अभिनेता अमिताभ बच्चनलाई बलिउडमा मेगास्टारका रुपमा सम्बोधन गरिन्छ। उनी करिअरको सुरुवातबाटै आफ्नो उचाइका कारण सधैं चर्चामा रहने कलाकार हुन्। अग्लो कदका कारण अमिताभलाई थुप्रै फिल्ममा रिजेक्ट गरिएको थियो।
फेब्रुअरी ६ मा ‘बिग बी’ले सामाजिक सञ्जालमा आफ्नो थ्रो–ब्याक फोटो सेयर गर्दै पुराना दिन सम्झाएका छन्। अमिताभले एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो सेयर गरेका छन, जसमा उनी ऊँटमा बसेको देखिन्छ। फिल्म सेटमा देखिएको पोस्टको क्याप्सनमा अमिताभले लेखेका छन्, ‘जब म फिल्ममा नयाँ थिए, तब उचाइका कारण मानिसहरुले मलाई ऊँट भन्ने गर्थे।’
अमिताभले अगाडि लेखेका छन्, ‘मैले १९६९ मा फिल्ममा प्रवेश गरेँ, सबैले मलाई ऊँट भन्ने गर्थे। मैले यो कुराको औचित्य साबित गर्ने सोचें र गएर ऊँट चढेँ। यो मेरो दोस्रो फिल्म ‘रेश्मा और शेरा’को फोटो हो। सौभाग्यवश मानिसहरूले अहिले मलाई ऊँट भन्दैनन्। अहिले यो उपाधि अरू धेरैले पाएका छन्।’
उनका एक फ्यानले उनलाई कमेन्ट गर्दै लेखेका छन्, ‘सर, तपाईंलाई हरियाणाको ग्रामीण क्षेत्रमा लम्बु भनिन्छ। मान्छेहरु भन्छन्, हिजो लम्बुको फिल्म हेरियो। धेरै रमाइलो भयो।’
अर्का फ्यानले लेखका छन्, ‘ती मानिसहरूले तपाईलाई सहि नाम दिएका थिए, किनकि जसरी ऊँटले नथाकि मरुभूमिको उचाइ हासिल गर्छ, त्यसैगरी तपाईलाई पनि बलिउडका फिल्म उद्योगको उचाइ हासिल गर्नुभयो।’
अमिताभ बच्चन पछिल्लोपटक फिल्म ‘उचाइ’मा देखिएका थिए। सुरज बडजात्याले निर्देशन गरेको यो फिल्ममा बोमन इरानी, अनुपम खेर, नीना गुप्ता, सारिका र परिणीति चोपडाले पनि उनीसँगै अभिनय गरेका छन्। नेपालमा पनि छायांकन गरिएको फिल्ममा चार साथीको मित्रताको कथा प्रस्तुत गरिएको छ।
प्रतिक्रिया