एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडिओको अभिनयमा व्यस्त छन्। सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडिओमा समेत धिरेनले कम्मर मर्काउन भ्याएका छन्।
यो बीचमा गौरव गिरीको निर्देशनमा बनेको ‘छैन केही डर’ बोलको गीतमा धिरेन जोडिएका छन्। सोमबार सार्वजनिक गीतमा धिरेन अभिनेत्री अनिता केसीको जोडी बनेका छन्। अनिता उनै हुन जसले २४ वर्ष पहिलेको हिट फिल्म ‘कमान्डो’मा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। एक्सन फिल्म ‘कमान्डो’ सँगै केसीले ‘सेतोबाघ, छहारी, वसन्ती, सजाय’देखि ‘पूर्वपश्चिम’लगायत दर्जनौं फिल्ममा अभिनय गरिसकेकी छन्।
कुनै समयका चल्तीका दुई अग्रज कलाकारलाई गिरीले जोडी बाँध्दा साथमा नुशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट र दुर्गाचन ठकुरीलाई पनि भिडिओमा प्रस्तुत गरेका छन्। बालकलाकारद्वय उमंग हुमागाईं र उत्कर्ष हुमागाईं पनि भिडिओमा फिचर्ड छन्।
पारिवारिक कथा समेटिएको गीतको भिडिओमा सामाजिक कामले एउटा बस्तीको प्रतिनिधित्व गर्दै सहर हिँडेका श्रीमान् हराएपछि परिवारमा उनका श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छाड्न बाध्य पार्ने परिस्थिति देखाइएको छ। बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। सबै कलाकारले जिवन्त अभिनय गरेका छन्।
उक्त गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन्। गीतमा संगीत एरेन्जको काम पनि गायक विशमले नै गरेका छन्।
भिडिओतर्फ भद्रजंग कुवंरको सम्पादन रहँदा छायांकन उत्तम हुमागाईंको छ। कलरको काम श्याम कुँवरले गरेका छन्। निर्देशक गिरीले नेपाली समाजको एक यथार्थतालाई भिडिओमा जोडिएको बताए। भिडिओका निर्माता आर कुमार हुन्।
Shares

प्रतिक्रिया