ad ad

राजनीति


माओवादी बैठकमा वर्षमानको प्रस्ताव : सुन तस्करीको छानबिन गर्न संसदीय समिति बनाऔँ

दोषी देखिए जेल जान तयार रहेको स्पष्टीकरण
माओवादी बैठकमा वर्षमानको प्रस्ताव : सुन तस्करीको छानबिन गर्न संसदीय समिति बनाऔँ

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८० सोमबार १२:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकमा बोल्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने गरी आफ्नो नाम सुन तस्करीमा मुछिएका दावासँग जोड्ने प्रयास भएको पुनले जिकिर गरे।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग बिहे गरेपछि आफूसँग चिनजान गराउन दावलाई एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए।

‘दावा पक्राउ परेपछि ८ वर्षपहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’ 

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको पनि उनले स्मरण गराए।पुनले सुन तस्करीमा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिन माग गरे।

उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको पनि बताए।

त्यसका लागि नाम जोडिएका अरु नेता पनि तयार हुनुपर्ने उनले बताए। त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली र संसदीय समिति वा विशेष समिति बनाउन पुनले माग गरेका छन्। 

‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेता, हाम्रा आफन्त  वा जस-जसको अपराधमा संलग्नता देखिन्छ, उसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’

पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने पनि बताएका छन्। 

‘तस्कर र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिनु हुँदैन, त्यसमा म नै किन नहोऊँ।’

पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए। 

पुनपछि बोलेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .