ad ad

कला


प्रशंसकलाई एलिना चौहानको खुलापत्र– मर्न हजुरको मायाले दिनेछैन

प्रशंसकलाई एलिना चौहानको खुलापत्र– मर्न हजुरको मायाले दिनेछैन

गायिका एलिना चौहान


नेपालखबर
साउन १८, २०८० बिहिबार २०:३२, काठमाडौँ

हालै दिएको एक अन्तर्वार्ताका कारण प्रशंसकले चिन्ता प्रकट गरेपछि गायिका एलिना चौहानले स्पष्टीकरण दिएकी छन्।

गत साता युट्युबलाई दिएको अन्तवार्तामा उनले गायन क्षेत्रमा आउन गरेको संघर्षका क्रममा आत्महत्याको प्रसंग निकालेपछि प्रशंसकले उनलाई त्यसरी हरेस नखान सुझाव दिइरहेका छन्। 

यसै कारण गायिका चौहानले सामाजिक सञ्जालमा लामो पत्र लेख्दै उनले त्यो विगतको कुरा भएको र आज आफू बलियो भइसकेको बताएकी हुन्।  

‘मैले विगतका कुरा गर्दा कमजोर भइछे भनेर नसम्झिनुहोला। अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ, हजुरहरूको साथ देखेर। आत्महत्याको कुरा गर्दैगर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतीत थिए। आज सुखैसुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःख पनि छैन।’ 

उनले अगाडि लेखेकी छन्, ‘म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन। भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच सैतानी दिमागमा भरिनु स्वाभाविक हो, तर मैले हार खाएको छुइनँ।’

यस्तो छ एलिनाले लेखेको पूरा पत्र

सबैमा नमस्कार,

आज हजुरहरूले मप्रति दर्शाउनुभएको माया देखेर न नतमस्तक भएकी छु। मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नुभएको छ। हुन त हजुरहरूबाट मैले यो आशा पनि गरेकी छु किनकि मैले चढिरहेको उचाइको मूल तत्त्व हजुर मेरो शुभचिन्तक नै हुनुहुन्छ। 

अन्तर्वार्तामा मैले जीवनको धेरै कालखण्डको कुरा गरेँ, जहाँ मेरो त्यो सुरुआती बेलाको मेहनतको तीतो भोगाइ र अहिलेको उचाइको व्यवस्थापनसम्मको कुरा थियो। सफलता अधिकांश मान्छेलाई बिनापरिश्रम आउने कुरा होइन। कतिले मैले भन्दा अझै बढी परिश्रम पनि गरेका होलान् त केहीले थोरै। कमलो मनको मान्छे म कुराकानी गर्दै गर्दा मेरा आँखाबाट आँसु झरेछन्। म भावुक बन्न पुगेछु। हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसै न कसैका लागि प्रेरणा बनोस् भनेर सबैलाई देखाउने बानी छ।

साधारण छ जीवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरेँ र जति अगाडि बढ्दै गएँ, त्यति नै मुस्किल बन्दै गयो लक्ष्य भेट्न। अनि त्यति नै धेरै मेहनत गर्नुपर्‍यो। हुन त म कलाकार हुँ, सबैको मन बुझाउन सकेँ भने सबैले मन पराउनेछन् यहाँ। तर मेरो पनि व्यक्तिगत जीवन छ। कुनै बेला त्यो मेरो व्यावसायिक जीवनमा नचाहँदा नचाहँदै पनि व्यक्तिगत जीवनमा असर पर्न जान्छ। जतिबेला म सानो सपना बोकेर देशको राजधानी छिरेँ, त्यतिबेलाको मभित्रको मभन्दा कैयौँ गुणा ममा आत्मविश्वास र हिम्मत पलाएको छ। 

मेरो सपनाको सहरमा पाइला टेक्दै गर्दा सबै बिरानो थिए। तर आज यहाँ मैले सबैलाई नचिने पनि अधिकांशले मलाई चिन्नुहुन्छ। वर्तमान अवस्थाभन्दा त्यो समय मलाई धेरै नै कठिन थियो। आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरै नै हुनुहुन्छ।

म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन। भोगेको दुःखले कुनै न कुनै समयमा जीवनको अर्थ नबुझ्दा त्यो सोच सैतानी दिमागमा भरिनु स्वाभाविक हो तर मैले हार खाएको छुइनँ।

मैले विगतका कुरा गर्दा कमजोर भइछे भनेर नसम्झिनुहोला। अझै धेरै कुरा गर्न ऊर्जा भरिएको छ, हजुरहरूको साथ देखेर। आत्महत्याको कुरा गर्दै गर्दा ती मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नुभयो तर ती सबै मेरा अतीत थिए। आज सुखैसुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःख पनि छैन। कलाकारको जीवन सोचेझैँ गर्ने गरीको हुन्न तर सबैले त्यस्तै देखाउँछन्। 

मैले जे थियो यथार्थ त्यो देखाएकी हुँ। सबैभन्दा पहिला त म मानव हुँ र आँसु, रिस, खुसी, दुःख, चिन्ता, सोच यी सबै मेरा मानवीय गुण हुन्, यिनलाई मैले बिर्सन सकिनँ। यसलाई लिएर कसैले पनि चित्त नदुखाउनु होला। मैले गरेका कुराहरू कसैलाई प्रहार गर्न होइन, कसैप्रति रिस राखेर पनि होइन, कसैसँग दुस्भाव रचेर होइन र कसैलाई नराम्रो देखाउन त झन हुँदै होइन। 

यो नितान्त मेरो भोगाइको पाटो थियो, जसलाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकले पहिले नै आफूभित्र यी कुराहरू विकास गरेर आउनुपर्नेछ। यसलाई लिएर कसैको चित्तदुखाइ छ भने म अन्तरआत्माबाट माफी चाहन्छु। म आफैँ कमजोर बनेको होइन, समयले मलाई कमजोर बनाउन खोज्यो तर त्यो अवस्थाले हार खाइसकेको छ। म आज एक्लै निडर भएको छु।

फेरि पनि मबाट केही त्रुटि भएमा माफी चाहन्छु। सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जीवनमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .