‘वडा नम्बर ६’ को सिक्वेल बन्ने भएको छ। चलचित्रको दोस्रो शृङ्खला बन्नेबारे अभिनेता दीपकराज गिरीले जानकारी दिए।
अभिनेता गिरीका अनुसार यस चलिचत्रलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।
‘हामीले वडा नम्बर ६ को सिक्वेल बनाउने तयारी सुरु गरिसकेका छौँ। अहिले मैले स्क्रिप्ट लेखिरहेको छु। यो चलचित्र पारिवारिक कथावस्तुमा आधारित हुनेछ। चलचित्रलाई दीपाजीले निर्देशन गर्ने पक्का भएको छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकसहित केदार घिमिरेको भूमिका रहनेछ। चलचित्र अर्को वर्ष दसैँमा रिलिज हुने उनको भनाइ छ।
उज्ज्वल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ २०७२ सालमा रिलिज भएको थियो। यस चलचित्रमा दीपकसहित केदार घिमिरे, दयाहाङ राई, सीताराम कट्टेल, जितु नेपाल, प्रियंका कार्कीलगायतको अभिनय थियो।
त्यतिबेला चलचित्रलाई दर्शकले निकै रुचाएका थिए।
Shares

प्रतिक्रिया