दिउँसो अबेला मात्रै घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै थियो। घडीको सुई ठीक ६ मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडिओ बज्न थाल्यो। त्यतिबेलै त्यहाँ वायु होइन आवाजले गर्दा एक्कासि तापक्रम बढेको महसुस भयो।

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो। किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनै बेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो।
डोल्पा दुनैका बासिन्दा लक्ष्मीकान्तले यो गीत दशकौंअघि सुनेका थिए। त्यसमा केही जुम्लाका प्रभाव मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दशकदेखि नेपथ्यले गाइरहेको छ। अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिन मात्रै डोल्पादेखि नेपालगन्ज आएका थिए। डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगन्ज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए।
‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पुर्याइरहेको छ’, लक्ष्मीकान्तले भने, ‘आफैँले संकलन गरेको गीत यसरी भव्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ।’

यसरी दुईवटा म्युजिक भिडिओ देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतिका रूपमा ‘आँगनैभरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्य ब्यान्डकै यो पहिलो सिर्जना यसअघि गत साता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रूपमा प्रस्तुत भएको थियो।
स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिर देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्यान्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरी तस्बिर संयोजन गरिएको थियो।
यसरी दस वर्षको अन्तरालपछि नेपथ्य नेपालगन्जमा दोस्रोपटक प्रस्तुत भएको छ।
अघिल्लोपटक ‘शान्तिका लागि शिक्षा’ अभियान लिएर ब्यान्ड सन् २०१२ मा यहाँ आएको थियो। त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगन्जका दर्शकमाझ खुला आकाशमुनि बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ।
विराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौ प्रस्तुति थियो। अघिल्ला कन्सर्टहरूजस्तै यसमा पनि मैदान भरिएका दर्शकको उत्साहपूर्ण भव्य उपस्थिति देखिन्थ्यो।
बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोस्रो गीतका रूपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्यो। त्यतिबेला सँधैजस्तै नेपालगन्जमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो। कार्यक्रमअघि बढ्दै जाने क्रममा टोलीले ब्यान्डको अर्काे पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो।
त्यसपछि भने ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे।
‘संगीत सँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु’, उनले भने, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगन्जमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरू सबैलाई धन्यवाद।’
त्यसपछि उनले सुरु गरे :
‘खान्नँ म त लामपाते सुरती
लाऊँ कि नलाऊँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरी मर्यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए।
‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरा’, अमृतले नेपालगंजकै मास्तिर रहेका भेगको सुन्दरताबारे उल्लेख गर्दै थपे, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौँ है।’
संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा हामीले झनै स्वदेश घुम्नुपर्ने सल्लाह दिँदै उनले भने, ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिँदैन।’
त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाए :
‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलागिरिमा’

अमृतले नेपालगन्ज आएका बेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरू भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए।
कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।
घरपरिवारबाट निकालिएर सडकमा आश्रित मुलुकभरका नागरिकको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्यान्डको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको मनछुने तस्बिरहरू देखाइएको थियो।
‘यहाँभन्दा माथि कर्णालीमा हाम्रै दाजुभाइ सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी सहर बजारका सडकमा आश्रितहरुको बिजोग देख्नुपर्छ’, गायक अमृत भनिरहेका थिए, ‘सडक–आश्रित मुक्त मुलुक बनाउने मानवसेवा आश्रमको प्रयासमा सबैले सघाइदिऊँ है।’
गुरुङले मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को नेपालगन्जस्थित शाखा कार्यालय भ्रमण गरेका थिए। त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरूलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भई आफ्नो ब्यान्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रस्ट पारेका थिए।
कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगन्ज रंगशालामा भरिएका अधिकतर दर्शकले पनि गाएरै साथ दिएका थिए।
त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृत बोल्न पनि थाले :
‘समाजलाई फेर्छु भन्नेहरू आफैँ फेरिएको देख्दा हामी तीनछक परेका छौँ। देश बनाउन अब हामी नै एकजुट बनौँ है।’
धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ हौसला थपेको थियो।
कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्य’बाट बिट मारिएको थियो।
दर्शकदीर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरूको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो। कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए।
संगीतका साथै मानवता प्रवर्द्धनका लागि नेपथ्यको यो श्रृंखलाबद्ध कन्सर्टले नेपालगन्जमा लगातार पाँचौँ सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुसी व्यक्त गरे। ‘नेपालगन्जमा सडकमा आश्रित आमा बुवाहरूलाई व्यवस्थित छाना र खानाको प्रबन्ध गर्न हामी सफल भइसकेका छौँ’, उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्यअनुसार कन्सर्टको आयोजना गरेका हौँ।’
हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगन्जकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना बनाएको छ।
नेपालगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुईवटा बसमार्फत शुक्रबार धनगढीतर्फ प्रस्थान गर्दै छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य पुस ३ गते आइतबार प्रस्तुत हुँदै छ।
Shares

प्रतिक्रिया