ad ad

कला


अभिनेत्री सुरैयाको अधुरो प्रेम कहानी : देव आनन्दसँग टुटेको सम्बन्ध सम्झिएरै जीवन बिताइन्

रिसाएर छाडिन् दिलीप कुमारको फिल्म
अभिनेत्री सुरैयाको अधुरो प्रेम कहानी : देव आनन्दसँग टुटेको सम्बन्ध सम्झिएरै जीवन बिताइन्

नेपालखबर
माघ १८, २०७९ बुधबार ११:१८, काठमाडौँ

‘मैले भगवान्‌को प्रेममा विश्वास गरेँ। आफैँमा विश्वास गरिनँ। जब मैले देवसँग विवाह गर्न अस्वीकार गरेँ, उसले मलाई कायर भन्यो। सायद म कायर थिएँ। मसँग त्यो कदम चाल्ने हिम्मत थिएन। सायद यो मेरो भाग्य वा गल्ती थियो।’ 

बलिउड अभिनेत्री सुरैया जमाल सिखले एक अन्तर्वार्ताका क्रममा यो दुखेसो पोखेकी थिइन्। 

सुरैया देव आनन्दलाई गहिरो प्रेम गर्थिन्। तर उनको परिवार उनको यो प्रेमलाई लिएर खुसी थिएन। त्यसैले उनले परिवारविरुद्ध गएर देवको विवाह प्रस्तावलाई हुन्छ भन्न सकिनन्। देवले सुरैयालाई अन्तिमपटक भेटेर अँगालो हालेर रोए। त्यसपछि उनले सुरैयालाई कहिल्यै देखेनन्। देव आनन्दले आफ्नो जीवनी ‘रोमान्सिङ विथ लाइफ : देव आनन्द’मा यो कथा लेखेका छन्। 

सुरैयाको मृत्यु ३१ जनवरी २००४ मा भयो। सुरैयाको अन्तिम संस्कारमा संलग्न सबैका आँखा देव आनन्दलाई खोजिरहेका थिए। तर उनी सुरैयाको अन्तिम यात्रामा सहभागी भएनन्। यसरी एउटा प्रेमको अन्त्य भयो। सुरैया र देव आनन्दको प्रेमकथा बलिउडको सबैभन्दा चर्चित कथा हो। सुरैयासँगको सम्बन्ध टुटेपछि देव आनन्दले आफ्नो नयाँ यात्रा सुरु गरे। उनले आफ्नो को–स्टार कल्पना कार्तिकसँग विवाह गरे। तर सुरैयाको यो नै अन्तिम सम्बन्ध थियो। उनले विवाह गरिनन्। 

सुरैया आफ्नो समयकी सबैभन्दा महँगो अभिनेत्री थिइन्। दिलीप कुमारजस्ता अभिनेता पनि सुरैयासँग काम गर्न चाहन्थे। उनको यो चाहना पनि पूरा भयो। तर पहिलो फिल्ममै सुरैया दिलीप कुमारसँग सुटिङमै रिसाइन्। दिलीप कुमारले सुरैयासँग फेरि काम गरेनन्। 

देव आनन्द र सुरैयाको पहिलो भेट
सन् १९४८ मा रिलिज भएको फिल्म ‘विद्या’ छायांकनमा जाने तयारीमा थियो। फिल्ममा सुरैयाले अभिनय गर्ने पक्का भएको थियो। तर हिरोका रूपमा उनलाई कसले साथ दिने टुंगो लागेको थिएन। एकदिन सुटिङ सेटमा सुरैया कुर्सीमा बसिरहेकी थिइन्। उनलाई एक युवकले एकटकले हेरिरहेका थिए। यो कुरा सुरैयालाई मन परेन। उनले निर्मातालाई फोन गरेर यो कुरा सुनाइनन्। उनले भनिन्, ‘कुर्सीमा बसेका महान् युवालाई त्यहाँबाट हटाउनुहोस्। त्यसपछि मात्रै म काम गर्न तयार हुन्छु।’

त्यसपछि निर्माताले सुरैया कहाँ ती युवालाई लिएर गए र परिचय गराए। उनै थिए– देव आनन्द। सुरैया र देवको यो नै पहिलो भेट थियो। त्यसबेला देवले सुरैयालाई नम्रभावमा भनेका थिए, ‘सँगै काम गर्नुअघि एक युवाले यति ठूलो हिरोइनलाई राम्रोसँग देख्नुपर्छ। तपाईंलाई नराम्रो महसुस भयो, माफी चाहन्छु।’

यो भेटपछि दुवै फिल्मको सुटिङमा व्यस्त भए। दैनिक भेटघाटपछि दुवैबीच गहिरो मित्रता भयो र पछि दुवैले एकअर्कालाई माया गर्न थाले। दुवैको आँखाले सुटिङ सेटमा एकअर्कालाई खोज्थे। देव आनन्दले उनलाई मायाले नोजी र सुरैयाले मायाले उनलाई स्टिभ भनेर सम्बोधन गर्थे।

 

सुटिङबाहेक देव आनन्द उनको घरमा पनि आउने गर्थे। उनीहरूसँगै सार्वजनिक कार्यक्रममा पनि जान थालेका थिए। एकदिन सुरैयाकी हजुरआमाले उनीहरूको सम्बन्धबारे चाल पाइन्। देव सुरैयाको घर आउन छाडे। सुरैयाले गैरधर्मको केटासँग विवाह गर्ने कुरा उनकी हजुरआमाले स्वीकार गरिनन्। फिलमको सेटमा पनि सुरैयाले देवसँग कुरा गर्न नपाओस् भनेर उनकी हजुरआमा उनीसँगै फिल्म छायांकन स्थलमा जान थालिन्। त्यो समय उनीहरू चिठ्ठीका माध्यमबाट कुराकानी गर्थे। 

सन् १९४९ मा जीतको सुटिङकै क्रममा देव आनन्दले सुरैयासँग बिहे गर्न लागेका थिए। सुरैया भने आफ्नो परिवारको विरुद्धमा जान चाहिनन्। उनले यो विवाह अस्वीकार गरिन्। त्यसपछि सुरैयाले देवसँग दूरी कायम गरिन्। यो दूरी सुरैयाले जीवनभर कायम राखिन्। सुरैयाका लागि यो नै पहिलो र अन्तिम प्रेम थियो। 

घरमा फ्यानको भीड
त्यसबेला दिलीप कुमार सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्थे। उनले त्यसबेला एउटा फिल्मको पारिश्रमिक एक लाख रुपैयाँ लिने गर्थे। सुरैया अभिनेत्रीमध्ये सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन्।

उनी हरेक फिल्ममा ५० हजार पारिश्रमिक लिने गर्थिन्। उनी निकै लोकप्रिय थिइन्। उनका फ्यान उनको एक झलकका लागि घरबाहिर लाइन लाग्थे। फ्यानको लाइनले उनको घर बाहिर ठूलो भीडभाड हुन्थ्यो। 

एकताका सुरैया आफ्नो फिल्मको प्रिमियरमा गएकी थिइन्। घरबाहिर उभिएको भीडलाई बेवास्ता गर्दै उनी थिएटर पुगिन्। सुरैयालाई कसैले चिन्न नसकून् भनेर हलभित्र धेरै व्यवस्था गरिएको थियो, तर त्यहाँ उपस्थित एक व्यक्तिले उनलाई चिने। उनले चिच्याउँदै भने, ‘अरे यो सुरैया हो।’ यो सुनेपछि भीड सुरैयासामु जम्मा भयो। सुरैयालाई भीडले यसरी घेरेको थियो कि उनको दुपट्टा हातबाट खसेको थियो।

सुरैयासँगै आएका सुरक्षाकर्मीले लामो समयसम्म भीडलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सुरक्षाको कुनै काम नभएपछि प्रहरी आउनुपरेको थियो। यो घटनाले सुरैयालाई नराम्रो असर गर्‍यो। त्यसपछि उनी सार्वजनिक स्थलमा जान छाडिन्। यो घटनापछि सुरैया आफ्ना कुनै पनि फिल्मको प्रिमियरमा सहभागी भइनन्। 

ग्रेगरीकी फ्यान सुरैया
सुरैयाका फ्यान भारतमा मात्रै होइन, विदेशमा पनि उत्तिकै थिए। सुरैया आफैँ भने हलिउडका अभिनेता ग्रेगरी पेककी फ्यान थिइन्। सुरैया उनलाई भेट्न चाहन्थिन्। सन् १९५२ मा भारतमा पहिलो अन्तर्राष्ट्रिय फिल्म महोत्सव भयो। यसै क्रममा सुरैयाले हलिउड निर्देशक फ्रैंक काप्रासँग भेट गरेकी थिइन्। सुरैयाले आफ्नो एउटा तस्बिरमा हस्ताक्षर गरेर काप्रालाई दिइन् र भनिन्, ‘तिमीले यो ग्रेगरी पेकलाई दिनेछौ।’
यसपछि ग्रेगरी भारत आएर उनले सुरैयालाई भेट्ने इच्छा व्यक्त गरे। मिडिया रिपोर्टका अनुसार ग्रेगरी राति ११ बजे उनलाई भेट्न उनको घर पुगेका थिए। राति सुरैयाको घर पुगेर ग्रेगरीले घरको ढोका ढकढक्याए। सुरैयाकी आमाले ढोका खोलिन्। सुरैयालाई ग्रेगरीको आगमनबारे थाहा पाएर निकै खुसी हुँदै बाहिर निस्किन्। त्यो रात सुरैया र ग्रेगरीले झण्डै १ घण्टा कुरा गरेका थिए। 

दिलीप कुमारसँग काम गर्न अस्वीकार 
त्यो समयका चर्चित अभिनेता दिलीप कुमार सुरैयासँग काम गर्न चाहन्थे। उनले निर्देशक के.के. आसिफसँग सुरैयासँग स्क्रिन सेयर गर्नेगरी फिल्म बनाउन प्रस्ताव गरे। आसिफ पनि यसमा सहमत भए। आसिफले सुरैया र दिलीपलाई लिएर फिल्म ‘जनावर’ बनाउने घोषणा गरे। फिल्म सुटिङका क्रममा हंगामा भएको थियो। दृश्यअनुसार सुरैयाको खुट्टामा सर्पले डस्यो र दिलीप कुमारले ज्यान जोगाउन खुट्टाको विष चुस्नुपरेको थियो। उक्त दृश्यलाई एकै सटमा उत्कृष्ट ढंगले खिचिएको थियो। तर सोही दृश्य धेरैपटक रिसुट गरिएको थियो, जसले सुरैयालाई हैरान बनायो। 

अर्को दिन फेरि त्यही दृश्य सुट गर्न भनियो। यसपटक दिलीप कुमारले सुरैयाको खुट्टाबाट विष निकाल्न खोज्नेबित्तिकै सुरैयाले खुट्टा तानेर उठिन्। उनी दिलीप कुमारसँग रिसाएकी थिइन्। यो घटनापछि सुरैयाले दिलीप कुमारसँग अब कुनै पनि फिल्ममा काम नगर्ने निर्णय गरिन्। सुरैयाको यो निर्णयबाट आसिफ निकै रिसाए। आसिफ फिल्ममा भएको खर्च कसले बेहोर्ने भन्दै रिसाए। सुरैयाले आसिफललाई चेक दिएर सेट छाडिन्। यो घटनापछि उक्त फिल्म अघि बढेन। 

जवाहरलाल नेहरू सुरैयाका फ्यान 
सन् १९५४ मा सुरैयाको फिल्म ‘मिर्जा गालिब’ रिलिज भएको थियो। फिल्मको प्रदर्शनमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि निम्ता दिइएको थियो। सोही कार्यक्रममा सुरैयाले नेहरूसँग भेट गरेकी थिइन्। त्यो भेटमा नेहरूले सुरैयालाई भनेका थिए, ‘तिमीले गालिबको आत्मालाई पुनर्जीवित गरेकी छौ।’ प्रधानमन्त्रीको प्रशंसा सुनेर सुरैया निकै खुसी भएकी थिइन्। 

सुरैयाले आफ्ना मामा जहुरको सहयोगमा फिल्ममा काम गर्ने अवसर पाएकी थिइन्। जहुर उद्योगमा खलनायकका रूपमा काम गर्थे। एकपटक स्कुल बिदामा फिल्म ‘ताजमहल’को सुटिङ हेर्न सुरैया मामासँग स्टुडिओ गएकी थिइन्। त्यहीँ फिल्म निर्माता नानु भाइ वकीलको नजर उनीमाथि पर्‍यो। नानु भाइ उनको सुन्दरता र सादगीबाट यति प्रभावित भए कि उनले फिल्म ‘मुमताज महल’का लागि सुरैयालाई छनोट गरे।

एकपटक नौशादले अल इन्डिया रेडियोमा सुरैया गाएको सुने। नौशाद साहबलाई सुरैयाको गीतको शैली मन पर्‍यो। त्यसपछि उनले सुरैयालाई कारदार साहेबको फिल्म ‘शारदा’मा गाउने मौका दिए।

सुरैयाले सन् १९३६ देखि १९६३ सम्म ४ दशक फिल्ममा काम गरिन्। जीवनको अन्तिम समय उनले खराब स्वास्थ्यका कारण फिल्ममा काम गर्न पाइनन्। जीवनको अन्तिम ६ महिना सुरैया आफ्ना वकिल धिमन्त ठक्करको परिवारसँग बसिन्। उनी हाइपोग्लाइसेमिया जस्ता धेरै गम्भीर रोगबाट पीडित थिइन्। जसका कारण उनको ७४ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .