कला


‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, घरेलु बक्स अफिसबाटै कमायो १० करोड

‘महापुरुष’ ५१ औं दिनमा प्रवेश, घरेलु बक्स अफिसबाटै कमायो १० करोड

फाइल।


नेपालखबर
पुस २, २०७९ शनिबार १४:४३, काठमाडौँ

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ।

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात् यसले ५१ औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै १० करोड कमाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई  सफलताले दायित्व बोध बढेको बताउछन्।

‘दर्शकको साथले थप ऊर्जा मिलेको छ’, उनले भने। नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा  विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ। उनले यस अगाडि निर्देशन गरेको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो।  

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन्। ‘उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु। स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ’, उनले भने। 

अमेरिका भ्रमण सकेर नेपाल फर्किनुभएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए। ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ। उहाँको कामले हाम्रो मन जितिसकेको थियो। आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ’, अभिनेता आचार्यले भने। 

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन्। चलचित्रमा एक्लोपनको कथा देखाइएको छ। 

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन्। 

चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad