ad ad

कला


संसारको सबैभन्दा सभ्य खलनायक, जसको चरण रजनीकान्तले पनि छुन्थे

संसारको सबैभन्दा सभ्य खलनायक, जसको चरण रजनीकान्तले पनि छुन्थे

नेपालखबर
माघ १६, २०७९ सोमबार ८:४६, काठमाडौँ

एमएन नाम्बियारले आफ्नी श्रीमती रुक्मिणीलाई बोलाएर आफ्नो नजिकै बस्न आग्रह गरे।  उनले श्रीमतीलाई भने, ‘जीवनभर मेरो राम्रो हेरचाह गर्नुभएकोमा धन्यवाद। अब मेरो कारणले चिन्ता लिनु पर्दैन।’

उनको कुरालाई बेवास्ता गरेर रुक्मिणी आफ्नो काममा लागिन्।

भोलिपल्ट दिउँसोको १ बजेको थियो। नाम्बियारकी श्रीमतीले चिया ल्याइन् र उनको खुट्टा नजिकै बसिन्। चिया खाइसकेपछि नाम्बियारले श्रीमतीलाई केहीबेर एकोहोरो हेरे। श्रीमतीलाई हेर्दाहेर्दै उनले आफ्ना आँखा बन्द गरे। त्यसपछि उनले कहिल्यै आँखा खोलेनन्। उनको मृत्यु भयो। 

यी दुई दिनका घटनाक्रमलाई सम्झँदै अहिले पनि दक्षिण भारतमा नाम्बियारलाई आफ्नो मृत्युको पूर्वाभाष थियो भनेर चर्चा हुने गरेको छ। उनले दक्षिणका हजारभन्दा धेरै फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। उनको भूमिकाका कारण क्रुद्ध मानिसहरु मानिसहरु पटकपटक उनलाई मार्न भनेर जान्थे। कारण नाम्बियारले पर्दामा पटकपटक तिनलाई मन परेका स्टारलाई मारिदिएका थिए। 

तर, वास्तविकतामा भने उनलाई संसारकै सभ्य खलनायक मानिन्छ। नाम्बियारको शालीनता यस्तो थियो– रजनीकान्त पनि उनको खुट्टा छुने गर्थे। नाम्बियार सन् १९३५ मा तमिल फिल्मबाट कला क्षेत्रमा प्रवेश गरेका थिए। त्यसबेला उनी मात्र १६ वर्षका थिए। उनले त्यसपछि लगातार काम गरे। त्यो उनको अभिनयको प्रभाव अत्यधिक थियो। रजनीकान्तजस्ता सुपरस्टारले पनि फिल्म कबालीमा उनको नक्कल गरेको देखिन्थ्यो। नाम्बियारले ८ दशक फिल्म क्षेत्रमा बिताए।

एक पटक एमजीआरका फ्यानहरु उनलाई देखेपछि मार्न गए। फिल्ममा नाम्बियारले एमजीआरलाई कुटेका थिए। उनले आफ्नो खलनायकको चरित्रबाट दर्शकको मनमा यस्तो घृणा जगाएका थिए कि ठूलो पर्दामा देख्नेबित्तिकै उनलाई गाली गर्न थाल्थे। नाम्बियार आफैँले एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि मैले हरेकचोटि दुव्र्यवहारको लागि एक रुपैयाँ पनि पाएको भए म तमिल सिनेमाको पहिलो करोडपति बन्ने थिएँ।’

खलनायक बनेर लोकप्रियता 
नाम्बियारले नायकको रूपमा आफ्नो करिअर सुरु गरेका हुन्। तर उनले वास्तविक पहिचान खलनायकको भूमिकाबाट पाएका थिए। उनले एन्गा भिट्टु पिल्लई, आयराथिल ओरुवन, नबोबी मन्नान, नलाई नमाधे, पडगोट्टी, थिरुधाते, एन एन्नान, कावलकर लगायतका हिट फिल्ममा अभिनय गरे। तमिल फिल्ममा उनलाई सबैभन्दा ठूलो खलनायकको दर्जा दिने गरिएको छ।

फिल्ममा एमजीआर र शिवाजी गणेशनको जीवन कठिन बनाउने नाम्बियार वास्तवमा उनीहरूका नजिकका साथी थिए। नाम्बियारको विवाहअघि एमजीआर केटी हेर्न उनीसँगै गएका थिए। विवाहमा सामेल भएका थिए। 

जब नाम्बियारको पहिलो छोरा जन्मिए, एमजीआर उनलाई काखमा लिने पहिलो व्यक्ति थिए। नाम्बियार फिल्ममा एमजीआरसँग झगडा गर्थे, त्यसैले उनी घरमा जाँदा एमजीआरका छोराछोरीले उनलाई नराम्रो अंकल भन्ने गर्थे। 

एउटै फिल्ममा ११ भूमिका 
दिगम्बरा समियार फिल्ममा उनले ११ वटा भूमिका निर्वाह गरे। जसले उनलाई निकै चर्चित बनायो। तमिल फिल्महरूमा सबैभन्दा धेरै भूमिका खेल्ने उनको कीर्तिमान आज पनि कायम छ। लगातार हिट फिल्म दिएपछि उनी ५० को दशकमा ठूला नायकहरूमध्ये एक भनेर चिनिन थाले। सफलता प्राप्त गरेपछि उनले आफ्नै नाटक समूह ‘नाम्बियार नाटक मन्द्रम’ स्थापना गरेका थिए। 

क्यामरामा सबैभन्दा खतरनाक खलनायक, बाहिर नायक
नाम्बियारलाई तमिल सिनेमाको सबैभन्दा सज्जन मानिस मानिन्छ। क्यामरा घुम्नेबित्तिकै खतरनाक खलनायक बन्ने उनलाई मानिसहरूले घृणा गर्थे। तर क्यामरा बन्द हुनेबित्तिकै उनी निकै सज्जन थिए। कोमल स्वभावका नाम्बियार सधैं नरम स्वरमा बोल्थे, जीवनका सबै क्षेत्रका मानिसहरूलाई राम्रो व्यवहार गर्थे।

शाकाहारी भोजन, सादा जीवन
नाम्बियारले सद्भावपूर्ण जीवन बिताए। उनी शुद्ध शाकाहारी थिए। उनले वास्तविक जीवनमा चुरोट र रक्सी कहिल्यै छोएनन्। उनको भान्सामा कहिले माछामासु पाकेन। उनका कान्छा छोराले अमलेट खान मन गरे। नाम्बियारले उनको लागि घरमा दोस्रो भान्छा बनाइदिए। परिवारका अन्य सदस्यले बाहिरबाट मांसाहारी खानेकुरा ल्याएमा एउटै टेबुलमा सँगै खान पाउँदैनथे।

उनलाई फिल्म हेर्नै पर्ने लत थियो। उनी प्रायः आफ्ना साथी शिवजी गणेशनसँग लेट नाइट शो हेर्थे। यसले उनको सुत्ने तालिकामा असर गर्यो। त्यसपछि उनले अबेर राति फिल्म हेर्ने आफ्नो लत त्यागेका थिए। नाम्बियार राति ११ बजेअघि नै सुत्ने गर्थे।

उनको कुनै गसिप छापिएन
चलचित्र जगतसँग जोडिएका व्यक्तिहरूको व्यक्तिगत जीवनलाई गसिफ स्तम्भको हिस्सा बनाइन्छ। नाम्बियार त्यो जमानामा पनि चर्चित अभिनेता थिए। तर, उनीसँग सम्बन्धित कुनै पनि नकारात्मक समाचार प्रकाशित भएनन्। हजारभन्दा धेरै फिल्ममा अभिनय गरेका उनको नाम कुनैपनि को–स्टार वा महिलासँग मान जोडिएको थिएन। नाम्बियार निकै दयालु थिए। क्यारेक्टर मेकअपका लागि पर्खनु पर्दा अन्य कलाकार मेकअप आर्टिस्टलाई रिस देखाउँथे। 

चलचित्रमा खलनायकको भूमिकामा देखिएका नाम्बियारलाई वास्तविक जीवनमा महागुरु स्वामी भनिन्थ्यो। उनले आफ्नो जीवनकालमा ६५ पटक खाली खुट्टा पैदल हिँडेर सबरीमाला मन्दिरको दर्शन गरेका थिए। उनको सोही भक्तिका कारण ‘महागुरु स्वामी’ भनिन्थ्यो। सबरीमाला मन्दिरको तीर्थयात्रा सुरु गर्ने श्रेय पनि उनैलाई दिने गरिएको छ। 

सन् १९८२ मा ‘कुली’ सेटमा दुर्घटनामा परेका अमिताभ बच्चन सिकिस्त भए। उनी  जीवन र मरणको दोसाँधमा थिए। त्यो समय ‘बम्बे टु गोवा’का निर्देशक एस. रामनाथनले अमिताभ निको भएमा उनलाई सबरीमाला मन्दिरमा लैजाने भाकल मागेका थिए। अमिताभ निको भएपछि रामनाथनलाई अमिताभलाई मन्दिर लैजान नाम्बियारले सहयोग गरेको बताइन्छ। त्यो समय अमिताभ ७ किलोमिटर खाली खुट्टा हिँडेका थिए। नाम्बियारले सबरीमाला जाँदा ४१ दिनसम्म तपस्या गर्ने परम्परा पनि सुरु गरेका थिए। 

घरमै जिम बनाए
नाम्बियारले आफ्नो स्वास्थ्यको विशेष ख्याल राखेका थिए। चेन्नईमा बस्दा उनी हरेक दिन बिहान ४ः३० बजे उठ्ने गर्थे र गान्धी स्ट्याच्युदेखि मरीना बिचसम्म पैदल हिँड्थे। उनले घरमै जिम र ब्याडमिन्टन कोर्ट बनाएका थिए। उनका साथी जेमिनी गणेशन, शिवाजी गणेशन र उनका भाइ शनमुगम पनि दिनहुँ उनको घरमा जिम गर्न र ब्याडमिन्टन खेल्न आउने गर्थे।

सानैमा बुबा गुमाए 
नाम्बियार उर्फ मञ्जेरी नारायणको जन्म ७ मार्च १९१९ मा कन्नुर, केरला नजिकैको कन्डक्काई गाउँमा भएको थियो। उनका बुबा केलु नाम्बियारको उनी सानै हुँदा मृत्यु भयो। जेठी दिदीको विवाह भएपछि नाम्बियार पनि उनीसँगै उँटी पुगेका थिए। त्यहाँ उनले आफ्नो पढाइ पूरा गरे। १३ वर्षको उमेरदेखि नै उनलाई अभिनयमा रुचि थियो, त्यसैले उनी नवाब राजमणिकम नाटक समूहमा सामेल भए। वास्तवमा उनको भाषा मलायाली थियो, तर उनी तमिल सिकेर तमिल भाषाका नाटकहरू गर्थे। नाटकमा पुरुषबाहेक उनले महिलाको भूमिका पनि निभाएका छन्।

३ रुपैयाँ कमाइ, २ रुपैयाँ आमालाई
ब्वाइज कम्पनीको नाटकका लागि उनले पहिलो पटक ३ रुपैयाँ पारिश्रमिक पाएका थिए। त्यसमध्ये एक रुपैयाँ आफैँ राखे र बाँकी दुई रुपैयाँ आमालाई पठाए। नाम्बियारको आवश्यकता नगण्य थियो। नाटक कम्पनीले बस्ने र खानाको जिम्मा लिने गरेको थियो, यस्तो अवस्थामा उनले आफ्नो पैसा पनि जोगाउने गर्थे। 

सन् १९३५ मा मात्र १६ वर्षको उमेरमा उनले पहिलो फिल्म ‘भक्त रामदास’ मा काम गर्ने अवसर पाए। यो फिल्म हिन्दी र तमिलमा रिमेक गरिएको थियो। जसमा नाम्बियार कमेडियन बनेका थिए। उनले यो फिल्ममा २–३ भूमिका निर्वाह गरेका थिए। फिल्म खेलेवापत उनले  ७५ रुपैयाँ पाएका थिए।

८९ वर्षको उमेरमा पुग्दा नाम्बियार बिरामी पर्न थालेका थिए। युरिन इन्फेक्सन भएपछि उपचारका लागि दुई महिना अस्पताल भर्ना गरेर राखियो। पूर्ण निको हुन सकेनन्। सधैं आफ्नो स्वास्थ्यको ख्याल गर्ने नाम्बियारले खानपिन छाडे। उनले खान छोडेपछि उनका छोराले भने, ‘हामी सानै छँदा तपाईंले हामीलाई खान दबाब दिनुहुन्थ्यो।’ 

यो सुनेर नाम्बियार मुसुक्क हाँसे र छोरालाई हेरेर जवाफ दिए, ‘म ९० वर्षको भएँ र यति भए पुग्छ।’ यो उनको मृत्यु हुनुभन्दा दुई दिनअघिको कुरा थियो।

मृत्युपछि परिवार टुट्यो
नाम्बियारको निधनपछि उनको परिवार नराम्रोसँग टुट्यो। उनकी श्रीमती र ३ छोराछोरी निकै विक्षिप्त बने। उनका जेठा छोरा सुकुमार भाजपाका नेता थिए र कान्छो छोरा कोइम्बटुरका ठूला व्यापारी। नाम्बियारको मृत्युको ४ वर्षपछि उनका जेठो छोराको ८ जनवरी २०१२ मा मृत्यु भयो। सोही वर्ष २०१२ अप्रिल ११ मा श्रीमतीको पनि मृत्यु भयो।

मृत्युपछि नाम्बियारको शवलाई गेरुवा वस्त्रमा बेरिएको थियोर अन्तिम संस्कारको समयमा, उनका हजारौँ प्रशंसक र शिष्य जम्मा भएका थिए जसले निरन्तर ‘स्वामी शरणम् अयप्पा’ मन्त्रको जप गरिरहेका थिए। दैनिक भाष्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .