कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्मय र सामाजिक संघसंस्थाले उनलाई आज रथारोहनसहित नागरिक अभिनन्दन गरेका हुन्।
वात्स्यायन ८० वर्ष पूरा गरी ८१ वर्षमा टेकेको अवसरमा उनलाई अभिनन्नदन गरिएको हो।
पानी रङ खेलाउनसक्ने गजबका कलाकार उनी कालान्तरमा पेण्टिङभन्दा कार्टुनले बढी चर्चित बनेका हुन्। बराल कुनैबेला शारीरिक सुगठनप्रति पनि आकर्षित भएका थिए। फोटोग्राफी उनको अर्को शोख हो।
आफूलाई आम मान्छे ठान्ने उनी १९९९ चैत्र ५ गते साविक आर्बा र हाल पोखरा महानगरपालिका वडा नम्बर १३ मा जन्मिएका थिए।
तीन वर्षको उमेरमै आमा गुमाएका र बुवा हरिवंश भारततर्फ लागेका कारण फुपूको घरमा हुर्किएका उनको कलाप्रति मोह त्यही बेलादेखि सुरु भएको थियो।
तत्कालीन नेसनल मल्टीप्रपोज हाइस्कूल भर्ना भएपछि कलाप्रति उनको सम्मोहन झनै बढेको थियो।
उनी पोखरेली युवा सांस्कृतिक परिवारका आजीवन सदस्य एवम् सल्लाहकार हुन्। आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले भने,‘उहाँजस्ता अमूल्य निधिलाई सम्मान गर्न पाउनु हाम्रो सौभाग्य हो।’
आँखा कमजोर भएकाले यतिबेला वात्सायन विश्राममा छन्। उनले केही समयअघि एउटा आँखाको मोतियाविन्दुको शल्यक्रिया भएको थियो।
अर्को आँखाको शल्यक्रियापछि उनी पुनः चित्र र कार्टुन कोर्ने ध्याउन्नमा छन्।
प्रतिक्रिया