कला


मिटरब्याजले थलिएका इमान्दार शिक्षकको कथा बोल्ने ‘कौसीद’

मिटरब्याजले थलिएका इमान्दार शिक्षकको कथा बोल्ने ‘कौसीद’

नेपालखबर
असोज ३०, २०८० मंगलबार ७:२३, काठमाडौँ

केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे। 

अब यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिने भएको छ। यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।
 
संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो। 

मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किएका निर्देशक भाष्करले सिङ्गो नेपालको समास्यालाई चलचित्रको विषय बनाएका छन्। केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक भाष्करको यो ठूलो पर्दाको पहिलो फिल्म हो।

‘मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ । छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो । तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ’, निर्देशक भाष्करले भने, ‘यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ । अहिले यो समस्या सबैको आँखामा परेको छ । हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ।’

चलचित्रले एक शिक्षकको कथा व्यक्त गरेको छ । इमान्दार शिक्षकको भूमिकामा भोलाराज सापकोटा छन्। उनकी श्रीमतीको भूमिकामा ऋचा शर्मा छिन्। उनीहरुका एक छोरा र एक छोरी छन्। 

छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भए पनि घर बनाउन सफल हुन्छन् । श्रीमती, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैंकमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन्।
 
यद्यपि विद्यालयको तलबले घरघर्च टार्न नै धौधौ हुन्छ । इमान्दार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन्। 

यद्यपि बैंकको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ । त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन्? भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ। 

‘यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ । यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ’, अभिनेता सापकोटाले भने।

चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad