निर्देशक यश चोपडाकी पत्नी पामेला चोपडाको ७४ वर्षको उमेरमा निधन भएको छ। पार्श्व गायिका तथा फिल्म लेखक समेत रहेकी पामेलाको आज निधन भएको हो।
पछिल्लो १५ दिन यता पामेलाको मुम्बईको लीलावती अस्पतालमा उपचार भैरहेको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण पामेलाको भेन्टिलेटरमा राखेका उपचार भैरहेको थियो।
यश चोपडा फिल्म्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै पामेलाको मृत्युको औपचारिक जानकारी दिएको छ। ल्ेखिएको छ, ‘पामेला चोपडाको ७४ वर्षको उमेरमा निधन भएको खबरले दुःख लागेको छ। उनको आज बिहान ११ बजे मुम्बईमा दाहसंस्कार गरिएको छ।’ पामेलाको निमोनिया र एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको हो।
पामेला र यश चोपडाले सन् १९७० मा विवाह गरेका थिए। उनीहरुका दुई छोरा आदित्य र उदय चोपडा छन्। आदित्य निर्माता तथा निर्देशक हुन्। आदित्य चोपडाले रानी मुखर्जीसँग विवाह गरेका छन्।
बलिउड सेलिब्रेटीहरुले सामाजिक सञ्जालमा पामेलाको निधनमा शोक व्यक्त गरेका छन्।
पामेलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जावेद अख्तरले लेखेका छन्, ‘आज यश चोपडाको बेटर हाफ पामेला जीको निधन भयो। उनी एक महान महिला, बुद्धिमान, राम्रो शिक्षित, दयालु र समझदार पनि थिइन्। यशजीसँग काम गरेका म जस्ता मानिसहरूलाई थाहा छ कि पामेलाको योगदान उनको फिल्महरूमा, विशेष गरी स्क्रिप्ट र संगीतमा कति महत्वपूर्ण थियो। उनी एक अद्भुत व्यक्ति थिइन्।’

अजय देवगनले लेखेका छन्, ‘मेरो प्रार्थना आदि, रानी, उदय र सम्पूर्ण चोपडा परिवारलाई यस कठिन कठिन समयको सामना गर्ने शक्ति मिलोस्। पम चोपडाको आत्माले शान्ति पाओस्।’
गायक अमाल मलिकले लेखेका छन्, ‘मलाई याद छ, बाल्यकालमा म पैसा जम्मा गर्थें र यशराज स्टुडियोमा गीत रेकर्ड गर्न जान्थें । त्यतिबेला म १७–१८ वर्षको थिएँ। तर, त्यो उमेरमा पनि जब म पम जीले यश जीको हात समातेको देख्थेँ, म उनीहरूबीचको माया र मित्रता देख्न सक्थेँ। उनी धेरै असल थिइन्, उनी सधैं आफ्नो भवनका सबै मानिसहरू ठीक छन् कि छैनन् भनेर चिन्तित हुन्थिन्। उनले सबैलाई खाना खाए कि नखाए र केही चाहिएको हो भनी सोध्थिन्। तर, आज उहाँ हामी माझ हुनुहुन्न।’
पामेलाले धेरै फिल्मका गीतहरूलाई स्वर दिएकी छिन्। उनले यश चोपडाको ‘कभी कभी’, ‘मुझसे दोस्ती करोगे’ जस्ता फिल्मका गीत गाइन्। सन् १९९३ मा रिलिज भएको फिल्म ‘आइना’ पामेला आफैंले निर्माण गरेकी हुन्।
यस बाहेक उनले यश चोपडाको फिल्म ‘दिल तो पागल है’को स्क्रिप्ट लेखनमा पनि यश चोपडालाई सहयोग गरेकी थिइन्।
Shares

प्रतिक्रिया