कला


अन्त्येष्टिअघि श्रीदेवीलाई मेकअप गर्दागर्दै बोल्छिन्‌जस्तो लागेर रोए राजेश

अन्त्येष्टिअघि श्रीदेवीलाई मेकअप गर्दागर्दै बोल्छिन्‌जस्तो लागेर रोए राजेश

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:२६, काठमाडौँ

बलिउडकी सुपरस्टार श्रीदेवीको आज पाँचौं पुण्यतिथि हो। राजेश पाटिल श्रीदेवीका मेकअप म्यान हुन्।  उनले श्रीदेवीसँग एक दशकभन्दा बढी समय बिताए। राजेशको आफ्नै संघर्ष कथा छ। तर उनको जीवनको सबैभन्दा कष्टकर समय श्रीदेवीको मृत्युपछि अन्त्येष्टिअघि अन्तिम मेकअप गर्दाको बेला थियो। 

राजेशले जब श्रीदेवीको मृत्युको खबर सुने तब उनी भावविह्वल भए। उनलाई श्रीदेवीको अन्तिम श्रृंगार गर्न निकै गाह्रो भएको कुरा उनले सुनाएका छन्। उनले रुँदैरुँदै श्रीदेवीको अन्तिम मेकअप गरेको बताएका छन्। तथापि उनी उक्त समय निकै सजग थिए। उनलाई राम्रोसँग थाहा थियो- श्रीदेवीको अनुहारमा के राम्रो देखिन्छ? 

राजेश जलगाउँ, महाराष्ट्रका किसान परिवारका छोरा हुन्। उनको बाल्यकाल अभावमा बित्यो। घरको अवस्थाका कारण उनले १० कक्षाभन्दा माथि अध्ययन गर्न पाएनन्। उनले बाल्यकालमै रोटी बेचेर परिवारका लागि आर्थिक उपार्जन गर्ने काम गरे। उनकी आमा फिल्म उद्योगमा पहिरनको रेखदेख गर्थिन्। उनले पनि मुम्बई फोन गरे। मेकअप सिके। त्यसपछि राजेश दिनको ३० रुपैयाँ पारिश्रमिक लिएर मेकअप म्यानका रुपमा काम गर्न थाले। 

राजेशले तब्बु, शाहरुख खान, रानी मुखर्जीदेखि प्रियंका चोपडासम्म धेरै सेलिब्रेटीको मेकअप गरेका छन्। उनी हिजोआज मेकअप शुल्क ३० देखि ४० हजार भारु लिन्छन्। बलिउडमा थुप्रै कलाकारको अनुहार सिगारेका राजेशको श्रीदेवीसँग भने भावनात्मक सम्बन्ध थियो। श्रीदेवीको पुण्यतिथिका अवसरमा उनले भारतीय पत्रिका दैनिक भास्करसँग श्रीदेवीसँगका केही सम्झना सेयर गरेका छन्।

श्रीदेवीसँग मेरो पहिलो भेट
राजेश मुम्बई आउँदा उनका मामा नगिन फिल्मको सेटमा काम गर्थे। उनले पहिलोपटक श्रीदेवीलाई त्यहीँ देखेका थिए। पंकज खरबन्दा श्रीदेवी र तब्बु दुवैका प्रबन्धक थिए। एकपटक श्रीदेवीले उनलाई कुनै राम्रो मेकअप आर्टिस्ट चिन्नुहुन्छ भनेर सोधेकी थिइन्। त्यही बेला पंकजले राजेशको नाम लिए। त्यसपछि श्रीदेवीको आग्रहमा राजेश उनको मेकअप गर्न गए। 

श्रीदेवीलाई राजेशको मेकअप मनपर्‍यो। उनले पहिलोपटक श्रीदेवीको मेकअप गर्दाको क्षण सम्झना गर्दै भनेका छन्, ‘पहिलोपटक उनको मेकअप गर्दै थिएँ। उनी यति वरिष्ठ अभिनेत्री हुन्, केही गल्ती भयो भने भन्ने ठूलो डर थियो। केही गलत नहोस् भनेर म उहाँको नियमित सम्पर्कमा रहे।  फिल्मबाहेक पनि उनी कतै बाहिर जाँदा वा कुनै रियालिटी शोमा जाँदा म उहाँलाई मेकअप गरिदिन्थे। यही कारणले उहाँसँग मेरो सम्बन्ध निकै राम्रो भयो।’

२४ फेब्रुअरी २०१८ मा श्रीदेवीको मृत्यु भयो। उनको मृत्युले राजेशलाई ठूलो धक्का लाग्यो। श्रीदेवीको अन्तिम समयमा सँगै हुन नपाएको कुरा राजेशको मनमा अहिले पनि खड्किने गरेको छ। श्रीदेवीको दुबईमा निधन भयो। राजेश त्यतिबेला श्रीदेवीसँग थिएनन्। सुरुमा त उनले श्रीदेवीको मृत्युको खबर विश्वासै गर्न नसकेको र लगातार फोन आएपछि विश्वास गरेको बताएका छन्। 

मृत्यु भएको २ दिनपछि राजेशलाई अपरिचित नम्बरबाट फोन आयो। उनलाई सोधियाे, ‘भोलि तिम्रो के काम छ?’

राजेशले तत्काल जवाफ दिए, ‘म भोलि फ्रि छु।’

त्यसपछि ती व्यक्तिले भने, ‘भोलि तिमी आएर श्रीदेवीको मेकअप गर्नुपर्छ।’

उनको यो कुराले राजेशलाई रिस उठ्यो। उनका लागि यो मजाक थियो, तर फोन गर्ने मानिसले उनलाई यो कुरा सत्य भएको बताए।

डिजाइनर मनिष मल्होत्रा र उनका परिवारका सदस्यहरूले श्रीदेवीलाई दुलहीका रूपमा सजाएर मात्र दाहसंस्कार गर्ने बताए। त्यसपछि राजेशले १५ मिनेटको समय लगाएर श्रीदेवीको अन्तिम श्रृंगार गरे र श्रीदेवीको अन्तिम संस्कार गरियो। 

तर अन्तिम मेकअपको निर्णयमा पुग्नुअघि राजेशलाई निकै तनाव भयो। उनले ‘राति कन्फर्म गर्छु’ भनेर फोन राखे। यो कुराले उनलाई निकै सतायो। उनले घर पुगेर सबै कुरा श्रीमतीलाई सुनाए। श्रीमतीले पनि सुरुमा त यो कुरा पत्याइनन्। कसैले ठट्टा गरेको होला भन्ने आशंका व्यक्त गरिन्। राति फेरि फोन आयो। भोलिपल्ट बिहानै श्रीदेवीको घरमा आउन भनियो। उनी रातभर निदाउन सकेनन्।

२७ फेब्रु्अरीमा राजेश श्रीदेवीको घर पुगे। त्यही राति ११ बजे श्रीदेवीको शव आइपुग्यो। त्यो राति पनि उनी घर फर्किए। उनी निदाउन सकेनन्। त्यसको भोलिपल्ट बिहान ७ बजे पुनः श्रीदेवीको घरमा पुगे। उनले श्रीदेवीको अन्तिम मेकअप हात कमाउँदै गरेका थिए। 

मेकअप गर्दाको क्षण सम्झिँदै राजेशले भनेका छन्, ‘जब म उनको मेकअप गर्दै थिएँ, एक्कासि उनी ब्युँझिएको जस्तो भान भयो। फेरि आफ्नो मनलाई सम्हालेँ। यसअघि पनि मेकअपको समयमा श्रीदेवी शान्त रहनुहुन्थ्यो। आफ्नो अनुहारमा के राम्रो देखिन्छ बताउँथिन्। म त्यहीअनुसार मेकअप गर्थेँ।’

उनले अगाडि भनेका छन्, ‘मैले अन्तिम मेकअपमा उनको मनपर्ने बिन्दी लगाइदिएको थिए। मेरो आँखाबाट लगातार आँसु बगिरहेको थियो। मैले आफूलाई सम्हाल्न सकिनँ। मेरो जिन्दगीकै सबैभन्दा भावनात्मक क्षण यही थियो र यो क्षण अहिले पनि सम्झिरहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad