नेपाली फिल्म उद्योगमा निकै चर्चा गरिने अभिनेत्री हुन् - ऋचा शर्मा, प्रियंका कार्की र बेनिशा हमाल। कुनै दिन फिल्म उद्योगमा आफूलाई नम्बर वान नायिकाका रुपमा स्थापित गराएकी प्रियंका यतिबेला भने आफ्नो पुरानो स्टारडम फर्काउने कोसिसमा छिन्। फिल्म उद्योगमा कमालै नगरे पनि ऋचा र बेनिशाका चर्चा बने बबाल नै हुने गरेको छ।
यी तीनै नायिकालाई यतिबेला भने भाग्यले साथ दिइरहेको छैन। यो वर्ष नै उनीहरुका लागि सुखद देखिएको छैन्। उनीहरुले अभिनय गरेका २–२ वटा फिल्म हलमा रिलिज भए। तर कुनैले पनि सफलता पाउन सकेनन्। सबै फिल्म फ्लप भए।
आमा बनेपछि करिअरको पुरानै लय खोजिरहेकी प्रियंकाले अभिनय गरेको ‘लक्का जवान र चिँ मुसी चिँ’ रिलिज भए। दुवै फिल्मको प्रमोसन निकै राम्रो थियो। तर दुवै फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सकेनन्। अब उनका लागि फागुन ५ मा रिलिज हुने ‘फूलबारी’को आश छ।
आमा बनेपछि पुनः पर्दामा जम्ने तयारी सहित उद्योगमा फर्किएकी ऋचाका लागि पनि पुनरागमन खासै सुखद देखिएको छैन। उनले अभिनय गरेका ‘हिजो आजका कुरा’ र ‘चिँ मुसी चिँ’ रिलिज भए। दुवै फिल्म चल्न सकेनन्।
बेनिशाले अभिनय गरेको ‘प्रेमगञ्ज’ यसै वर्ष रिलिज भयो। यो फिल्मबाट उनले निकै आश गरेकी थिइन्। फिल्म चलेन। हालै रिलिज भएको ‘चिँ मुसी चिँ’मा पनि बेनिशाले अभिनय गरेकी छन्। हरर फिल्ममा बोल्ड सिन दिएर चर्चा कमाएकी बेनिशाको फिल्म रिलिज चर्चा दिन सकेन।
ऋचा, प्रियंका र बेनिशाले आफ्ना दुवै फिल्मलाई करिअरको राम्रो फिल्म भनेर प्रचार गरेका थिए। प्रियंका र बेनिशा प्रदर्शन हुन बाँकी फिल्म ‘फूलबारी’ र ‘छक्का पन्जा ४’बाट आशावादी छन्। ऋचाको भने यो वर्षको आशा पनि सकिएको छ।
Shares
प्रतिक्रिया