२०६० सालतिरको कुरा हो। पोखराका इन्द्र गुरुङ ‘तमु’लाई फिल्म बनाउने रहर जाग्यो। उनले ८ लाख लगानी गरेर गुरुङ भाषाको ‘चोखैब कर्म’ फिल्म बनाए। जसको नेपाली अर्थ ‘कस्तो भाग्य’ हुन्थ्यो। यो फिल्ममा उनी आफैंले अभिनय पनि गरे।
त्यतिबेला मातृभाषाको फिल्मी बजार त्यति ठूलो थिएन। अहिले पनि छैन। पोखराका हलमा केही शो प्रदर्शन भएको फिल्म लिएर गुरुङ यूके, सिंगापुरलगायत देश पुगे। त्यहाँ नेपालीमाझ च्यारिटी शो गरे। समय क्यासेटको थियो, फिल्मको क्यासेट बिक्रीबाटै लगानी उठाए।
तर उनको जीवनमा दोस्रो फिल्म निर्माणको संख्या बढ्न भने सकेन। उनको फिल्मप्रतिको लगाव परिवारलाई मन परेन। परिवारले भन्यो, ‘फिल्म लाइनमा नलाग्नू।’ उनले त्यसबेला एक छोराका पिता भइसकेका थिए। परिवारको जिम्मेवारी र परिवारको खुसीभन्दा ठूलो आफ्नो लगाव र झुकावको क्षेत्रलाई मान्न सकेनन्। पहिलो फिल्म निर्माणसँगै रोकियो उनको फिल्मी यात्रा।
फिल्मप्रतिको इन्द्रको लगाव सानो थिएन। ५० को दशकमा पोखरामा छायांकन भएका अधिकांश फिल्ममा उनले व्यवस्थापनको काम गरेका छन्। ठूला कलाकार काठमाडौंबाट जान्थे। स्पटमा चाहिने कोरस कलाकार, खलनायकको साथीका रुपमा देखिएर हिरोइनको अघिपछि लाग्ने कलाकार हुन् वा हिरोलाई मुक्का हान्ने कलाकार, उनीहरुले लगाउने ड्रेस सबै उनको जिम्मामा पर्थ्यो। यही क्रममा उनको भेट नेपालका स्टार कलाकारसँग भयो। निर्माता/निर्देशकसँग भयो। यो भेट र उठबसले उनलाई फिल्ममा लगानी गर्न प्रोत्साहन गर्यो। उनी निर्माता भए।
फिल्म नछाडेको भए निर्माता तथा कलाकारका रुपमा राम्रो सम्भावना थियो। सम्पर्क राम्रो थियो। उनीसँगैका साथी फिल्ममा जम्दै गरेका बेला इन्द्र भने वैदेशिक रोजगारीका लागि सिंगापुर पुगे। केही समय सिंगापुरमा बिताए। त्यसपछि मलेसियामा केही समय काम गरे। उनलाई वैदेशिक रोजगारी फापेन। जाँदाको ऋण जति पनि कमाई गर्न सकेनन्। उनी नेपाल फर्किए। जिम्मेवारी झन बढ्दो थियो। आयआर्जनका लागि केही गर्नैपर्ने बाध्यता थियो।
त्यसपछि इन्द्रले मनमा फिल्म राखेर माछापोखरीमा गेस्ट हाउस सञ्चालन सुरु गरे। उनलाई भाग्यले साथ दियो। व्यवसाय फस्टायो। गेस्ट हाउसको शाखा विस्तार गरे। कलाक्षेत्रप्रतिको मोह झन् बढेर गयो। व्यवसायसँगै केही म्युजिक भिडिओमा काम गरे।
गेस्ट हाउस सञ्चालन गर्दा गर्दै उनले बसुन्धरामा बर्गर हाउस सञ्चालन सुरु गरे। जन्मदिन, एनिभर्सरी, लगायतका साना ठूला जमघट गर्न मिल्ने यो रेस्टुराँमा थुप्रै कलाकारको जमघट हुन थाल्यो। उनले छाडेको फिल्मी यात्राको कुरा हुन थाल्यो। गीत-संगीतप्रतिको मोह झन् बढेर गयो। यहीबीच उनले आफ्नै जन्मगाउँ पुगेर एउटा म्युजिक भिडिओ बनाए।
इन्द्र फेरि फिल्ममा फर्किने तयारीमा छन्। तर कहिले र कसरी भन्ने एकिन छैन। भन्छन्, ‘जीवनमा देखेको पहिलो सपना हो, लगानी मात्रै गर्नु किन नपरोस् माया लाग्ने रहेछ।’
यही मायाले उनी फिल्म निर्माणमा कमब्याक गर्ने तयारीमा छन्। उनलाई आफ्नो मातृभाषको फिल्म नै निर्माण गर्नुछ। भन्छन्, ‘हाम्रो मातृभाषाको फिल्मी बजार पनि त फराकिलो बनाउनुछ।’
Shares
प्रतिक्रिया