दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कनको टुंगो लागेको छ। यसअघि यो फिल्म मंसीर २५ गतेबाट फ्लोरमा जाने भनिएको थियो। तर, भनिएको समयमा सुटिङ सुरु नहुँदा फिल्म नबन्ने समेतको हल्ला चलेको थियो।
हल्लाबीच यस फिल्मका निर्माता रोहित अधिकारीले फिल्मको छायाङ्कन डेटबारे टुंगो लगाएका हुन्। अधिकारीले फेसबुकमार्फत चैतदेखि फिल्मको सुटिङ सुरु गर्ने उल्लेख गरेका छन्।
‘अत्याधिक चिसो र तराईमा हुस्सु लाग्ने हुँदा फिल्म वरिष्ठ बलराम तराईमै खिच्नु पर्ने भएको हुनाले सुटिङ केही पर सरेको छ। अब यो फिल्म चैतदेखि सुटिङमा जाने निश्चित भएको छ,’ उनले फेसबुकमा लेखेका छन्।
हाल रोहितको लगानी रहेको अर्को फिल्म ‘फर्की फर्की’ को छायाङ्कन भइरहेको छ।
‘वरिष्ठ बलराम’ मा दयाहाङका साथै खगेन्द्र लामिछाने र दिव्या रायमाझीको मुख्य भूमिका रहने छ। कलाकार दिलिप रायमाझीकी छोरी दिव्याले यसै फिल्ममार्फत डेब्यू गर्न लागेकी हुन्।
खगेन्द्र लामिछानेको कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गर्नेछन्। अधिकारीसहित ओमप्रकाश अग्रवालको फिल्ममा लगानी रहेको छ। निर्माण टिमले छायाङ्कनमा नजाँदै आगामी वर्षको हरितालिका तीजको लागि रिलिज डेट फिक्स गरिसकेको छ।
Shares
प्रतिक्रिया