ad ad

कला


जापानका तीन सहरमा गुञ्जिँदै नेपथ्य

जापानका तीन सहरमा गुञ्जिँदै नेपथ्य

नेपालखबर
साउन १५, २०८० सोमबार १६:११, काठमाडौँ

श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ। 

यस पटक राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्ट पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ।

नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ। 

त्यसैगरि ब्याण्डले अगस्ट १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो। 

अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैंमा नेपथ्यका लागि कोशेढुंगा थियो।

‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवम् मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मिठा यादहरुमध्ये केही बर्ष अघि टोक्यो डोममा हामीले पाएको भब्य माया को अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ।’

आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दैआएको अमृत सुनाउँछन्।

लामो समयदेखि नेपाली तन्नेरीहरुका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तब्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ। 

यसरी आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरुले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरुलाई मन पराउँदै आएका छन्।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउनेगरि झण्डै १५ मिनेट लामो भिडिओ रिपोर्टसमेत प्रस्तुत गरेको थियो। 

कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो। 

त्यो यात्रालाई नेपथ्यले भूकम्पपीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्यान्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य जापान शृंखला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ।

आफूहरुले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी सहरमा श्रृंखलावद्ध कन्सर्ट आयोजना गर्न लागेको यो पहिलोपटक भएको नेपालयले बताएको छ। 

‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरुको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने छ जना कलाकारका अलावा थप आठ सदस्यसहितको हाम्रो ठूलो टोली जापान पुग्दैछ।’

सधैँझैं जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .