ad ad

कला


१९७४ एडीको कन्सर्टमा झुमे अस्ट्रेलियन राजदूतसहितका दर्शक

१९७४ एडीको कन्सर्टमा झुमे अस्ट्रेलियन राजदूतसहितका दर्शक

नेपालखबर
पुस २, २०८० सोमबार १८:३६, काठमाडौँ

पोखराको पारासिडो बारमा अन्तिम प्रस्तुति दिएसँगै चर्चित ब्यान्ड १९७४ एडीको सन् २०२३ को पूर्वनिर्धारित मिनी टुर सकिएको छ। 

आठ सयभन्दा धेरै दर्शकहरू माझमा ब्यान्डले ब्यान्डले ‘छुँदैन’, ‘हिँड्दा हिँड्दै’, ‘पिँजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीत सुनाएको थियो।

उक्त ब्यान्डले गीत गाउँदै गर्दा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पनि दर्शकदीर्घामा उपस्थित थिइन्। 

फेलिसिटीले सामाजिक सञ्जालमार्फत आफू १९७४ एडी ब्यान्डको फ्यान भएको बताउने गरेकी छन्। 

अक्सर ढिलो सुरुवात हुने लेकसाइडको लाइभ म्युजिक ट्रेन्डमा प्रिय ब्यान्डको प्रस्तुतिका क्रममा ‘अब तपाईंहरूको पालो’ भन्दै भोकलिस्ट तथा ड्रमर एड्रियन प्रधानले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन
दिलाएका थिए। 

फिरोज स्याङ्देनको स्वरमा ‘तिमीलाई पिरतीले बाँधौला’ गीतबाट सुरु भएको कन्सर्ट एक दर्जनभन्दा धेरै गीतपछि एड्रियन प्रधानको स्वरमा ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर टुङ्गिएको थियो।

यो प्रस्तुति सन् २०२३ लाई मैझारो गर्नेगरि घोषणा गरिएको मिनी टुरको अन्तिम कन्सर्ट भएको ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताए। 

टुरमा यसभन्दा अगाडि ब्यान्डले भारत दार्जिलिङको खर्साङ, युएई को दुबई र अबुधावीमा प्रस्तुति दिएर फर्किसकेको छ। 

टुरको समापनबारे बोल्दै उनले थपे, ‘यो टुरमा मात्र हैन वर्षभरी नै देश तथा विदेशमा भएका सबै टुरहरू आयोजना गर्ने आयोजक, सहभागी हुने फ्यान तथा सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ।’

ब्यान्ड सन् २०२४ मा स्थापनाको ३० औँ वर्षमा प्रवेश गर्दैछ। सन् १९९४ मा ललितपुरको झम्सिखेलबाट सुरु भएको ब्यान्डका नौवटा एल्बमका दर्जनौँ गीत चर्चित छन्। 

पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट भारतबाट थालेको ब्यान्डले एसिया,  युरोप, उत्तर अमेरिका र अस्ट्रेलिया महादेशका दर्जनौँ देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको छ। 

‘हाम्रो आजसम्मको सबै खाले यात्राको उत्सव हुनेगरि ३० औँ वर्षगाँठ मनाउने तयारीमा छौँ। त्यस क्रममा देश र विदेशमा निरन्तर कार्यक्रमको तयारी भइरहेको छ। आशा छ, हामीलाई दर्शकहरूले पहिला जस्तै माया गर्नुहुनेछ’, ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बाले भने।

यात्रामय सन् २०२३ ब्यान्डले सन् २०२३ मा एक दर्जनबढि कन्सर्टहरू गरेको छ। 

ब्यान्डका तीन जना सदस्यहरू भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान, र बाँसुरीबादक मनोज सिंह अमेरिकामा भए पनि कन्सर्टहरूको समय मिलाएर ब्यान्डले अस्ट्रेलिया र न्युजिल्याण्डमा पनि टुर गरेको छ।

 यस्तै १९ वर्षपछि दार्जिलिङस्थित खर्साङमा पनि बजाएको छ। पहिलोपल्ट झापास्थित झिलझिलेमा पनि ब्यान्डले बजाएको छ। 

समग्रमा सन् २०२३ उपलब्धिमूलक भएको बताउँदै याकथुङ्बाले सन् २०२४ लाई अझै प्रभावकारी बनाउन मद्दत गरेको पनि बताए। 

ब्यान्डले सन् २०२४ को सुरुवातमा नै रिलिज हुने गरी एउटा विशेष कोसेली तयार पारिरहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .