ad ad

कला


करोड क्लबका संगीतकार दीपक शर्मा (भिडिओ)


राधिका अधिकारी
जेठ १४ , काठमाडौँ

गायक बन्न म्याग्दीबाट काठमाडौं पसेका दीपक शर्मालाई थाहा थिएन, उनको क्षमता संगीतमा छ। स्कुलदेखि नै गायनमा मात्र चासो राख्ने दीपकलाई त्यो बेला लाग्थ्यो, ‘संगीतकार भनेका त गीतमा बाजा बजाउने मान्छे हुन्।’ उनलाई अचम्म लाग्थ्यो, एउटा मान्छेले यति धेरै बाजा कसरी बजाउँछन् होला? 

उनी सोच्थे, ‘संगीतकार भनेको त बहुत ठूलो मान्छे हो।’ स्कुल जीवनमा उनले जति पनि संगीतकारको नाम सुने, ती सबैका हात कति छिटो चल्दा हुन् भनेर कल्पना गर्थे। 

स्कुलका थुप्रै कार्यक्रममा दीपकले गीत गाएर पुरस्कार जिते। उनले आफ्नो सपना नै गायन बनाए। उनले एसएलसीपछि गायन सिक्नकै लागि गाउँ छोड्ने निधो गरे। तर, गाउँ छोड्न त्यति सहज थिएन। परिवारमा मात्रै होइन, त्यतिबेला गाउँमा नै अरु कोही यो पेसामा लागेका थिएनन्। आफ्नो मनको कुरा बुबालाई सुनाउन सकेनन्। बुबा घरमा नभएका बेला आमालाई सुटुक्क भने।

दीपकको परिवार आर्थिक रुपले सम्पन्न थिएन। जेनतेन जम्मा गरेको थोरै पैसाले वर्षभरिको गर्जो टार्नु पथ्र्यो। उनकी आमाले श्रीमानले गर्जो टार्न राखेको त्यही पैसाबाट केही रुपैयाँ झिकेर छोरालाई दिइन् र भनिन्, ‘आफ्नो सपना पुरा गरेर फर्किएस्।’ दीपक घरमा बुबा नभएकै मौका पारेर निस्किए। काठमाडौं आइपुग्दा दीपकको गोजी रित्तो थियो। उनी सुन्धाराको एउटा होटलमा बास बसे। त्यही होटलमा झण्डै ६ महिना उनले काम गरे। गाँस र बासको चाँजो मिलाए। 

धेरैले संघर्षका बेला गरेको दुःख लुकाउँछन्। दीपक भने गर्वका साथ भन्छन्, ‘मैले जीविकोपार्जनका लागि भृकुटीमण्डपमा भारी बोकेको छु। बिहानसाँझ भात खाने पैसा थिएन। भारी बोकेको पैसा छिटो आउँथ्यो। यसैले पनि भृकुटीमण्डपका पसलेहरुको सामान ल्याउने र पु¥याउने काम गर्थे। यस्तै दुःखले मलाई संगीतको स्वाद दिलाएको हो। म गर्वका साथ भन्छु, हो मलाई अभावले संगीतकार बनाएको हो।’

काठमाडौं बसाइका सुरुवाती दिन सम्झदै दीपक भन्छन्, ‘निकै गाह्रो थियो। गाउँबाट आएको एउटा केटो। काठमाडौ जस्तो सहरमा देशका विभिन्न ठाउँबाट आफ्नो लक्ष्य बोकेर आएका मजस्ता कति धेरै मानिससँग मुकाबिला गर्नु पथ्र्यो। संगीतमा झन धेरै संघर्ष थियो। तर गर्दै जाँदा समयले धेरै कुरा सिकाउँदो रहेछ।’ यही समयले उनलाई आफूभित्रको क्षमता चिनायो, गायन मोह छोडेर संगीतकारका रुपमा स्थापित गरायो। 

दीपक काठमाडौं आएपछि ललितकला क्याम्पसमा संगीत सिक्न थाले। उनको मन चञ्चल भेरहन्थ्यो। कहिले डान्स गर्न मन लाग्थ्यो, कहिले कलाकार बन्न। रहर फेरिरहने मनका कारण उनी काठमाडौंका हरेकजसो गल्ली पसेका छन्। डान्स सेन्टरका बोर्ड नियाल्दै हिँडेका छन्।

एक समय उनी टेलिसिरियल ‘हिजोआजका कुरा’मा अभिनय गर्ने भोक बोकेर सन्तोष पन्तको आँगनमा थुप्रै पटक पुगे। एकपटक उनले अडिसन पनि दिए तर छनोट भएनन्। ३ वर्षअघि ‘हिजोआजका कुरा’ नाममा पन्तले नै फिल्म बनाए। यहाँ आएर दीपकको सन्तोष पन्तसँग सहकार्य गर्ने सपना पुरा भयो। फिल्मको ‘माया जदौ’बोलको गीतमा संगीत गरे। आनन्द अधिकारीले लेखेको यो गीत रामकृष्ण ढकाल र मेलिना राईले गाए। गीत लोकप्रिय भयो। 

दीपकले लामो समय श्रुति संगीत विद्यालयमा गुरु नरहरि प्रेमीसँग पनि संगीत सिके। अहिले अनामनगरमा रहेको श्रृति संगीत त्यतिबेला पुतलीसडकमा थियो। यो स्कुलमा पुग्दाको क्षण स्मरण गर्दै दीपक भन्छन्, ‘त्यो दिन म हिजोआजका कुराका लागि अडिसन थिएर ट्याम्पुमा फर्किरहेको थिएँ। ट्याम्पुबाटै श्रृतिको बोर्ड देखेँ। अनि ट्याम्पुबाट झरेर तीर देखाइएको बाटो पछ्याउँदै गएँ। सबैकुरा बुझेर त्यहाँबाट निस्किएको म केही महिनापछि पैसा जम्मा गरेर पुनः श्रृतिमा संगीत सिक्न गए। जहाँ मैले संगीतको मात्रै होइन, जीवनको लय पनि सिकेँ।’

संगीत जीवनका सुरुवाती दिनमा उनले थुप्रै गीतकारको दैलो धाए। तर उनलाई नयाँ भनेर कसैले विश्वास गर्दैनथे। त्यसपछि उनले गीत पनि आफैँ लेख्न थाले। उनी आफैँले लेखेर संगीत गरेका गीत हिट भइदिए। उनले त्यसपछि आधुनिक, लोकपप, लोकदोहोरी, फिल्म सबैखाले गीतमा काम गरे। अहिले दीपक संगीत उद्योगका चल्तीका संगीतकार हुन्। 

उनले संगीत गरेका थुप्रै गीतले करोड क्लबमा अड्डा जमाए। दीपकले संगीत गरेका  फिल्मका मात्रै ६ वडा गीत करोड क्लबमा प्रवेश गरे। दीपकले आफ्ना ती ६ गीतको कलेक्सन एल्बम सार्वजनिक गरे। हिजोआज दीपक आफ्नो संगीत जीवनसँग निकै खुसी छन्। 

भन्छन्, ‘संगीतले मलाई नयाँ जीवन दियो। नयाँ पहिचान दियो। अन्य पेसामा लागेको भए यति खुसी नहुन पनि सक्थेँ। अहिले म आफ्नो पहिचानमा खुसी छु। संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैर्य गर्न सक्ने र मेहनत गर्यो भने सफलता प्राप्त गर्न सकिन्छ। संगीत गरेर मेरो मन नथाकोस्। हर्मोनियमका किबोर्ड फिटेरै म जीवन बिताउन चाहन्छु।’

तस्बिर/भिडिओ : सरोज नेपाल/सरोज बैजु

जेठ १३, २०८० शनिबार २०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .