मोफसलमा विरलै आयोजना हुने म्युजिक अवार्ड कार्यक्रम उदयपुरको गाईघाटमा उपहार एफएम ९५.४ मेघाहर्जले आफ्नो पाँचौँँ वार्षिक उत्सवको अवसरमा सम्पन्न गरेको छ। एफएमले आफ्नो पाँचौँँ वार्षिक उत्सवको अवसर पारेर सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याइरहेका वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ति मोक्तानलाई नगद ५० हजारसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।

कार्यक्रममा उपहार एफएम कला सम्मानबाट टेलिभिजनकर्मी तथा गायक मनोहरि थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरियो। आदिम स्मृतिक कला सम्मानबाट रंगकर्मी गोपाल कृतिलाई सम्मान गरियो।

गाईघाटस्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेस्ट रकपप विधाबाट गायक अशोक शिवा, राइजिङ स्टारको उपाधि गोविन्द गुरागाईं, बेस्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडिओ निर्देशनबाट कलाकार प्रदीप चौधरीले अवार्ड प्राप्त गरेका छन्। यसैगरी उत्कृष्ट रचनाकारतर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिकतर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकप गायकतर्फ सन्दीप मोते, उत्कृष्ट मोर्डन पप गायिकातर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडी पप गायिकातर्फ अप्सरा घिमिरे, उत्कृष्ट लोक गायकतर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडी पप गायकतर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडलतर्फ रेखा राई र बेस्ट प्लेब्याक गायिकाको उपाधि पूजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक तारावीर पाण्डेले जानकारी दिए।

कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ति मोक्तान, गायक नन्दु गुरुङसहित अवार्ड प्राप्त गरेका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। स्थानीय कलाकर्मीहरुको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको उपहार एफएम ९५.४ मेघाहर्जका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए।

Shares

प्रतिक्रिया