बलिउड अभिनेता सनी देओल आफ्नो फिल्म गदर २ को कमाइका कारण चर्चामा छन्। यो फिल्मले ३ सय करोडको आकडा पार गरेको छ।
यसैबीच सनी देओल अर्को एउटा समाचारका कारण पनि चर्चामा छन्। बैंक अफ बडोदाले मुम्बईमा रहेको उनको जुहू बंगलाको लिलामी गर्ने तयारी गरिरहेको छ, यसको मिति पनि तय भएको छ।
अर्कोतर्फ, सनी देओलका प्रतिनिधिले यो समस्याको समाधान खोज्ने प्रयास गरिरहेको र समाधान निकालिने बताएका छन्।
रिपोर्टका अनुसार सनी देओलले बैंकबाट ऋण लिएका थिए । त्यसको असुलीका लागि बैंकले आफ्नो सम्पत्ति लिलामीका लागि राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन दिएको छ। सनी देओलको बैंकको करिब ५६ करोड ऋण छ।
अखबारको विज्ञापनमा सनी देओलको नाम अजय सिंह देओल राखिएको छ र उनको बंगला सन्नी भिल्ला र ऋणको विवरण दिइएको छ। उनका भाइ बबी देओल (विजय सिंह देओल) र बुबा धर्मेन्द्र ऋण लिन ग्यारेन्टर बनेका छन्। सनी देओलको कम्पनी सनी सुपर साउन्ड लिमिटेड उनको ऋणको कर्पोरेट ग्यारेन्टी हो।
सनी देओलको बंगला 'सनी भिल्ला' गान्धीग्राम रोड, जुहूमा छ। बंगलाको जग्गा ५९९.४४ वर्ग मिटर छ। यस बंगलाको लिलामी सेप्टेम्बर २५ मा हुनेछ र सम्पत्तिको आरक्षित मूल्य ५१.४३ करोड राखिएको छ।
ऋणी (सनी देओल) ले लिलामीको दिन अगावै बक्यौता रकम बुझाएर सम्पत्ति रिडिम गर्न सक्ने पनि विज्ञापनमा लेखिएको छ।
सनी देओलका प्रतिनिधिले यस विषयमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी मुद्दा सुल्झाउने प्रक्रियामा छौं र समस्या समाधान हुनेछ। हामी तपाईंलाई अनुमान नगर्न अनुरोध गर्दछौं।’
Shares
प्रतिक्रिया