभित्र करिब एक महिना छायाङ्कन हुनेछ। निर्देशक प्रधानले एक सय वर्ष अगाडिको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन गर्ने दाबी गरे।
विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’ को प्राविधिक मूल्याङ्कनमा आधारित रहेर बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुनेछ। पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा समेटिनेछ।
प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए। नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोही अनुरूप सिरिजमा काम गरिरहेको बताए। यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको बताए।
अभिनेत्री पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन्। उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।
आफ्नो भूमिकाबारे बताउँदै सुरक्षा भन्छिन्, ‘अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेलको कथा हो। चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु। कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ।’
सिरुपाते कट्स प्रालिबाट बन्ने सिरिजमा आशिषराम महर्जन र लेविसराज महर्जन निर्माताका रुपमा रहेका छन्। आशिषकै कथा रहेको सिरिजको पटकथा निर्देशक प्रधानले लेखेका हुन्। यस सिरिजलाई रोशन राईले खिच्नेछन्।
Shares

प्रतिक्रिया