यो वर्षको हिट फिल्मको सूचीमा पर्न सफल फिल्म ‘महापुरुष’ निर्देशक प्रदीप भट्टराई नयाँ फिल्मको तयारीमा लागेका छन्। उनी फिल्म ‘महाजात्रा’को तयारीमा लागेका हुन्।
यता हलमा भने ‘महापुरुष’ले राम्रै दर्शक तानिरहेको छ। फिल्म हेर्न जाने सेलिब्रेटी पनि बढिरहेका छन्। यसै क्रममा अभिनेता राजेश हमाल ‘महापुरुष’ हेर्न हलमा पुगे। फिल्मलाई हमालले रुचाए। फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।
यता प्रदीपले आफ्नो पछिल्लो प्रोजेक्ट ‘महाजात्रा’मा राजेश हमालसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्।
प्रदीपले भने, ‘दाइलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका छौँ। दाइले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ।’
प्रदीपको कुरामा हमालले आफूलाई सुहाउँदो भूमिका भए काम गर्न तयार रहेको बताए।
प्रदीपको प्रस्ताव र हमालको जवाफ हेर्दा भने ‘महाजात्रा’मा राजेश हमाल देखिने छन्। तर हिरोको रोल मात्रै गर्न तयार हमालका लागि प्रदीपले कस्तो भूमिका दिने हुन् भन्ने सबैको चासोको विषय बनेको छ।
राजेश हमालले केही समयअघि मात्रै बाबुको भूमिका गर्ने बेला नभएको प्रतिक्रिया दिएका थिए। उनले केही राम्रा सिनेमाको अफर पनि बाबुको भूमिका निर्वाह गर्नुपर्ने भएकाले अस्वीकार गरेका थिए।
प्रदीपले फिल्म ‘महाजात्रा’का लागि विपिन कार्कीलाई कलाकारका रुपमा पक्का गरेका छन्। तर अन्य कलाकार छनोट भएका छैनन्।
Shares

प्रतिक्रिया