कला


अमेरिका पुगेर आमा

अमेरिका पुगेर आमा

नेपालखबर
मंसिर २४, २०८० आइतबार २०:३६, काठमाडौँ

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा अहिले चर्चामा छिन्। सन्तान जन्माउने योजनासहित रेखा अमेरिका पुगिसकेकी छिन्। सात महिनाकी गर्भवती रेखाका साथमा गएका छन् श्रीमान् बलराम शाही पनि।

रेखा अमेरिका उडेको खबरसँगै यतिखेर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। राष्ट्रवादका कुरा गर्ने नेतृ अमेरिकामा बच्चा जन्माउन लागेको भन्दै उनको आलोचना भइरहेको छ। यसअघिको चुनावमा रेखा प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन्।

हुन त रेखाले आफ्नो परिवार उतै भएकाले अमेरिकामा बच्चा जन्माउन लागेको बताइसकेकी छिन्। तर, धेरैले उतैको नागरिक बनाउन अमेरिकामा पुगेर सन्तानलाई जन्म दिन लागेको आरोप लगाइरहेका छन्।

अमेरिकामा जन्मिएको व्यक्ति त्यहाँको नागरिक हुने व्यवस्था छ। त्यसैले पनि अमेरिका पुगेर बच्चा जन्माउने प्रचलन बढेको हुनसक्छ।

नेपाली सिनेक्षेत्रमा विदेश गएर बच्चा जन्माउन लागेको पनि यो पहिलो घटना होइन। यसअघि पनि केही अभिनेत्री र गायिकाले अमेरिकामा गएर बच्चालाई जन्म दिइसकेका छन्। कोही नेपाल फर्केका छन् भने कोही अमेरिकामै बसिरहेका छन्।

यसअघि अभिनेत्री निशा अधिकारीले पनि अमेरिका सन्तान जन्माएकी थिइन्। २०७४ को असारमा क्रिकेटर शरद भेषावकरसँग बिहे गरेकी उनी आमा बन्ने भएपछि अमेरिकाका उडेकी थिइन्। पाँच वर्षअघि अमेरिकामा छोरो यूभानलाई जन्म दिएकी निशा नेपाल फर्किसकेकी छिन्। प्रेमविवाह गरेकी निशाको श्रीमान् शरदसँग डिभोर्स समेत भइसकेको छ।

‘पर्खी बसेँ’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री युना उप्रेतीले पनि अमेरिकामै सन्तान जन्माएकी थिइन्। अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिहे गरेसँगै उनी नेपाली सिनेक्षेत्रबाट टाढा भइन्। र, अमेरिकानै उडिन्। पाँच वर्षअघि छोरीलाई जन्म दिएकी युना हाल अमेरिकामै बस्दै आएकी छिन्।

गायिका निशा सुनारले पनि आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिएकी हुन्। नेपाली संगीत क्षेत्रका चर्चित मोडल तथा निर्देशक शंकर बिसीसँग बिहे गरेपछि निशा बच्चा जन्माउन अमेरिका पुगेकी थिइन्। पहिलो सन्तानको रुपमा छोरी पाएकी निशा हाल अमेरिकामै बसेकी छन्। शंकर भने श्रीमती र छोरीलाई भेट्न बेलाबेला अमेरिका पुग्छन्। हाल शंकर पनि अमेरिकामै छन्।

चर्चित अभिनेत्री जल शाहले पनि अमेरिकामा सन्तानलाई जन्म दिएकी थिइन्। ठूलदाइ, ‘बुहारी, आशीर्वाद, नेपाली बाबु, शंकर लगायतका हिट फिल्म दिइसकेकी उनले एनआरएन शरदकुमार रिमालसँग लगनगाँठो कसिन्। त्यसपछि जल अभिनय छाडेर अमेरिका उडेकी थिइन्। जहाँ उनले पहिलो सन्तानको रुपमा छोरी कलशलाई जन्म दिएकी थिइन्। उनकी छोरी कलश हाल १७ वर्षकी भइसकेकी छिन्। अमेरिकामै घर भएकी जल बेलाबेला नेपाल आउने गर्छिन्।

वि.सं २०६६ मंसिरमा अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे वैवाहिक बन्धनमा बाँधिए। बिहेपछि ऋचाले ‘ब्रेकफेल’ र ‘तुलसी’ अभिनयसँगै लगानी समेत गरिन्। तर, ब्रेकफेल फ्लप हुँदा तुलसी नेपालमा प्रदर्शन हुन सकेन। त्यसपछि उनी श्रीमान् र छोरासहित क्यानडा हुँदै अमेरिका पसिन्। ऋचाले अमेरिकामा एक छोरा र एक छोरीलाई जन्म दिइन्। हाल ऋचा र शंकर तीन सन्तानका साथमा अमेरिकामै बसिरहेका छन्।

त्यसैगरी अभिनेत्री सांरगा श्रेष्ठले पनि अमेरिकामै बच्चालाई जन्म दिएकी थिइन्। ‘सुनचाँदी’, ‘अग्निपरीक्षा’, ‘सिन्दुर पोते’, ‘यो मायाको संसार’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी अब्बल डान्सर समेत हुन्।

‘ए संगीता’ र ‘लौ लौ आयो लिलीलाई देखेर’ गीतमा कम्मर मर्काइसकेकी सांरगा राम्रो अवसरको खोजीमा अमेरिका पुगिन्। त्यतै घरजम गरेकी सांरगाले अमेरिकामा १० वर्षअघि छोरी जन्माएकी थिइन्। बेलाबखत नेपाल आउने उनी अमेरिकामा नै बसोबास गर्दै आएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad