कला


हुक्कामा ट्वीस्ट ल्याउने तेज

हुक्कामा ट्वीस्ट ल्याउने तेज

नेपालखबर
बैशाख २५, २०८० सोमबार १२:५३, काठमाडौँ

अभिनेता तेज गिरी फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’ मार्फत दर्शकमाझ आउने तयारीमा छन्। उनको यो फिल्म आगामी जेठ १२ गतेबाट प्रदर्शनको तयारीमा छ।

तेजकै भनाईलाई मान्ने हो भने उनी यो फिल्ममा ‘ट्वीस्ट’ ल्याउने चरीत्रमा देखिने छन्। यसअघि ‘धौली’ र ‘प्रेमगन्ज’मा गरेको अभिनयले राम्रो प्रसंशा बटुलेका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’बाट आशावादी छन्। उनैले अभिनय गरेको ‘प्रेमगन्ज’ भन्दा अघि नै छायांकन भएको यो फिल्म प्राविधिक कारणले ढिलो प्रदर्शन हुन लागेको हो।

तेजले फिल्मका बारेमा भने, ‘धौलीमा मेरो चरित्र माया लाग्दो थियो। आमाको संघर्षमा साथ दिइरहेको पात्रको भूमिका निभाएको थिएँ। जो आफ्नो दाइलाई भेट्नका अत्यन्तै भौँतारिरहन्थ्यो। हुक्काः एन एब्सर्ड ड्रिममा चाहिँ अलिक फरक टाइपको चरित्र छ। म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु। फिल्मको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निभाएको छु।’

यो फिल्म पनि धौली टिमले नै निर्माण गरेको हो। फिल्ममा पश्चिम क्षेत्रको माटो, हावापानीसँगै पोखरा आसपासको भाषालाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको तेज बताउँछन्।

तेजको बुझाईमा ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले हुक्काको परिभाषालाई फेरेको छ। ‘हामी हुक्का भन्नासाथ हुक्का तान्ने, धुँवा नै उडाउने भन्ने सोच्छौं। तर फिल्मले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाउन खोजेको छ। हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो। फिल्मले हुक्का वा अन्य कुनै पनि वस्तुको लतले मान्छेले के–केसम्म गर्छ भन्ने कुरालाई देखाउन खोजेको छ’ तेजले भने।

उनी अगाडि भन्छन्, ‘हुक्कालाई सिम्बोलिक माध्यम बनाइएको छ। हुक्कालाई एक प्रतीष्ठासँग जोडिएको छ। त्यसमा प्रेम, धोका पनि हुनसक्छ। त्यो लतले मानिसलाई कहाँसम्म पुर्याउन सक्ने भन्ने कुरालाई उठान गरेको छ।’

तेजको अनुभवमा नेपालमा बनेका अधिकांश फिल्ममा पुरुषलाई प्राथमिकता दिए पनि ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले महिला चरित्रलाई ‘हिरो’को रुपमा प्रस्तुत गरेको छ।

‘फिल्मको कथाले समाजको पात्रलाई रिलेट गर्छ। निम्न वर्गीय र मध्यम वर्गीय संघर्षको कुरालाई उठान गरेको छ। घरको समस्याभन्दा पनि जीवनमा आउने उतारचढावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने र एउटा पारिवारिक कलहलाई कसरी शान्त मोड दिन सकिन्छ भन्ने हुक्काले देखाएको छ’ जेजले फिल्मको कथावस्तुका बारेमा प्रष्ट पारे।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad