सिनेमा घरमा नेपाली फिल्म ‘जारी’ प्रदर्शन भैरहेको छ। गत शुक्रबारबाट प्रदर्शन भएको फिल्मले राम्रो दर्शक पाएको छ।
यही फिल्म मार्फत लेखक उपेन्द्र सुब्बा निर्देशकका रुपमा इन्ड्रस्टीमा आए। पहिलो फिल्मले नै उनलाई निर्देशकका रुपमा स्थापित बनायो भन्दा फरक पदैन।
फिल्म हलमा सफलताका साथ प्रदर्शन भैरहँदा निर्देशक सुब्बा भने कतै भावुक सुनिन्छन्, कतै भावुकतामा पनि मुस्कुराईदिन्छन्। यो उनको आफ्नै शैली पनि हो।
फिल्म प्रदर्शनको एक हप्ता पुग्नै लाग्दा निर्माण टिमले गरेको पत्रकार सम्मेलनमा सुब्बा भन्दै थिए ‘म छोरीहरुप्रति अलि बढी संवेदनशील छु जस्तो लाग्छ।’
उनले जारीमा त्यहि छोरीको स्वतन्त्रताको कथा देखाउन खोजेका छन्।
सुब्बाले भने, ‘नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन ज्यूने महिला लिम्बु समुदायमै छन्। तर स्वतन्त्रता भनेको घरबाट कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भनेर आफूले फिल्ममा देखाउन खोजेको हुँ।’
उनले अगाडि थपे, ‘छोरी स्वतन्त्र हुन अरु पनि थुप्रै कुरा चाहिन्छ भन्ने लाग्यो। जबसम्म छोरीमा पैतृक सम्पतीको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालेँ। बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन। म चाहान्छु हरेक समाजका महिला सबल र सक्षम रहुन्।’
लिम्बु समुदायको संस्कृति माथि बनाइएको फिल्म ‘जारी’मा श्रीमानले आफ्नी श्रीमती फिर्ता ल्याउन गरेको संघर्षको कथा भनिएको छ।
फिल्ममा अभिनेता दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया