दिवंगत कलाकार जयनन्द लामाको स्मृतिमा सालिक स्थापना गरिएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा लामाको १२ फिट अग्लो सालिक निर्माण गरिएको हो। जयनन्द लामा स्मृति कोषले ८ लाख लगानी उक्त सालिक निर्माण गरेको हो।
डम्फु बजाएर नाचिरहेको भावमा लामाको सालिक डिजाइन गरिएको छ। कोषका सदस्य प्रेम दोङले सालिक वरपर संग्रहालय र कम्पाउन्ड बनाउने तयारी भैरहेको बताएका छन्। कम्पाउन्ड र संग्रहालय निर्माणमा २५ लाख खर्च लाग्ने उनले सुनाए।
लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ आगामी चैत १० गते प्रदर्शनको तयारीमा छ। लामा गत वर्ष फागुन ११ गते भक्तपुरको मध्यपुरथिमि–१ स्थित निवासको गेटअघि मृत भेटिएका थिए।
नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट अभिनय यात्रा थालेका थिए। दुई सय भन्दा धेरै गीत गाएका लामा पहिलो क्यासेट एल्बम निकाल्ने पहिलो नेपाली गायक पनि हुन्।
उनले तामाङ भाषामा निर्माण भएको पहिलो फिल्म ‘छोमरी छोरङान’को लेखन तथा निर्देशन गर्ने गरेका थिए। उनका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ लगायतका थुप्रै गीत अहिले पनि चर्चित छन्।
प्रतिक्रिया